Comments Add Comment

दरबारमार्ग बलात्कार प्रकरणमा नयाँ मोडः पीडित युवतीले फेरिन् बयान

१८ माघ, काठमाडौं । दरबारमार्गमा भएको भनिएको सामूहिक बलात्कार प्रकरणले नयाँ मोड लिएको छ । प्रहरीमा मौखिक उजुरी दिएर एकाएक सम्पर्कबिहीन भएकी युवती अनुसन्धान टोलीको सम्पर्कमा आएकी छन् तर, बयान फेरिएको छ ।

दरबारमार्गमा खटिएका प्रहरी अधिकारीहरुमाथि आर्थिक लेनदेनमा बलात्कारको घटना लुकाएको आरोप लागेको छ र उनीहरु छानविनमा तानिएका छन् ।

प्रहरीले छानविन समिति बनाए पनि युवती सम्पर्कमा नआएका कारण अनुसन्धान अघि बढ्न सकेको थिएन ।

तर, बुधबार साँझ पीडित युवती काठमाडौं प्रहरी परिसरको सम्पर्कमा आएकी छिन् र उनीसँग अनुसन्धान टोलीले बयान लिन थालेको छ ।

छानविन समितिका संयोजक एसपी रामदत्त जोशीले पीडित युवतीसँग बयान सुरु भएको अनलाइनखबरलाई बताए ।

परिसर स्रोतका अनुसार पीडित युवती बयान फेरेकी छन् । उनले आफू बलात्कृत भएको नभई सहमतिमा नै ‘शारीरिक सम्वन्ध’ राखेको बयान दिएकी छिन् ।

प्रहरीले भने उनको बयानलाई शंकाले हेरेको छ । घटना लुकाउन मोटो रकम प्रस्ताव गरिएको र प्रहरीले समेत लेनदेनमा घटना लुकाएको आरोप लागेकाले अहिले नै उनको बयान पत्याउने अवस्था नभएको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।

घटनाबारे अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंसँगै महानगरीय प्रहरी आयुक्तको कार्यालयले पनि समिति बनाएको छ ।

के हो घटना ?

पीडित युवतीले शुक्रबार महानगरीय प्रहरी वृत, दरबारमार्गमा आफूलाई तीन युवकले सामुमिक बलात्कार गरेको भन्दै मौखिक उजुरी दिएकी थिइन् । त्यसका आधारमा एक युवक, जसलाई उनको प्रेमी पनि भनिएको छ, उनी पक्राउ पनि परेका थिए ।

तर, प्रहरीको मिलेमतोमा आर्थिक लेनदेनमा घटना लुकाइएको आरोप लागेको छ ।

बलात्कारको घटना लुकाउन भूमिका खेलेको आरोप लागेपछि दरबारमार्ग बृत्तका प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी आफ्नै संगठनको थुनामा परेका छन् । उनलाई पक्राउ गरेर प्रहरी प्रधान कार्यालयको १ नम्बर गणको थुनामा राखिएको हो ।

वृतका डिएसपी तिलक भारतीलाई समेत काठमाडौं प्रहरी परिसरमा तानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment