२२ माघ, ओखलढुंगा । कुटपिटपछि हत्या गरेर शव गाडिएको ३ वर्षपछि उत्खनन् गरेर प्रहरीले घटनामा संलग्न अभियुक्तविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाएको छ ।
यसअघि १० बैशाख ०७१ मा विवादका क्रममा कुटपिटपछि हत्या गरिएका चिसंखुगढी–८, माम्खाका खिरमान भनिने सुरधन राईको शव तीन वर्षपछि उत्खनन् गरेर मुद्दा चलाइएको हो ।
फरेन्सिक मेडिसिन विभागका विशेषज्ञसहितको टोलीले हत्यापछि गाडिएको शव उत्खनन् गरेर डिएनए परिक्षण गरेपछि अनुसन्धान सुरु भएको थियो ।
घटनामा संलग्न अभियुक्त मध्ये एक गौधन राईलाई पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ । अर्का एक आरोपित फरार छन् ।
डिएनए परिक्षणबाट शवको पहिचान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक टिकाबहादुर कार्कीले बताए । जिल्ला सरकारी वकिल कार्यालयले शव उत्खनन् गरेर अनुसन्धान गर्न निर्देशन दिएपछि विशेषज्ञसहितको टोलीले शव उत्खनन् गरेको थियो ।
विवाहमा विवाद हुँदा माम्खा–८ का गौधन राई र जीजबहादुर राईले गुन्द्रीका विषयलाई लिएर कुटपिट गरेका थिए ।
कुटपिटबाट घाइते राईको एक दिनपछि ११ बैशाख ०७१ मा ज्यान गएको थियो । घटनापछि छिमेकीले परिवारकै सहमतिमा दाहसंस्कार गरेका थिए ।
व्यक्ति हत्याको कर्तव्यज्यान मुद्दामा शव नै उत्खनन् गरेर मुद्दा चलाएको यो प्रदेश नं. १ कै पहिलो घटना भएको प्रहरीले दावी गरेको छ ।
प्रतिक्रिया 4