Comments Add Comment

अमेरिकी सेयर बजारमा ६ वर्षयताकै गिरावट, एसियाली बजार प्रभावित

भारत, दक्षिणकोरिया र अस्ट्रेलियाका सेयर सूचक तल झरे

२३ माघ, काठमाडौं । अमेरिकाको सेयर बजार सूचक ‘डाउ जोन्स इन्डस्टि्रयल एभरेज’मा सोमबार ६ वर्षयताकै उच्च गिरावट आएपछि त्यसको प्रभाव एसियाली बजारमा पनि देखिन थालेको छ ।

उक्त सूचक ११ सय ७५ अंक -४.६ प्रतिशत)ले घटेर २४ हजार तीन सय ४५ मा सीमित भएको छ ।

अमेरिका र विश्व अर्थतन्त्रमा आइरहेको परिवर्तनका कारण बजार घटेको विश्लेषकहरुको भनाइ छ । खासगरी, अमेरिकामा कर्जा लिन महँगो पर्ने देखिएपछि बजार घटेको हो । अमेरिकाको श्रम विभागले सार्वजनिक गरेको रोजगारसम्बन्धि तथ्यांकअनुसार श्रमिकहरुको ज्यालादरमा पहिले बताइएभन्दा धेरै वृद्धि भएको पाइएको छ ।

सीएमसी मार्केट एनालिस्ट माइकल म्याक कार्थीका अनुसार पछिल्लो घटनाक्रमले व्याजदरमा वृद्धि हुने वातावरण बनेको मान्न थालिएपछि बजार घटेको हो । अमेरिकी केन्द्रीय बैंक फेडरल रिर्जभले आधार व्याजदरलाई छिटो-छिटो र उच्च दरले बढाउने शंका त्यहाँका लगानीकर्ताहरुमा देखिन्छ । अर्थतन्त्रको गतिलाई सन्तुलित बनाउन केन्द्रीय बैंकसामु त्यसको विकल्प देखिँदैन ।

अमेरिकी अर्थतन्त्र सबल बनिरहेको देखिँदै गर्दा बजारमा आएको यस्तो गिरावटलाई धेरैले ‘सकारात्मक समाचारको नकारात्मक प्रभाव’ बताएका छन् ।

‘अमेरिकाको आर्थिक अवस्था सोचिएभन्दा सबल बनेपछि यसको उल्टो प्रभाव देखिएको हो । तर, यसलाई आफ्नो लगानी पुनर्मूल्यांकन गरिएको अवस्थामा हेर्नुपर्ने हुन्छ,’ एस एन्ड पी ग्लोबल मार्केट्स इन्टेलिजेन्सकी लगानी व्यवस्थापक इरिन गिब्स भन्छिन् ।

अमेरिकी अर्थतन्त्र उच्चदरमा बढ्दा महँगीको समेत चिन्ता देखिएको छ । र, त्यसको प्रभाव सेयर बजारमा पर्ने चिन्ता पनि छ ।

एसियामा दक्षिण कोरियाको बजार कोस्पी दुई दशमलव ६ र अस्ट्रेलियाको एसएन्डपी/एसएक्स-२०० सूचक तीन प्रतिशतले घटेका छन् । भारतीय बजार सूचक सेन्सेक्स र निफ्टी क्रमशः १२ सय र तीन सय अंकले घटेका छन् ।

भारतीय सेयर बजारमा मंगलबार कारोबार शुरु भएको केही समयमै ठूलो गिरावट देखिएको हो ।

पछिल्लो दशकमा अमेरिकाको व्याजदर निकै न्यून छ । सोही कारण एसियाली बजार र अर्थतन्त्रमा पनि अमेरिकी लगानी भित्रिरहेको थियो । बीबीसीका अनुसार अमेरिकी बजारमा गिरावटको प्रभाव त्यसप्रकारको लगानीमा पनि देखिने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment