Comments Add Comment

पर्सामा १४ वर्षीया किशोरी ४ महिनादेखि वेपत्ता

२४ माघ, वीरगञ्ज । पर्साको सुखवा प्रसौनी गाउँपालिका–५ को एक किशोरी ४ महिनादेखि वेपत्ता छिन् । स्वर्गीय जयराम गिरीको १४ वर्षीय छोरी काजलकुमारी गिरी गत २८ असोज शनिबार रातिबाट वेपत्ता भएकी हुन् ।

काजल ७ महिनाको हुँदा उनको बुवालाई तत्कालिन माओवादीले ८ माघ ०६१ मा हत्या गरेको थियो । बुबाको हत्यापछि टुहुरो बनेकी काजललाई ७ महिनापछि आमाले पनि छोडेपछि हजुरबुवा सारदा गिरी र हजुरआमा पार्वती गिरीले नै पालन पोषण गरेका थिए ।

काजल घर नफर्केपछि चिन्तित भएका हजुरबुवा सारदा र आमा पार्वतीले बुधबार नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा पत्रकार सम्मेलन गरेर नातिनी खोजिदिन आग्रह गरे ।

काजलको हजुरबुवा शारदा गिरीले काजललाई नेपाल प्रहरीमा ‘पिपा’ पदमा कार्यरत सखुवा प्रसौनी गाउँपालिका–५ का ३० वर्षीय प्रेमबैठा धोवीले लिएर गएको आरोप लगाए ।

‘प्रेम बैठाले प्रहरीमा जागिर लगाइदिन्छु भनेर लिएर गएको हाम्रो अनुमान छ’, उनले भने, ‘प्रहरीलाई जानकारी गराएपनि कारबाही प्रक्रिया अघि बढाइरहेको छैन । ’

बैठा नेपाल प्रहरीको मध्य क्षेत्रीय केन्द्र, दुधौलीमा कार्यरत छन् । खोजतलास गर्न जाँदा तालिम केन्द्र बाहिरको होटल साहुनीले बैठाले गाउँको बहिनी भनेर ३ दिन खाना खुवाएको बताएको गिरीले बताए ।

‘तालिम केन्द्रका प्रमुखलाई बैठा र नातिनीको बारेमा जानकारी गराउन पटकपटक आग्रह गरेको भएपनि वेवास्ता भएपछि पत्रकार सम्मेलनमार्फत जानकारी गराउनु परेको हो’, गिरीले भने, ‘प्रहरीले अनुसन्धानका लागि केही व्यक्तिलाई समातेर ल्याएको भएपनि स्थानीय जनप्रतिनिधिको दबाबमा छुटेका छन् ।’

पत्रकार सम्मेलनमा काजलकी हजुरआमा पारवती गिरीले पनि नातिनीको खोजी गरिदिन आग्रह गरिन् ।

प्रहरीले भने घटनाका बारेमा प्रहरीले गम्भिर ढंगले सुक्ष्म अनुसन्धान गरिरहेको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजन लिम्बुले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

‘शुरुमा चेलीबेटी बेचविखन सम्बन्धी मुद्दा दर्ता गराइएको थियो, आरोपी मध्ये तीन जनालाई ल्याएर अनुसन्धान गरेर तारिकमा छोडेका छौं’, उनले भने, ‘पछिल्लो समयमा बैठामाथि आरोप लागेको छ । तर, उनले गाउँको भनेको केटी काजल नभएर अर्कै रहेको अनुसन्धानबाट खुलेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment