Comments Add Comment

सराङकोटमा प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै

२२ राष्ट्रका १ सय ५० पाइलट सहभागी हुने

१९ माघ, पोखरा । प्याराग्लाइडिङको विश्वकै उत्कृष्ट गन्तव्य मानिने पोखराको सराङकोटमा अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको छ । आइतबारदेखि सराङकोटमा एसिएन कन्टिनेन्टल प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिन विश्वका विभिन्न देशबाट प्यारा पाइलट पोखरा आउँदै छन् ।

प्रतियोगितामा एसियाको नेपालसहित २२ राष्ट्रका १ सय ५० खेलाडीले प्याराग्लाइडिङ उडाउँदै छन् । प्रतियोगिताको सम्पूर्ण तयारी सकेर विदेशी प्यारा पाइलटको स्वागतमा पोखरा तयार गरेको आयोजकमध्येको एक नेपाल एअर स्पोट्स एसोसिएनका अध्यक्ष एवं पाइलट योगेश भट्टराईले जानकारी दिए ।

प्रतियोगितामा सुरक्षा व्यवस्था मिलाउन उद्दार टोली, हेलिकप्टर र एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिएको भट्टराईले बताए । ‘विभिन्न देशबाट आउने प्यारापाइलटको स्वागतमा हामी तयार छौं,’ भट्टराईले भने, ‘यो प्रतियोगिताले नेपाललाई विश्वमा चिनाउनेमात्रै होइन, पर्यटकलाई नेपाल तान्नसमेत सहयोग पुर्‍याउँछ ।’

५ दिनसम्म चल्ने प्रतियोगितामा फेडेरेसन अफ एरोनेटिक इन्टरनेसनल (एफएआई) को निर्णायक कमिटीले ५ ओटा छुट्टाछुट्टै जिम्मेवारी (टास्क) दिनेछ र पाँचै दिनको टास्क छिटो पूरा गर्नेले प्रतियोगिताको उपाधि हात पार्नेछ । उत्कृष्ट पाइलटको एफएआईको र्‍याङ्किङमा नम्बरसमेत बढ्ने छ ।

नेपाल एअर स्पोट्स एसोसिएसन, नेपाल प्याराग्लाइडिङ पाइलट क्लब र नेपाल हेनग्लाइडिङ तथा प्याराग्लाइडिङ संघको संयुक्त आयोजना र एसिएन कन्टिनेन्टल प्याराग्लाइडिङ एसोसिएनको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।

आयोजकको पहलमा नेपाल च्यम्पिएन र टिम च्याम्पियन छानिने छ । अफएआई क्याटागोरी टु अन्तर्गत यसअघि १७ पटक नेपाल ओपन प्याराग्लाइडिङ च्यम्पियनसीप आयोजना भइसकेको छ भने २ पटक प्याराग्लाइडिङको प्री वर्ल्डकप सराङकोटमा सञ्चालन भइसकेको छ ।

यो प्रतियोगिता राम्रोसँग सम्पन्न भएमा अर्को वर्ष वर्ल्ड कप आयोजना गर्न बल मिल्ने प्रतियोगिताका संयोजक इन्द्रप्रसाद भण्डारीले जानकारी दिए । प्रतियोगिताको पूर्वसन्ध्यामा फेब्रुअरी ४ तारिखमा पोखराको हल्लन चोकदेखि अम्बोटसम्म साँस्कृतिक झाँकीसहित प्रतियोगी खेलाडीले आफ्नो देशको झन्डासहित मार्चपास गर्नेछन् ।

यो प्रतियोगितालाई प्याराग्लाइडिङको विश्वब्यापी संस्था फेडेरेसन अफ एरोनेटिक इन्टरनेसनलको वाषिर्क क्यालेन्डरमै समावेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment