Comments Add Comment

नेप्से ११ महिनायताकै न्यून विन्दुमा, एफपीओले चम्कियो नेपाल बैंकको कारोबार

 

२४ माघ, काठमाडौं । नेपाल बैंकले प्रिमियम मूल्यमा नयाँ सेयर (एफपीओ) जारी गर्ने सार्वजनिक सूचना जारी गरेपछि बुधबार कारोबार बढेको छ ।

एक सय अंकितमूल्यको दरमा एक करोड ७६ लाख कित्ता सेयर उक्त बैंकले बिक्री गर्ने भएको हो । प्रिमियम नतोकिएको बैंकको यो दर दुई सयआसपास हुने सम्भावना छ ।

बजार मूल्यलाई आधार मानेर एफपीओको मूल्य तोक्ने प्रावधान छ । हाल बजारमा उक्त बैंकको सेयर मूल्य तीन सय ४६ रुपैयाँ छ । बैंकले प्रिमियमवापत उठ्ने रकम आगामी आवमा लाभांशका रुपमा समेत बाँड्न पाउने भएकाले दोस्रो बजारमा कारोबार बढेको हो ।

मूल्य १४ रुपैयाँले घटे पनि सेयर कारोबार भने सबैभन्दा धेरै पाँच करोड १८ लाख रुपैयाँबराबर भएको छ ।

नेपाल बैंकको चुक्तापुँजी राष्ट्र बैंकले तोकेबराबर पुगिसकेको छ । बैंकले प्रिमियमवापत संकलन गर्ने रकम बोनस सेयर वा नगद लाभांश कुन तरिकाले दिन्छ हाल भन्न सकिने अवस्था छैन ।

बुधबार नेप्से परिसूचकले १२ अंक गुमाएसँगै करिब ११ महिनायताकै न्यून विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक १३ सय ८२ विन्दुमा आइपुगेको हो । यसअघि ३ चैत ०७३ मा यही विन्दुमा थियो । त्यसयता पहिलो पटक नेप्से यो तहमा आएको हो ।

व्यापार, मुलुक र वित्त कम्पनी समूहको परिसूचक बुधबार बढेको छ । कारोबार रकम २६ करोड रुपैयाँमा सीमित भएको छ । बीमा र ‘अन्य’ समूहमा एक प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment