
२४ माघ, सप्तरी । सप्तरीको तिलाठी-कोइलाडी गाउँपालिकाको नाम परिवर्तन र केन्द्र सार्ने निर्णय कार्यान्वयन गर्न र नगर्न माग गर्दै छुट्टाछुट्टै आन्दोलन शुरु भएको छ ।
केन्द्र सार्ने निर्णयको विरोधमा वडा नम्बर १ तिलाठीका बासिन्दाले आन्दोलन शुरु गरेको एक दिनपछि बाँकी ७ वटा वडाका बासिन्दाले निर्णय तत्काल कार्यान्वयनको माग गर्दै संयुक्त आन्दोलन शुरु गरेका हुन् ।
माघ २० गते बसेको गाउँपालिकाको बैठकले नाम परिवर्तन गरी खाँडो-जिता राख्ने र केन्द्र तिलाठीबाट कोइलाडीमा राख्ने निर्णय गरेको छ । यो निर्णय खारेजीको माग गर्दै तिलाठीका वडा अध्यक्ष दिनेश्वर मिश्रसहित केही स्थानीयहरुले रिले अनशन शुरु गरेका छन् ।
उनीहरुले रिले अनशन शुरु गरेको एक दिन नबित्दै गाउँपालिकाको बाँकी ७ वडाका बासिन्दाले निर्णय कार्यान्वयनको माग गर्दै संयुक्त रुपमा आन्दोलन शुरु गरेका छन् ।
वडा नम्बर १ तिलाठी बाहेकका २, ३, ४, ५, ६, ७ र ८ का वासिन्दाले बुधबार राजविराजमा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिलाई ज्ञापन बुझाएका छन् । यी सातै वडाका बासिन्दाले गाउँपालिकाको बहुमतले गरेको निर्णय कार्यान्वयन गर्न माग गरेका छन् ।
उनीहरुले राजविराज नगरपालिकाको बिभिन्न भाग परिक्रमा गर्दै ‘जनमतको कदर होस्, सबैलाई सुलभ पहुँच हुने ठाउँमा कार्यालय सञ्चालन होस्’ भन्ने नारा लगाएका थिए ।
ज्ञापनमा एउटा वडाको मात्रै स्वार्थलाई नहेरी दुई तिहाई भन्दा बढी सदस्यको हस्ताक्षर र समर्थन रहेको निर्णयलाई कार्यान्वयन गराउन माग गरिएको छ ।
प्रतिक्रिया 4