Comments Add Comment

जनप्रतिनिधिको सक्रियताले पर्सामा खुला दिसामुक्त अभियानले गति लियो

जगरनाथपुर फागुन २ गते खुल्ला दिसामुक्त घोषणा हुने

२५ माघ, वीरगञ्ज । फागुन मसान्त भित्र पर्सा जिल्लालाई खुल्ला दिसामुक्त बनाउने प्रतिबद्धता गरेका जनप्रतिनीधिहरुले सरसफाइ अभियानमा सक्रियता देखाउन थालेका छन् ।

‘पर्सा जिल्लाको नारा खुल्ला दिसामुक्त गरौं गाउँ शहर सारा’ भन्ने नारासहित थालिएको अभियान सार्थक हुने देखिएको छ ।

पर्सा जिल्लालाई सन २०१७ भित्रमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य राखिएको भएपनि त्यो पूरा हुन नसकेपछि नवनिर्वाचित जनप्रतिनीधिहरुले फागुन मसान्त भित्र जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए ।

१४ वटा स्थानीय तह मध्ये २ वटा खुल्ला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन्, बाँकी तह पनि अन्तिम चरणमा रहेको जिल्ला स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति पर्साले जनाएको छ ।

३१ डिसेम्बर अर्थात पुस १६ गते नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखिकरण गरेपछि सरसफाइ अभियानले गति लिएको यूएन हृयाबिट्याटका पर्सा संयोजक सरोज चौरासीयाले बताए ।

उनका अनुसार पर्साको जगरनाथपुर, पटेर्वासुगौली, सखुवा प्रसौनी र पकाहामैनपुर गाउँपालिकामा सरसफाई अभियानले गति लिएको छ । ‘कुनै गाउँपालिकाको प्रमुख, कुनै गाउँपालिकाको उप प्रमुख, कतै त प्रमुख र उपप्रमुख दुवै सरसफाई अभियानमा गम्भीर भएर लागेका छन् ।’ उनले भने ‘कतै भने राजनीतिक खिचातानीका कारण समस्या छ ।’

पर्सा जिल्लामा २०६९ सालमा सरसफाई अभियान सुरु गर्दा जम्मा ३२ प्रतिशत घरधुरीमा मात्रै शौचालय थियो ।

सरसफाइ अभियान मार्फत सचेतनामूलक कार्यक्रम हुन थालेपछि २०७० सालमा ३८ प्रतिशत, ०७१ सालमा ५२ प्रतिशत, ०७२ सालमा ६१ प्रतिशत, ०७३ सालमा ८१ प्रतिशत र ०७४ मा आएर ८४ प्रतिशतमा शौचालय बनाउन र प्रयोग गर्ने बानी बसाउन सफल भएको दावी जिल्लास्तरी खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति पर्साको छ ।

पर्सा जिल्लामा यूनिसेफ, यूएन हृयाविट्याट, फन बोर्ड लगायतका संघ संस्थाले खुल्ला दिसामुक्त क्षेत्र घोषणा अभियानलाई सघाउन विभिन्न संघ संस्थासँगको सहकार्यमा सचेतनामूलक काम गर्दै आएको रेडक्रस सोसाइटी पर्सा शाखामा सभापति फूलमहम्मद मियाँले बताए ।

चुल्हो चौका अभियानपछि जगरनाथपुरमा सफलता

पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नं ४ जगरनाथपुरलाई फाल्गुन २ गते खुल्ला दिसामुक्त गाउँ घोषणा गरिने भएको छ ।

साविकको जगरनाथपुर गाविसमा १ हजार १ सय ८५ घरधुरी रहेकोमा १५ दिन अघिसम्म ५० प्रतिशत घरधुरीमा मात्रै शौचालय थियो ।

यूएन हृयाविट्याटको सहयोगमा विकास नेपालले चुल्हो चौका अभियान नै चलाएर सहजीकरण गरेपछि अहिले सबै जसो घरमा चर्पी बनेको छ ।

जगरनाथपुर, जगरनाथपुर गाउँपालिकाका प्रमुख जालिम मियाँको गाउँ पनि हो ।

जगरनाथपुरको जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति नेतृत्वको सरोकारवाला टोलीले बिहिबार अनुगमन पनि गरेको छ ।

अनुगमन टोलीले जगरनाथपुर खुल्ला दिसामुक्त घोषणाका लागि उपयुक्त देखिएको बताएको छ ।

जिल्ला स्तरीय अनुगमन टोलीले घर घरमा चर्पी बनेर प्रयोगमा आएको र खुल्ला स्थानमा दिसा नदेखिएको जनाएको छ ।

अनुगमन टोलीमा सहभागी जिल्ला समन्वय समितिका नायब सुब्बा अरविन्द सिंहले जगरनाथपुरमा सबै जसो घरमा चर्पी निर्माण गरेर प्रयोगमा ल्याएको देखिएको बताए ।

वडालाई फाल्गुन २ गते खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने निर्णय वडा स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समितिले गरेको वडा अध्यक्ष प्रभुनाथ प्रसाद चौधरीले जानकारी दिए ।

गाउँपालिकाका प्रमुख जालिम मियाँले बाहिर दिसा गर्नेलाई कारबाही गर्ने योजना अघि बढाइएको बताए । ‘जगरनाथपुर गाउँपालिका पुरै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यका साथ काम अघि बढी रहेको छ ।’उनले भने ‘ चर्पी बनाउन अटेर गर्नेलाई प्रहरी लगाएर समात्छौं र ५ हजार जरीवाना लिन्छौं ।’

६ वटा वडा रहेको जगरनाथपुर गाउँपालिकामा दुई वटा मात्रै वडा खुल्ला दिसामुक्त घोषणा हुन बाँकी छ ।

के हो चुल्हो चौको अयिभान

सरसफाइ अभियानको क्रममा घर घरमा पुगेर चर्पी निर्माण गर्न दवाव दिने अभियानलाई चुल्हो चौको अभियान भन्ने गरिन्छ ।

वडाको हकमा वडा अध्यक्षको नेतृत्वमा सहजीकरण गर्ने संस्थाका कर्मचारी, वडा समिति सदस्य, प्रहरी, स्थानीय महिला स्वास्थ्य स्वयं सेविका लगायतको टोली गाउँमा खट्छन् ।

समुदायमै बास बस्ने, खाने उनीहरुले बिहान बेलुका खुल्ला दिसा हुने सार्बजनिक स्थानको अनुगमन गर्ने, खुल्ला दिसा गर्नेहरुलाई प्रहरीको सहयोगमा पक्राउ गर्ने, कारबाही गर्ने र चर्पी बनाउन प्रतिबद्धता गराउने विकास नेपालका टीम लिडर शिवनाथ यादव बताउँछन् । ‘जगरनाथपुरमा त्यही अभियान प्रभावकारी देखियो, १० दिनमै ५० प्रतिशत घरधुरीमा चर्पी बनाउन सफल भयौ । ‘ यादवले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment