Comments Add Comment

नवराज सिलवालविरुद्ध मुद्दा चलाउन नमानेपछि काठमाडौं प्रहरी प्रमुखको सरुवा

रविन्द्र धानुकको ठाउँमा खटिए विश्वराज

२९ माघ, काठमाडौं । पूर्व डिआईजी तथा नेकपा एमालेका सांसद नवराज सिलवालप्रति नरम भएको आरोपमा काठमाडौं प्रहरी परिसर प्रमुख रविन्द्र धानुकको सरुवा भएको छ । धानुकलाई संघीय इकाइ प्रहरी कार्यालय बागलुङ सरुवा गरिएको छ । उनको ठाउँमा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा रहेका एसएसपी विश्वराज पोखरेललाई पठाइएको छ ।

सिलवालविरुद्ध आईजीपी नियुक्तिको बेला कार्य सम्पादन मूल्यांकन नम्बर किर्ते गरेको अभियोगमा मुद्दा चलाउन आईजीपी प्रकाश अर्याल र एआईजी जयबहादुर चन्दले दबाव दिएका थिए । तर धानुकले शुरुदेखि नै सिलवालप्रति नरम नीति अपनाउँदै उनलाई पक्राउ गर्नुको साटो लुकाउन सहयोगी भूमिका खेलेको आरोपसमेत लगाइएको छ ।

नयाँ सरकार आएपछि सिलवालमाथि कारवाही गर्न नसकिने भएपछि अर्याल र चन्दले यहि सरकार भएकै बेला किर्तेमा मुद्दा दायर गर्न खोजेको आरोप छ । धानुक र एआइजी चन्दबीच राम्रो सम्बन्ध थिएन ।

नवराज सिलवाल प्रकरणमा धानुकले सूचना चुहाएको आरोप लाग्दै आएको थियो । उनी मुद्दा दर्ता गर्न दबाव बढेपछि मोबाइल स्वीच अफ गरेर बिदामा बसेका थिए । यहि बेला हेडक्वार्टरको सिफारिसमा गृह सचिव मोहनकृष्ण सापकोटाले धानुकको सरुवा सदर गरेको बताइएको छ ।

सिलवाल प्रकरणमा मुख्य सचिव लोकदर्शन रेग्मी र आईजीपी अर्याल तथा एआईजी चन्द एक ठाउँमा छन् । धानुकले असहयोगी भूमिका खेलेको भन्दै विश्वराज पोखरेललाई काठमाडौंको प्रहरी प्रमुख बनाइएको हो ।

यसैबीच काठमाडौं प्रहरी परिसर मुद्दा शाखाका डिएसपी बेलबहादुर पाण्डेको दिपायल सरुवा भएको छ । उनको ठाउामा जनसेवाका डिएसपी मोहन थापालाई पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment