Comments Add Comment

क्यान्सरपीडित डाक्टर, जो व्यथा भुलेर अरुको उपचारमा खटिन्छिन्

चिकित्सकले भनेका थिए जेठसम्म मात्रै...

२२ माघ, चितवन । क्यान्सरपीडित चिकित्सक डा. बीएम खरेलले शनिबार राति फेसबुकमा लेखिन् ‘ईफ यू आर क्यान्सर देन आई एम अ क्यान्सर किलर ।’

३५ वर्षमा पेटको क्यान्सरबाट पीडित बनेकी डा. खरेललाई देख्दा कसैले पनि अनुमान गर्दैन कि उनलाई क्यान्सर भएको छ भनेर ।

बिरामीको उपचार र अस्पताल व्यवस्थापनमा उनको सक्रियता क्यान्सर पहिचान हुनुअघि जति थियो, अहिले त्यो भन्दा पनि बढी छ ।

भरतपुरको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा विहान ९ बजेदेखि ५ बजेसम्म नै काममा खटिएकी हुन्छिन् उनी । क्यासर हुनुअघिकै जस्तो छ जोश जाँगर ।

क्यान्सर लाग्यो भनेर पिरोलिने र कमजोर हुने काम अहिलेसम्म गरेकी छैनन् उनले । उनको व्यस्त दैनिकीले पनि त्यसतर्फ सोच्न फुर्सद दिएको छैन । सामाजिक सञ्जाल र सामाजिक गतिविधिमा समेत उनको सक्रियता उत्तिकै छ । खरेल दन्त चिकित्सक हुन् । गएको मंसिरमा उनले हस्पिटल अफ म्यानेजमेन्टमा मास्टर्स गरिन् ।

डा. खरेल र अर्थोपेडिक सर्जन डा. प्रमोद लामिछानेबीच २०६७ सालमा विवाह भयो । विहेपछि दुबै जना मिलेर एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर शुरु गरे । चितवनमा पहिलो स्पेसलाइज्ड हस्पिटल ट्रमा सेन्टर चितवन मेडिकल कलेजकै अगाडि खोलेर डा. खरेल दम्पतीले जोखिम उठाएका थिए ।

शुरुमा अस्पताल खोल्दा निकै संघर्ष गरेको यो जोडी पछिल्लो समयमा चितवनमा अस्पतालसँगै स्थापित बन्दै गएको छ । श्रीमानलाई अस्पताल व्यवस्थापनको काममा सघाउनु, बिरामीको नियमित उपचार गर्नु डा. खरेलको दैनिकी हो ।

‘मेरो परिवारलाई मेरो रोगको कारणले केही तनाव भएको होला तर, मेरो आँखाबाट एक थोपा आँशु पनि झरेको छैन’ आफूलाई भएको क्यान्सरबारे उनले भनिन् । डा. खरेल ठूलो रोग लागेको नठानी बिरामीको सेवामा खटिन्छिन् । तन्दुरुस्त र फुर्तिली देखिने उनी क्यान्सर पीडितका लागि प्रेरणा नै बनेकी छन् । उनलाई फेसबुकमा सान्त्वना दिने, प्रशंसा गर्ने र शुभकामना दिनेहरुको संख्या ठूलो छ ।

क्यान्सर पत्ता लागेको त्यो क्षण

९ महिनाअघि घरमा छोरासँग खेल्ने क्रममा उनको पेटमा छोराको टाउकोले लाग्यो । त्यसपछि पेटभित्र दुखेजस्तो भयो । पहिलो रात त छोराको टाउकोले लाग्दा दुखेको होला भन्ने भयो । दोस्रो रात पनि दुखेपछि डा. केशव पौडेलसँग भिडियो एक्सरे गर्न पुगे डा. खरेल दम्पति । भिडियो एक्सरे गर्दागर्दै डा. पौडेल नै नर्भस भए क्यान्सरको लक्षण देखेर । त्यसपछि स्त्री रोग विषेशज्ञ डा. सुनिलमणि पोख्रेलसँग आवश्यक परामर्श गरिन् डा. खरेलले ।

उनलाई त्यसअघिसम्म कुनै रोगको सामान्य लक्षणसम्म देखिएको थिएन । खानामा सामान्य अरुची भने थियो, बेलाबेलामा स्वास्थ्यजाँच गराउँदा पनि केही लक्षण देखिएको थिएन । क्यान्सर भएको आशंका भएपछि कन्र्फम गर्न सबै सिटी स्क्यानदेखि सबैै परीक्षण गर्दा ओभरी क्यान्सर पत्ता लाग्यो ।

एमआरआई गर्दा उस्तै रिपोर्ट आएपछि चिकित्सकले भारतको दिल्ली जान सुझाए । पतिका साथ भारत गइन् उनी । त्यहाँको अस्पतालमा जाँच गराउँदा गत वैशाख ३० गते पुष्टी भयो कि उनलाई पेटको क्यान्सर भएको रहेछ ।

पेटको क्यान्सर पनि यस्तो आयो कि पोलिडिफ्रेन्सिएटेट । यो एकदमै दुर्लभ प्रकारको क्यान्सर हो । वेल डिफ्रेन्सिएटेटको उपचार राम्रो छ तर, पोलीमा त्यो सम्भावना कम छ । क्यान्सर पत्ता लागेपछि डा. खरेलका मनमा ३ वटा कुराहरु आए ।

पहिलो, मलाई क्यान्सर भयो, यसको अल्टिमेट रिजल्ट के हो त ? भन्दा मृत्यु हो ।

दोस्रो, मैले पश्चाताप गर्ने कुरा केही छ कि छैन ? उनलाई लाग्यो, जानेर त केही गल्ती भएको छैन, अन्जानवश केही भए होलान् ।

तेस्रो, केही इच्छा आकांक्षा, देश विदेश जाने केही छ कि ? फुर्सद हुनेवित्तिकै विदेश र देशभित्रका ठाउँ जाने गरेकाले त्यो पनि त्यति ठूलो लागेन ।

उनलाई एउटामात्रै दायित्व बाँकी भएजस्तो लाग्यो । छोरा प्रतीक जम्मा ५ वर्षको भएको छ, उसका लागि मेरो दायित्व पूरा भएको छैन । अझै केही बर्ष उसलाई आमाको ममता आवश्यक छ । उसलाई आमालाई क्यान्सर भएको पनि थाहा छैन । मनोवैज्ञानिक रुपमा केही समस्या नहोस् भन्ने चाहन्छिन् डा.खरेल ।

चिकित्सकले भनेका थिए जेठसम्म मात्रै…

भारतमा उपचार गर्दा त्यहाँ चिकित्सकले डा. खरेललाई भनेका थिए ‘अधिकतम जेठसम्म मात्रै भन्न सकिन्छ ।’ चिकित्सकहरुले उपचारमा किमोथेरापी भन्दाबाहेक अरु उपाय नभएको बताए ।

क्यान्सरका विभिन्न प्रकारमध्ये निकै कम मानिसलाई लाग्ने क्यान्सर डा. खरेललाई लाग्यो । तर आफ्नो खुबी र साहास र उर्जाका कारणले रत्तिभर कमजोरीको महसुस छैन उनलाई । ‘सायद भगवानको कृपाले होला, अहिलेसम्म उर्जाका साथ बाँचेकी छु । क्यान्सर भन्नेबित्तिकै मरिन्छ भन्ने कहिल्यै भएन । अब बाँच्दिन भनेर नकारात्मक सोच कहिल्यै आएन’ डा. खरेल भन्छिन् ।

भारतबाट फर्केलगत्तै उनलाई किमो चढाउन शुरु भयो । भरतपुरकै अस्पतालमा ६ वटा किमो चढाइसकेकी छन् उनले । किमोले कपाल झारे पनि उर्जा र साहास झारेन । पहिलो चरणको ‘किमो’ सकिएर टेष्ट गर्दा पहिला भन्दा ७० प्रतिशत रोग कम भएको रिपोर्ट आएपछि डा. खरेलमा खुशीको सीमा रहेन ।

श्रीमान डा.प्रमोद लामिछानेले उनलाई भरोसा दिएका छन् । यस्तो विपत्ति आइलाग्दा पनि डा. प्रमोद कहिल्यै बिचलित बनेनन् । आफ्नो अस्पतालको काम रोकेनन् । बिरामीहरुको सेवामा दिनरात खटिए । श्रीमतीलाई मानसिक रुपमा सधैं दह्रो बनाए ।

हिजोआज डा. खरेलको जोश, जागरण, फुर्ति झनै बढेको बताउँछन् डा. प्रमोद । भरतपुरको सेन्ट्रल अस्पतालमा किमो चढाएपछि थप परामर्शका लागि लामिछाने दम्पति जापान गए ।

पेटको क्यान्सर सम्बन्धी बढी बिरामी जाँच गर्ने र उपचार प्रविधिमा पनि अगाडि रहेको जापानको युनिभर्सिटी अफ हिरोसिमामा उनीहरु गत भदौ ३० गते पुगे । चिकित्सकले नेपालमा चढाएको किमोबाट राम्रो गरेकाले शल्यक्रियाभन्दा किमो गर्न नै सुझाव दिए । अहिले ३/३ महिनामा उनको परीक्षण गरिन्छ । उनको स्वास्थ्यमा निकै सुधार देखिएको छ ।

कसको मृत्यु कहाँ र कतिबेला हुन्छ कसैलाई थाहा हुन्न । त्यसैले मृत्युसँग डर छैन डा. खरेललाई । जति सकिन्छ हाँसीखुशी र जोशका साथ बाँच्नुपर्छ । भित्रैबाट आफू बलियो अठोट लिन क्यान्सर पीडितलाई सुझाव छ डा. खरेलको । उनको हौसला र उत्साह देखेर यहाँका स्थानीय संघसंस्थाले सम्मान पनि गरेका छन् ।

वास्तवमा उनी क्यान्सर पीडितहरुका लागि रोलमोडल बनेकी छिन् । क्यान्सर पीडितलाई उनको सुझाव छ ‘क्यान्सर लाग्यो भने किन पीर गर्ने, पीर लिदा जति चाँडो मरिन्छ हिम्मत गर्दा अझै बढी बाँचिन्छ अब पीर लिने कि हिम्मत गर्ने ? आखिर एक दिन मर्नु नै छ भने, किन मृत्युसँग डराउने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment