+
+
Shares

मन्त्रिपरिषद् निर्णय भन्दै पन्छियो मन्त्रालय, उखुको अनुदान ३५ रुपैयाँ नै कायम

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानको दर निर्धारण गर्ने अन्तिम अधिकार मन्त्रिपरिषद्‍मा रहेको भन्दै आफ्नो भूमिका केवल निर्णय कार्यान्वयनमा सीमित रहेको स्पष्ट पारेको छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ भदौ ९ गते २१:४६
सरकारले अनुदान रकम उपलब्ध नगराएको भन्दै काठमाडौंमा आन्दोलित उखु किसानहरू ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान दिने निर्णय कार्यान्वयनका लागि प्रक्रिया अघि बढाएको छ।
  • कृषि मन्त्रालयले अनुदान दर निर्धारण गर्ने अन्तिम अधिकार मन्त्रिपरिषद्को भएको स्पष्ट पारेको छ।
  • किसानहरूले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानको माग राख्दै माइतीघरमा आन्दोलन गरिरहेका छन्।

९ भदौ, काठमाडौं । उखु किसानहरूले अनुदान रकममा भएको कटौती विरोधमा आन्दोलन चर्काइरहँदा सरकारले प्रतिक्विन्टल ३५ रुपैयाँकै दरले अनुदान वितरण गर्ने प्रक्रिया अघि बढाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानको दर निर्धारण गर्ने अन्तिम अधिकार मन्त्रिपरिषद्‍मा रहेको भन्दै आफ्नो भूमिका केवल निर्णय कार्यान्वयनमा सीमित रहेको स्पष्ट पारेको छ ।

किसानहरूले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान पाउनुपर्ने अडान राख्दै आए पनि मन्त्रालयले भने मन्त्रिपरिषद्को निर्णय विपरीत जान नसकिने बताएको छ ।

मन्त्रालयकी प्रवक्ता जानुका पण्डितका अनुसार २२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो । तर, आर्थिक वर्षको अन्त्यमा खाता बन्द (क्लोजिङ) हुने समय भएकाले उक्त निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालयबाट सहमति लिने प्रक्रिया रोकिएको थियो ।

‘आर्थिक वर्षको अन्त्य भएकाले प्रक्रिया अघि बढ्न सकेको थिएन,’ प्रवक्ता पण्डितले अनलाइनखबरसँग भनिन्, ‘हिजो आइतबारदेखि मन्त्रालयले सोही निर्णय कार्यान्वयनका लागि पुनः प्रक्रिया अघि बढाएको छ । मन्त्रालय आफैँले नयाँ निर्णय गर्दैन, मन्त्रिपरिषद्ले जे निर्णय गर्‍यो, त्यही कार्यान्वयन हुने हो ।’

सरकारले बजेट अभाव भएको र स्रोत जुटाउन नसकिएको भन्दै किसानलाई प्रतिक्विन्टल उखुमा दिँदै आएको ७० रुपैयाँ बराबर अनुदान आधा घटाएर ३५ रुपैयाँमा झारेको छ ।

सरकारको अनुदान कटौतीको रकम मान्य नहुने भन्दै किसानले आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएका छन् । किसानहरू आइतबारदेखि राजधानीको माइतीघरमा आन्दोलन गरिरहेका छन् ।

किसानको माग अनुसार ७० रुपैयाँ अनुदान दिने निर्णय गर्नुपरे त्यो अधिकार मन्त्रिपरिषद्लाई मात्र भएको मन्त्रालय स्रोतले बताएको छ ।

‘अनुदान तोक्ने कुरो नेपाल सरकारले गर्ने हो, हामीले गर्ने होइन,’ सम्बद्ध स्रोतले भन्यो, ‘यो निर्णय प्रक्रियामा अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय, उद्योग मन्त्रालय र कृषि मन्त्रालय सबैको भूमिका हुन्छ, तर अन्तिम निर्णय मन्त्रिपरिषद्ले नै गर्छ । हामीले मन्त्रिपरिषद्को निर्णय काट्न मिल्दैन ।’

किसानको मुख्य आपत्ति भुक्तानीमा भएको ढिलाइभन्दा पनि अनुदान रकममा गरिएको कटौतीमा छ । ‘यो कटौती किन र कसरी भयो भन्ने विषयको क्षेत्राधिकार पनि मन्त्रिपरिषद्मै पर्छ,’ स्रोतले भन्यो ।

७५ करोड भुक्तानी प्रक्रिया

गत आर्थिक वर्ष २०८१/८२ मा कुल २ करोड १६ लाख क्विन्टल उखु क्रसिङ भएको सरकारी तथ्यांक छ । प्रतिक्विन्टल ३५ रुपैयाँका दरले हिसाब गर्दा किसानले कुल ७५ करोड ६० लाख रुपैयाँ अनुदान पाउनुपर्ने देखिन्छ । मन्त्रालयले सोही रकम भुक्तानीका लागि अर्थ मन्त्रालयमा फाइल पठाइसकेको छ ।

तर, किसानले भने १ अर्ब ५१ करोड २० लाख रुपैयाँ भुक्तानी पाउनुपर्ने माग गरिरहेका छन् ।

उखु उत्पादक महासंघको नेतृत्वमा प्रदर्शनका लागि काठमाडौं आएका किसानहरू अहिले नारा–जुलुससहित माइतीघर मण्डलाबाट नयाँ बानेश्वरतर्फ अगाडि बढेको महासंघका संयोजक श्यामबाबु रायले जानकारी दिए ।

उनले कृषि मन्त्रालयले किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँ नै अनुदान दिने प्रक्रिया अगाडि बढाए पनि आफूहरू ७० रुपैयाँ नै अनुदान पाउनुपर्नेमा अडिग रहेको बताए ।

उनका अनुसार आज बिहान करिब साढे १० बजे कृषिमन्त्री रामनाथ अधिकारीले किसानहरूलाई छलफलका लागि बोलाएका थिए । भेटमा मन्त्रीले मन्त्रिपरिषद्को पुरानो निर्णय अनुसार नै प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान दिने प्रक्रिया अघि बढिसकेको जानकारी दिएका थिए ।

सरकारले अनुदान रकम उपलब्ध नगराएको भन्दै काठमाडौंमा आन्दोलित उखु किसानहरू ।

‘मन्त्रीज्यूले अर्थ मन्त्रीलाई पनि अनुरोध गरेको हो, मन्त्रिपरिषद्मा पनि कुरा राखेको हो, तर हाललाई ३५ रुपैयाँको प्रक्रिया नै अघि बढेको छ भन्नुभयो,’  रायले अनलाइनखबरसँग भने, ‘तर, हामीले स्पष्टसँग भन्यौं, हाम्रो माग ७० रुपैयाँ नै हो, त्योभन्दा कम हामीलाई स्वीकार्य छैन ।’

कृषिमन्त्री अधिकारीले मुख्यसचिव एकनारायण अर्यालसँग पनि यस विषयमा कुरा भएको र किसानहरू घेराबन्दीमा उत्रिएको बारे जानकारी गराएको बताएको रायले बताए ।

किसानहरूसँगको भेटमा कृषिमन्त्री अधिकारीले आज मन्त्रिपरिषद्को बैठक बस्न लागेको र त्यहाँबाट केही निर्णय हुन सक्ने संकेत दिएका छन् । ‘आज मन्त्रिपरिषद् बैठक छ, त्यहाँबाट के निर्णय हुन्छ, हेरौं भनेर मन्त्रीज्यूले भन्नुभएको छ,’ महासंघ संयोजक रायले भने ।

भेटका क्रममा कृषिमन्त्रीले वार्ता समिति बनाएर छलफल गर्न प्रस्ताव समेत गरेका थिए । किसानहरूले वार्तामार्फत नै समाधान खोज्न आफूहरू तयार रहेको बताएका छन् ।

‘हामी उग्र रूपमा प्रस्तुत हुन आएका होइनौं, हाम्रो माग सम्बोधन होस् भनेर शान्तिपूर्ण रूपमा आएका हौं । वार्ताबाटै समाधान होस् भन्ने हाम्रो पनि चाहना हो,’ उनले भने ।

सरकारले अनुदान वितरण प्रक्रिया अघि बढाएको छ, तर किसानहरूको मूल माग सम्बोधन नभएकाले उखु किसान र सरकारबीचको विवाद तत्काल समाधान हुने देखिँदैन ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?