Comments Add Comment

आहा ! रारा गोल्डकप : पेनाल्टीको साहारामा पुलिस फाइनलमा

उपाधिका लागि थ्रीस्टारसँग भिड्ने

तस्वीरः युनिस गुरुङ/अनलाइनखबर

१८ माघ, पोखरा । आहा! रारा गोल्डकपको उपाधिका लागि थ्रीस्टार र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

बिहीबार भएको प्रतिष्पर्धात्मक खेलमा धरान फुटवल क्लव सुनसरीलाई १-० गोल अन्तरले हराउँदै पुलिस फाइनलमा पुगेको हो ।

बंगलादेशको उत्तर बरिन्धरा क्लबलाई ५-० ले हराउँदै थ्रीस्टार फाइनलमा पुगिसकेको छ । फाइनल खेल शनिबार दिउँसो हुनेछ ।

पोखरा रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा पुलिसका सुमन लामाले २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । फाइनलमा स्थान बनाउन पुलिसका लागि त्यही गोल निर्णायक बन्यो ।

२१ औं मिनेटमा खेल चलिरहँदा पुलिसका रवि पासवानलाई डि-बक्स भित्र लडाएपछि रेफ्री सुदीशकुमार पाण्डेले धरानका डिफेन्डर रोमन लिम्बुलेलाई पहेलो कार्ड दिए भने पुलिसलाई पेनाल्टीको अवसर दिए ।

रेफ्रीको निर्णयमा धरानले विरोध जनाएको थियो । आफ्नो अपिल सुनवाई नभएपछि धरानले मैदान छाड्ने चेतावनी दिँदै केहिबेर खेल रोकियो ।

तर, धरानका प्रशिक्षक अर्जुन राईले मैदान नछाडि खेल खेल्न निर्देशन दिएपछि पुनः खेल सञ्चालन भएको थियो ।

खेल हारेपनि धरानले उत्कृष्ट प्रदर्शन गरेको थियो । करीब ६५/४५ वल पोजिसन बनाउन सफल धरानले आधा दर्जन बढी गोल गर्ने पनि जुटाएको थियो तर, सदुपयोग गर्न नसक्दा फाइनल पुगेर इतिहास रच्ने मौका गुमायो र दोश्रो पटक सेमीफाइन पुगेको धरान यसैमा चित्त बुझाउँदै घर र्फकन बाध्य भयो ।

शुरुदेखि नै सम्हालिएर खेलेको पुलिसमाथि धरान हावी भयो । धरानले खेलको ३२ औं मिनेटमा गोल गर्ने अवसर खेर फाल्यो । वर्तमान राईको कर्नर किकमा विष्णु सुनारले प्रहार गरेको हेडर बिपक्षी गोलकिपर शत्रुघन चौधरीले विफल पारे । ३७ औं मिनेटमा निशान लिम्वु बिपक्षी गोलकिपर चौधरीसँग वान भर्सेज वानको अवस्थामा समेत गोल गर्न असफल भए ।

४१ औं मिनेटमा विष्णु सुनारको पासमा निशान लिम्वुको एक्रोब्याटिक किक पनि चौधरीले नै विफल पारे । पहिलो हाफको ईञ्जुरी समयमा वर्तमानको कर्नर किकमा रोमन लिम्वुको हेडर क्रस बार माथिबार बाहिरियो ।

धरानले दोश्रो हाफमा पनि त्यसलाई निरन्तरता दियो । खेलको ५४ औं मिनेटमा वर्तमान राईको फ्रीकिक बल बिपक्षी डिफेन्डरबाट रिबाउण्ड भएपछि मनोज राईले गरेको कडा प्रहार क्रस बार भन्दा थोरै माथिबाट बाहिरियो ।
८२ औं मिनेटमा निशान लिम्वुको पासमा वर्तमानले गोल गरेका थिए तर, रेफ्री पाण्डेले अफसाइड दिए । ८९ औं मिनेटमा मनोज राईको क्रसमा पेनाल्टी एरियामा रहेका सुरज विकको प्रहार फितलो हुँदा गोल हुने अवसर टर्‍यो ।

रक्षापंक्ति बलियो बनाएर काउण्टर अट्याकमा गोल गर्ने रणनीति बनाएको पुलिसले २/३ वटा भन्दा बढी गोल गर्ने अवसर सिर्जना गर्न सकेन ।

खेलको ७५ औं मिनेटमा मात्रै पुलिसले गोल गर्ने अवसर सिर्जना गरेको थियो । करीब ३२ यार्ड टाढाबाट अजित भण्डारीले प्रहार गरेको फष्र्ट बार च्यापेर गरेको प्रहार बिपक्षी गोलकिपर विवश चौधरीले विफल पारे ।

७८ औं मिनेटमा सुमन लामाले सेकेण्ड बार च्यापेर गरेको प्रहार बिपक्षी गोलकिपर चौधरीले पञ्च गरेर बचाए । सोहि रिबाउण्ड वललाई तेज तामाङले नियन्त्रणमा लिन नसक्दा गोल गर्ने अवसर गुम्यो ।

खेलको अन्तिमतिर तुलनात्मक रुपमा केहि आक्रामक देखिएको पुलिसले ८६ औं मिनेटमा घातक आक्रमण गरेपनि गोलमा परिणत हुन सकेन । पुलिसका तेज तामाङले डि-बक्स एरियाबाट सिधै प्रहार गरेको बल बिपक्षी गोलकिपर चौधरीले मुश्किलले पञ्च गरेर बचाए ।

बिजयी टिम नेपाल पुलिस क्लवका प्रशिक्षक अनन्तराज थापाले संघर्षपूर्ण भएपनि जित निस्केकोमा खुशी व्यक्त गरे । खेल जित्नु नै मुख्य उद्देश्य भएको बताउँदैसो टास्कमा आफू सफल भएको प्रतिक्रिया दिए ।

धरान फुटवल क्लव सुनसरीका म्यानेजर अशोक राईले रेफ्रीका गलत निर्णयका कारण पराजित हुनुपरेको गुनासो गरे । उनले राम्रो खेल्दाखेल्दै पनि रेफ्रीले दिनै नपर्ने सामान्य ट्याकलमा पेनाल्टी दिदा सो नै टर्निङ प्वाईन्ट बन्नपुगेको बताए । यद्वपी आज खेलाडीले खेलेको खेलप्रति भने सन्तुष्टि व्यक्त गरे ।

बिहीबारको खेलमा धरानका आधा दर्जन आक्रमण विफल पारेका पुलिसका गोलकिपर शत्रुघन चौधरी म्यान अफ दी म्याच भए । उनलाई नदग ५ हजार पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment