+
+
Shares

ओलीलाई जनयुद्ध दिवसमा बोलाइएन, वामदेव पनि गएनन्

माओवादीको माग : जनयुद्धलाई राष्ट्रिय दिवस बनाइयोस्

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १ गते १५:०७


१ फागुन, काठमाडौं । माओवादीले मंगलबार देशभर २३ औं जनयुद्ध दिवस मनायो । यसैक्रममा पार्टी मुख्यालय पेरिसडाँडामा प्रचण्ड सहभागी हुने कार्यक्रममा एमाले नेतालाई पनि निम्त्याइएको थियो, तर एमाले नेताले माओवादीको निम्तो मानेनन् ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा (बादल) लगायतको उपस्थिति थियो । देशका प्रमुख १० शहरमा वाइसीएलको पहलमा जनयुद्ध दिवस आयोजना गरिएको थियो ।

पेरिसडाँडामा आयोजना गरिएको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले-माओवादी पार्टी एकताको सन्दर्भ निकाल्दै एमालेले जनयुद्ध स्वीकार गरेको बताए ।

तर, जनयुद्ध स्वीकार गर्न तयार भएको भनिएका एमालेका नेताहरु भने जनयुद्ध दिवसमा आयोजना गरिरहेको कार्यक्रममा देखिएनन् ।

जनयुद्ध दिवस मनाउन वाइसीएलले माघ १८ गते नै तयारी गरेको थियो । उक्त बैठकले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गर्ने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निम्तो दिने निर्णय समेत गरेको थियो ।

तर, विशेष कारणबस भन्दै कार्यक्रम आयोजक वाइसीएल नेपालले केपी ओलीलाई निमन्त्रणा गरेन । केपी ओलीको सट्टामा वाइसीएलले एमाले उपाध्यक्ष वामदेव गौतमलाई निमन्त्रणा पठायो । तर, मंगलबार आयोजित कार्यक्रममा एमालेका कुनै नेता उपस्थित भएनन् ।

एमाले उपाध्यक्ष गौतमले कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको खबर पठाएको वाइसीएलले जनाएको छ । ‘एमाले उपाध्यक्ष वामदेव गौतमलाई निमन्त्रणा गरेका थियौं,’ वाइसीएल अध्यक्ष रामप्रसाद सापकोटा दीपशीखाले अनलाइनखबरसँग भने, ‘उहाँ अर्काे कार्यक्रम भएकाले आउन नसकेको जानकारी पायौं ।’

जनयुद्धलाई राष्ट्रिय दिवस बनाउन माग

यसैबीच, २३ औं जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा माओवादी नेता तथा कार्यकर्ताहरुले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसका रुपमा घोषणा गर्न माग गरेका छन् ।

विभिन्न जनवर्गीय संगठनका अध्यक्षहरुले राष्ट्र र जनताको अधिकार प्राप्तिका लागि जनयुद्ध सुरु गरिएको भन्दै अब बन्ने सरकारले राष्ट्रिय दिवस घोषणा गर्नुपर्ने माग गरेका हुन् ।

‘जनयुद्धको महत्व र भूमिकाको मूल्याङ्कन गर्दै अब बन्ने सरकारले राष्ट्रिय दिवसका रुपमा घोषणा गर्नुपर्छ,’ जनसांस्कृतिक महासंघका अध्यक्ष सरल सहयात्रीले भने,’जनताको अधिकार प्राप्तिका लागि सुरु भएको जनयुद्धलाई राष्ट्रिय दिवस बनाउन अध्यक्षले पहल गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?