Comments Add Comment

तेह्रौं साग तोकिएकै मितिमा हुन्छ : सदस्यसचिव विष्ट

२१ माघ, पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) तोकिएकै मितिमा हुने दाबी गरेका छन् ।

‘खेलकुद पत्रकार मञ्च कास्कीले आइतबार गरेको पत्रकार भेटघाटमा बोल्दै सदस्य सचिव विष्टले पूर्वाधार वा राखेपका कारण साग नसर्ने स्पष्ट पारे ।

उनले भने, ‘पूर्वाधार निर्माणमा ढिलाइ भएर वा राखेपका कारण सागको मिति सर्दैन, तर सरकारले बजेट दिएन, ओलम्पिक कमिटीले प्रक्रिया पूरा गरेन भने म भन्न सक्दिन ।’ सरकारको इच्छाशक्ति नभए वा ओलम्पिक कमिटीको कमजोरीका कारण ढिलाइ भएमात्र प्रतियोगिता सर्न सक्ने उनको भनाइ छ ।

विष्टले पोखरामा महिला फुटबल, पुरुष तथा महिला भलिबल, आर्चरी, ट्रायथोलन, ब्याडमिन्टन र बक्सिङका खेलहरु खेलाउने तयारी गरिएको छ । धेरै भन्दा धेरै खेल पोखरामा खेलाउने राखेप, खेलकुद मन्त्रालय र सरकारको पनि इच्छा रहेको उनले बताए ।

सदस्य सचिव विष्टले खाली जग्गा कब्जा गर्न खेलकुदसम्बन्धी संस्थाहरुलाई निर्देशन दिए । ‘सरकारी जग्गा खाली छन् भने तुरुन्त कब्जा गर्न मैले सबै खेल संस्थाहरुलाई निर्देशन दिएको छु र फेरि पनि दिन्छु’ उनले भने । खेलकुदका लागि जग्गा कम भएकाले काम विहिन् जग्गा सदुपयोग गर्नका लागि आफूले यस्तो निर्देशन दिएको उनको भनाइ छ ।

सदस्य सचिव विष्टले गोल्डकप खेलाउने संस्थाको क्षमता अनुसार प्रतियोगिता आयोजना गर्नुपर्ने बताउँदै त्यसको प्रथम पुरस्कारको राशी राखेपले दिने दोहोर्‍याए । नव खेलाडीलाई खेलप्रति आकर्षण गर्न, खेल खेलेरै बाँच्न सकिन्छ, भविष्य बनाउन सकिन्छ भनेर देखाउन, खेलाडीको लिभिङ स्ट्याडर्ड बढाउनका लागि गोल्डकपको राशी बृद्धिले सघाउने उनले बताए ।

सदस्य सचिव विष्टले पोखरालाई खेलकुदको राजधानी र इटहरी र दाङको तुलसीपुरलाई खेलकुदको सहर बनाउने बताए । त्यसका लागि तयारी तिब्र पारिएको उनले बताए । पोखरा खेलकुदको लागि सबैभन्दा उपयुक्त ठाउँ भएको बताउँदै यसको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सकिने बताए । उनले भने, ‘पोखरालाई न्यूट्रल भ्यालुको रुपमा स्थापित गर्नुपर्छ, यसले खेल पर्यटनमा आकर्षण बढाउँछ ।’

पोखरामा २० हजारजना अट्ने रंगशाला एक वर्षभित्रै

सदस्य सचिव विष्टले अत्याधुनिक पोखरा रंगशाला निर्माणका लागि पुनः टेण्डर गरिने जानकारी दिए । पहिले टेण्डर भरेका ६ वटा कम्पनीमध्ये एउटाले मात्र मापदण्ड पूरा गरेकाले पुनः १५ दिनको म्याद दिएर टेण्डर आहृवान गर्न लागेको उनले बताए ।

पोखरा रंगशाला निर्माणमा कुनै शंका नरहेको बताउँदै उनले अबको एक वर्षभित्रै नयाँ अत्याधुनिक रंगशाला बनिसक्ने बताए । पोखरामा बन्ने रंगशाला २० हजार दर्शक अटाउने नेपालकै सबैभन्दा ठूलो र राम्रो तथा अन्र्तराष्ट्रिय स्तरको बन्ने उनको दाबी छ । सम्झौता भएको १० महिनाभित्रै रंगशाला निर्माण सम्पन्न गरेर बुझाई सक्नुपर्ने शर्तमा निर्माण गर्न लागिएकाले एक वर्ष भित्रै रंगशाला बन्ने उनले बताए ।

विष्टले काठमाडौं र पोखरामा २ वटा फुल एसीसहितको स्पोर्ट्स डोम बनाउने पनि घोषणा गरे । त्यसका लागि ९ करोड बजेट छुट्याइसकेको र ६ महिनाभित्रमा डोम निर्माण भइसक्ने बताए । त्यस्तै, एउटा क्रिकेट स्टेडियम कास्कीमा बनाउनुपर्ने र त्यसका लागि तुरुन्तै रकम बिनियोजन गर्न सकिने बताए । उनले भने,’कहाँ बनाउने हो क्रिकेट स्टेडियम ? जग्गा टुंगो लगाएर आउनुस्, एक मिनेट भित्र रकम बिनियोजन गरेर पठाउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment