Comments Add Comment

ओली र प्रचण्ड वार्ताः नेतृत्वमा कुरा मिल्यो, आलोपालोको बहस कायमै

संयुक्त नेतृत्वमा एकीकृत पार्टी हाँक्न दुई नेता सहमत

१ फागुन, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत कम्युनिष्ट पार्टीको नेतृत्व संयुक्त रुपमा गर्ने भएका छन् । पार्टी नेतृत्वको हकमा कुरो मिले पनि प्रधानमन्त्रीको हकमा भने दुबै दलबाट फरक-फरक विचार सार्वजनिक भएका छन् ।

नयाँ सरकार गठनको तयारी गर्नुअघि दुई अध्यक्षबीच ‘वान टु वान’ वार्ताले तिव्रता पाएको छ ।

सोमबार दुई नेताहरुले लामै छलफल गरेका थिए । मंगलबार पनि ओली र प्रचण्डबीच वार्ता भएको छ ।

मानभवनस्थित एक निजी निवासमा भएको मंगलबारको वार्तामा नेतृत्वबारे सहमति जुटेको नेताहरु बताउँछन् । ‘दुबै नेताले संयुक्त नेतृत्व गर्नेमा लगभग सहमति भएको छ’ एमालेका एक नेताले अनलाइनखबरसँग भने ।

ओली र प्रचण्डको संयुक्त नेतृत्वलाई अध्यक्ष र सहअध्यक्ष वा दुबैलाई सहअध्यक्ष या दुबैलाई अध्यक्ष नै भन्नेबारे मोडल निश्चित गर्ने काम बुधबार बस्ने एकता संयोजन समितिले औपचारिक टुगो लगाउने छ ।

संयुक्त नेतृत्व भन्नाले केपी ओली र प्रचण्ड दुबैलाई अध्यक्षका रुपमा प्रस्तुत गर्नर् सकिने स्रोतले जानकारी दियो । तर, सरकारको प्रश्न भने पार्टी अध्यक्षभन्दा फरक रहने एमाले नेताको भनाइ छ ।

स्रोतका अनुसार अध्यक्षबाहेक महासचिव लगायतका अरु नेताहरुको व्यवपस्थापनबारे बुधबार पार्टी एकता संयोजन समितिको बैठकमा छलफल हुनेछ । भोलि बुधबार २ बजे एकता संयोजन समितिको बैठक बोलाइएको छ ।
तत्काल सरकार गठन गरेर त्यसपछि मात्रै पार्टी एकता प्रक्रिया अगाडि बढाउन दुबै नेता सहमत भएका छन् । तर, माओवादीले सरकार बन्नुअघि नै एकताको मोटो खाका बन्नुपर्ने सर्त राख्दै आएको छ । सम्भवतः बुधबार बस्ने एकता संयोजन समितिको बैठकले पार्टी एकतामा सैद्धान्तिक सहमति भएको घोषणा गर्नेछ ।

प्रधानमन्त्रीबारे दुईथरि कुरा

दुई अध्यक्षात्मक प्रणालीमा जाने कुरामा प्रचण्ड र ओली सहमत भए पनि प्रधानमन्त्रीको बारेमा भने दुबै पार्टीका तर्फबाट दुईथरी कुरा आएका छन् । एमाले नेताहरुले आलोपालो प्रधानमन्त्री बन्ने सहमति नभएको र ओलीले नै ५ वर्ष चलाउने दाबी गर्दै आएका छन् ।

एमालेका एक नेताले सरकारको नेतृत्वबारे अनलाइनखबरसँग भने-‘सरकारको नेतृत्व प्रधानमन्त्रीका रुपमा केपी ओलीबाटै हुनेछ र पाँच वर्षकै लागि नेतृत्व रहने छ । आलोपालो सरकार भन्ने हल्लामात्रै हो ।’

तर, माओवादी नेताहरुले भने आलोपालो प्रधानमन्त्री बन्ने सहमति दुई नेताबीच भएको दाबी गरेका छन् । ओलीलाई भेट्नुअघि चितवनमा सम्बोधन गरेका प्रचण्डले पनि आफू ढीलोछिटो प्रधानमन्त्री हुने भन्दै त्यही संकेत गरेका थिए ।

पहिले सरकार, त्यसपछि पार्टी एकता

नेताहरुका अनुसार नयाँ सरकार गठनअघि नै एमाले र माओवादीबीच एकता घोषणा गर्ने सम्भावना छैन । सरकार गठनको प्रक्रिया सम्भवतः भोलिबाटै प्रारम्भ हुनेछ ।

यद्यपि संयुक्त केन्द्रीय समिति बनाएर सरकार बनाउने कि भन्ने बहस अझै चलिरहेको छ । स्रोतले अनलाइनखबरलाई भन्यो, ‘दुबै कोणबाट बहस भइरहेको छ । तर, अब २/३ दिनमै पार्टी एकता घोषणा गरेर सरकार बनाउने सम्भावना छैन ।’

सम्भवतः बुधबारको बैठकले विचार र संगठनबारे गृहकार्य गर्न छुट्टाछुट्टै कार्यदल गठन गर्नेछ । र, पार्टी एकताको सैद्धान्तिक खाका बुधबार नै घोषणा हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment