Comments Add Comment

पोखराको लेकसाइड अब ‘नो भेहिकल जोन’

३ फागुन, पोखरा । पोखराको लेकसाइडलाई फेरि सवारीसाधन निषेधित क्षेत्र (नो भेहिकल जोन) बनाइने भएको छ ।

यसअघि ५ वर्ष पहिले घोषणा गरेर पनि लागू नभएको लेकसाइडलाई पुनः नो भेहिकल जोन बनाउन लागिएको हो ।

पर्यटन प्रवर्द्धनसहित लेकसाइड पुगेका पर्यटकलाई शान्तसँग बस्नसक्ने वातावरण निर्माणका लागि लेकसाइडलाई नो भेहिकल जोन बनाउने प्रयास सुरु भएको सरोकारवालाहरुले बताएका छन् ।

नो भेहिकल जोन बनाउनका लागि छलफल भइरहेको वडा प्रहरी कार्यालय बैदामका इञ्चार्ज प्रहरी निरीक्षक वसन्त शर्माले जानकारी दिए ।

सम्भव भएमा अर्को हप्तादेखी नै लागू गर्नेगरी छलफल भइरहेको बताउँदै उनले भने,’सरोकारवालाहरुसँग बसेर छलफल भइरहेको छ, स्थानीय निकाय, प्रहरी पर्यटन ब्यबसायी सबै यस विषयमा सकारात्मक छन्, सायद चाँडै निर्णय भएर लागू गर्नेछौं ।’

फेरि असफल नहोस् भनेर नो भेहिकल जोन सुरु हुुनु भन्दा अगाडि दुबैतर्फ पार्किङ स्थल बनाइनेछ भने गाडी फर्काउनका लागि डाइभर्सनको ब्यबस्थापनका लागि पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्षलाई आग्रह गरिएको उनले जानकारी दिए ।

अभियानको पहिलो चरणमा हप्ताको एक दिन नो भेहिकल जोन बनाइने अभियानका अभियन्ता तथा पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले बताए ।

उनका अनुसार शुरुमा प्रत्येक शुक्रबार बेलुका नो भेहिकल जोन बनाउने तयारी गरिएको छ ।

प्रारम्भिक चरण भएकाले सुरुमा हल्लनचोकदेखि बाराहीघाटसम्मको बाटोलाई नो भेहिकल जोन घोषणा गरेर लागू गरिने भएको छ ।

जहाँ हरेक शुक्रबार अपराहृन ५ बजेदेखी राति १० बजेसम्म सवारी निषेध गरिने पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हरिकृष्ण पहारीले जानकारी दिए ।

सवारी चापका कारण पर्यटकले हैरानी खेप्नुपरेको, सवारी साधनको हर्नका कारण ध्वनी प्रदुषणले पर्यटक दिक्क भएकाले त्यसको उन्मुक्तिका लागि लेकसाइडकलाई शान्त बनाउन नो भेहिकल जोन लागू गर्ने तयारी गरिएको पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माको भनाइ छ ।

काठमाडौंको ठमेलमा नो भेहिकल जोन सफल भएको र त्यसका कारण पर्यटनमासमेत सकारात्मक सुधार देखिएकाले पोखरामा दोश्रोपटक नो भेहिकल जोन लागू गर्ने तयारी गरिएको उनले बताए ।

नो भेहिकल जोन बनाउने अभियानमा पर्यटन व्यवसायी सकारात्मक देखिएका छन् । रेष्टुरण्ट एण्ड बार एशोसियसन अफ नेपाल -रेवान) पोखराका अध्यक्ष चौबहादुर गुरुङले लेकसाइडलाई नो भेहिकल जोन बनाउनु राम्रो काम भएको बताए ।

हप्तामा केही समयको लागि भएपनि लेकसाइड शान्त हुँदा पर्यटकले आनन्दले रमाउन पाउने भन्दै उनले यसलाई समय बढाउने र निरन्तरता दिइनुपर्नेमा जोड दिए । यसले पर्यटन प्रवर्द्धन र पर्यटक आगमनमासमेत बृद्धि ल्याउने विश्वास व्यक्त गरे ।

यसअघी पहिले नो भेहिकल जोन बनाउँदा संयोजक बनेका पर्यटन ब्यबसायी सूर्यबहादुर भुजेलले अब अभियान सुरु गर्दा उप समिति बनाएर दिगो रुपमा लागू गर्नुपर्ने बताए ।

पहिलेको कमजोरीलाई अनुभवको रुपमा लिएर शिक्षा लिदै त्यसलाई सुधारेर नो भेहिकल जोन सँधैका लागि निरन्तर कायम राख्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment