Comments Add Comment

भरतपुरमा ‘फाइभ एल’ डिस्कोर्स


१ फागुन, चितवन । इरोमेन्टल डिभलपमेन्ट (एएसईडी) र शैक्षिक क्षेत्रमा सक्रिय प्रोफेसनल ट्रेनिङ सेन्टर (पीटीसी) मिलेर सुरु गरेको ‘न्यू लिडरशीप प्याराडाइम’ नामक अभियानको दोस्रो श्रृंखला शनिबार नारायणी नदी किनारमा सम्पन्न भएको छ ।

‘लभ, लाईफ, लिनिएज, लिट्रेचर एन्ड लिडरशीप’ शीर्षकमा आयोजित दोस्रो श्रृंखलालाई छोटकरीमा ‘फाईभ एल डिस्कोर्स’ ले सम्बोधन गरिएको हो ।

अभियानका संयोजक कृष्णप्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता पूर्व मन्त्री गणेश शाहले गरेका थिए ।

कार्यक्रमको पहिलो चरणमा ‘लभ, लाईफ, लिनिएज, लिट्रेचर एन्ड लिडरसिप’ विषयक संवाद सञ्चालन गरिएको थियो भने वक्ताका रुपमा वातावरणविद् एवं शिक्षा शास्त्री डा. किशोरकुमार राजभण्डारी, ओशो सन्यासी एवं मुर्तिकार स्वामी देव लहर, लेखक एवं पत्रकार अश्विनी कोइराला, युवा नेतृ रञ्जु दर्शना, ॐ शान्ति नेपालका केन्द्रिय प्रशिक्षक ब्रह्मकुमार राजु घले, वैज्ञानिक एवं कृषि तथा वन विश्वविद्यालय रामपुरका प्राध्यापक डा. होमबहादुर बस्नेत र पण्डित एवं ज्योतिषाचार्य विष्णुराज सिग्देललगायत प्रस्तुत भएका थिए ।

संवादको सहजकर्ताको भूमिका अभियान सूत्रधारमध्येका एक सञ्जीव भट्टराईले निर्वाह गरेका थिए । युवावस्थामा विपरीत लिंगीप्रति हुने प्रेमका बारे मात्रै नभई डा. राजभण्डारीले प्रकृति र परिवारसँगको प्रेमको महत्त्वका बारेमा पनि प्रकाश पारेका थिए ।

ब्रह्मकुमार राजु भाइजीले परमात्मासँगको प्रेमलाई महत्त्व दिँदै भौतिकभन्दा अध्यात्मिक प्रेम महान रहेको विचार राखेका थिए ।

ओशो सन्यासी देव लहरले सबैभन्दा पहिले आफूलाई प्रेम गर्नुपर्ने सुझाव दिएका थिए । ‘मान्छेले आफूलाई प्रेम नगरीकन अरु कसैलाई प्रेम गर्न सक्दैन’, उनको तर्क छ, ‘सबैभन्दा पहिले आफूलाई प्रेम गर्नु सिकौं।’

पत्रकार एवं लेखक अश्विनी कोइरालाले आफ्नै प्रेम दर्शनमा आधारित प्रेमका पन्ध्र नियम वाचन गर्दै प्रेममा सफल एवं सुखी रहनका निम्ति नियम पालना गर्न जरुरी रहेको बताए ।

विवेकशील साझा दलकी नेता रञ्जु दर्शनाले संवाद कै क्रममा आफूले लेखेका केही कविता सुनाएर आफ्नो धारणा राखेकी थिइन् । प्रेममा व्यक्तिगत स्वतन्त्रताको वकालत गर्दै उनले भनिन्, ‘अहिलेको प्रेममा स्वीकृतिभन्दा पनि विकृति बढ्दै गएको छ ।’

पण्डित विष्णुराज सिग्देलले भने नेपाली समाजलाई पाश्चात्य संस्कृतिले पारेको प्रभावका बारेमा ध्यानाकर्षण गराउदै आफ्नो धर्म, संस्कृति र परम्परासँगको प्रेमलाई कमजोर नपार्न आग्रह गरे ।

संवाद प्रमुख रहेका डा. होमबहादुर बस्नेतले मानव जीवनमा यी ‘पाँचवटै एल’ को बराबर महत्त्व रहेको र यी पाँचवटै एलको सन्तुलनले मात्रै जीवन सफल रहने निष्कर्ष निकाले ।

प्रेम दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा युवाहरुको उल्लेखनीय सहभागिता देख्न सकिन्थ्यो । उपस्थित सम्पूर्ण युवाहरूलाई सम्बोधन गर्दै प्रमुख अतिथि गणेश शाहले आफ्नो मन्तव्यमा भने, ‘आफ्नो नैतिक गुणसँग पनि प्रेम गर्नुहोस् । किनभने नैतिक गुण बिना कोइ पनि असल नेता हुन सक्दैन । र देशलाई असल नेताहरुको खाँचो छ ।’

कार्यक्रमको समापन गर्दै सभापति कृष्णप्रसाद भट्टराईले सन् २०१८ भर मासिक रुपमा यसरी नै संचालन गरिने यो अभियानको उद्देश्य युवा जागरण र युवा नेतृत्वको विकास रहेको जानकारी दिए ।

कार्यक्रमको संचालन यस अभियानको अभियन्ता विजय विश्वकर्माले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment