Comments Add Comment

जबजले गरायो ओली र नेपालको पुनर्मिलन !

गाडी सेयरिङदेखि पावर सेयरिङसम्म

फाइल फोटो

३ फागुन, काठमाडौं । बुधवार र विहीबारका केही घटनाक्रम संयोगमात्र होइनन् भने एमालेमा केपी शर्मा ओली र माधवकुमार नेपालबीचको दूरी साँघुरिएको महसुस एमालेका पदाधिकारी तहकै नेताहरुले गर्न थालेका छन् । र, यसको पछिल्लो श्रृंखला हो- विहीबारको मन्त्रिपरिषद गठन, जसमा माधव नेपालको मन राख्न ओलीले कुनै कञ्जुस्याई गरेनन् ।

जब एउटै गाडीबाट ओर्लिए

विहीबार मध्यान्ह १२ बजे एमाले संसदीय दलको पहिलो बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्दै थियो । छोटो समयमा आकस्मिक रुपमा बोलाइएकाले आधाजति सांसद मात्रै पार्टी कार्यालयमा पुगेका थिए ।

करिव आधाघण्टा ढिलो ओलीको गाडी पार्टी कार्यालयमा प्रवेश गर्‍यो । ओलीलाई स्वागत गर्न पार्टी कार्यालयको ढोकामा उभिएका नेता कार्यकर्ता नै अचम्मित भए, गाडीबाट ओलीभन्दा अगाडि माधव नेपाल ओर्लिए ।

शीतलनिवासमा राष्ट्रपतिलाई भेटेर फर्किएका ओली र नेपाल एउटै गाडी चढेर पार्टी कार्यालय पुगेका थिए ।

ओली र नेपाल एउटै गाडीमा, सिट शेयर गरेर कार्यालय पुग्नु नै एमाले कार्यकर्ताका लागि उत्साह जगाउने दृश्य थियो । त्यसमाथि ओली र नेपाल सँगसँगै पार्टी कार्यालयको माथिल्लो तल्लामा गए र केहीबेर गोप्य सल्लाहसमेत गरे ।

ओली र नेपाल एउटै गाडीमा, सिट शेयर गरेर कार्यालय पुग्नु नै एमाले कार्यकर्ताका लागि उत्साह जगाउने दृश्य थियो । त्यसमाथि ओली र नेपाल सँगसँगै पार्टी कार्यालयको माथिल्लो तल्लामा गए र केहीबेर गोप्य सल्लाहसमेत गरे । अनि सँगै संसदीय दलको बैठक हलमा प्रवेश गरे ।

माधव नेपालको प्रस्तावमा ओली दलको नेता

बैठकको शुरुमै माधव नेपालले ओलीको प्रशंसामा केही शब्द खर्चिए । र, उनलाई संसदीय दलको नेतामा प्रस्ताव गरे । सांसदहरुले परर ताली बजाएर प्रस्ताव अनुमोदन गरे । त्यसपछि नेपालले ‘ल अब कमरेड केपी शर्मा ओली सर्वसम्मतरुपमा संसदीय दलको नेता निर्वाचित हुनुभएको घोषणा गर्छु’ भने ।

यो दृश्य एमालेहरुका लागि केही वर्षदेखि चलिआएको गुटगत अभ्यासभन्दा नितान्त भिन्नै थियो ।

चार वर्षअघि ओलीले नै तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनाललाई संसदीय दलको नेतामा पराजित गरेका थिए । त्यसलगत्तै भएको नवौं महाधिवेशनमा उनले माधव नेपाललाई पार्टी अध्यक्षमा पराजित गरेका थिए ।

निरन्तरतामा क्रमभंग किन ?

एमालेमा पछिल्लो समय टोल कमिटीदेखि संसदीय दलसम्म चुनावबाटै नेतृत्व चयन हुने गरेका छन् । चुनावदेखि चुनावसम्मको अभ्यासले पार्टीमा विकृति फैलिएको टिप्पणी भइरहेका बेला प्रदेशसभाका संसदीय दलमा समेत गुटगत आधारमा चुनाव भए ।

तर, ओलीलाई माधव नेपालले नै दलको नेतामा प्रस्ताव गरे, झलनाथले छेउमा बसेर ताली बजाए । यो एमालेमा भइरहेको आन्तरिक चुनावी अभ्यासको निरन्तरतामा एउटा क्रमभंग नै हो ।

ओलीलाई माधव नेपालले नै दलको नेतामा प्रस्ताव गरे, झलनाथले छेउमा बसेर ताली बजाए । यो एमालेमा भइरहेको आन्तरिक चुनावी अभ्यासको निरन्तरतामा एउटा क्रमभंग नै हो ।

दलको नेता चयन गर्ने बैठकमा ओली र नेपालले मात्रै बोले । माधव नेपालले ओलीलाई दलको नेता चुनिएपछि आफ्नो मन्तव्य राख्न माइक हस्तान्तरण गरे । ओलीले दाहिनेपट्टी रहेका झलनाथ खनाललाई केही बोल्ने हो कि भनेर सोधे, तर खनालले ओलीलाई नै बोल्न संकेत गरेपछि उनले संक्षिप्त मन्तव्य दिए ।

जबजले जुटायो नेतालाई ?

एमालेका नेता र सांसदहरुले दुवै नेताको भाषण सकिएपछि टिप्पणी गरे- जबजले दुईटा बूढालाई मिलाएजस्तो छ !

कुरा के भने, दलको बैठकमा ओली र नेपालले अर्थपूर्ण रुपमा जनताको बहुदलीय जनवादको प्रसंग उठाए । उनीहरुले बिना प्रशंग जबजको कुरा मात्रै उठाएनन्, जबजकै कारण पार्टीले सफलता पाएको भन्दै यो सिद्धान्तको रक्षाको कुरासमेत गरे ।

माधव नेपालले आफ्नो भाषणमा जबजको कुरा उठाउँदै यसको सान्दर्भिकता बढेको भनिरहँदा एमाले सांसदहरुले अर्थपूर्ण रुपमा लिइसकेका थिए । किनकि पार्टीमा नेपाल समूहकै घनश्याम भुसाल लगायतका नेताहरुले पार्टी एकीकरणका सन्दर्भमा जबजको अध्याय समाप्त भइसकेको बताइरहेका बेला माधव नेपालले जबजको बचाउ गरेका हुन् ।

माधव नेपालपछि बोलेका ओलीले पनि एमालेको सफलतामा जबजको श्रेय रहेको बताए । दुवै नेताले जबजको बचाऊ गर्नुले उनीहरुलाई जबजले नजिक्याएको अर्थमा एमाले सांसदहरुले विश्लेषण गरेका हुन् ।

त्यसो त बुधबार पार्टी एकता संयोजन समिति बैठकमा समेत एमाले अध्यक्ष ओली र माधव नेपालले एकीकृत पार्टीको सिद्धान्त जबज नै हुनुपर्ने कुरा राखेका थिए ।

माधव नेपालपछि बोलेका ओलीले पनि एमालेको सफलतामा जबजको श्रेय रहेको बताए । दुवै नेताले जबजको बचाऊ गर्नुले उनीहरुलाई जबजले नजिक्याएको अर्थमा एमाले सांसदहरुले विश्लेषण गरेका हुन् ।

एउटै गाडीमा दुई नेताहरु पार्टी कार्यालयमा आउनु, माधव नेपालकै प्रस्तावमा ओली संसदीय दलको नेता चुनिनु र दुवै नेताले एक स्वरमा अर्थपूर्ण रुपमा जबजको बचाऊ गर्नु एमाले कार्यकर्ताका लागि सामान्य संयोगमात्र होइन ।

जबजमाथि माओवादी र एमाले पार्टीभित्रकै एउटा पंक्तिले गरेको आक्रमणले ओली र नेपाललाई नजिक्याएको टिप्पणी गर्नेहरु पनि भेटिए विहीबार धुम्बाराहीमा ।

‘च्याप्टर क्लोज’ ले बनायो नेतालाई ‘क्लोज’

उपमहासचिव घनश्याम भुसालले जबजको च्याप्टर क्लोज भएको भनी अनलाइनखबरमार्फत आफ्नो धारणा सार्वजनिक गरेपछि एमाले पंक्तिमा निकै ठूलो बहस चल्यो, जुन अहिले पनि जारी छ ।

भुसालको विचारको खण्डन ओली पक्षबाटमात्र होइन, नेपाल पक्षकै नेताहरुबाट भयो । माधव नेपाल स्वयंले जबजको सान्दर्भिकता अझ बढेको अभिव्यक्ति दिए ।

सुरेन्द्र पाण्डे, राजेन्द्र राईलगायतका नेताहरुले पार्टी एकताको आधार नै जबज र जनमत हुनुपर्ने भनेर अभिव्यक्ति दिए । महासचिव ईश्वर पोखरेलले पार्टी एकतापछि जबजको च्याप्टर ओपन हुने बताए । यी समग्र घटनाक्रमकाबीच नेपाल र ओलीलाई नजिक्याउन केही नेताहरुले घरदैलो समेत गरेको चर्चा छ ।

पार्टी कार्यालयको एउटा कुनामा भेटिएका एमाले सचिव गोकर्ण विष्टले ओली र नेपालबीच हार्दिकता बढ्नु पार्टीभित्र मजबुत एकताको संकेत रहेको टिप्पणी गरे । उनले भने- हाम्रा नेताहरुबीच अझ एकता बढोस भन्ने हाम्रो चाहना हो । परिस्थिति त्यहि दिशातर्फ गइरहेको कुरा कार्यकर्ताका लागि सुखद सन्देश हो ।

शीतलनिवासको फाइलन ‘सिन’

ओली र माधव नेपालबीचको दूरी साँघुरिएको अर्को दृश्य विहीवारै शीतलनिवासमा देखियो । धेरैको अनुमान पहिलो चरणमा ईश्वर पोखरेल मन्त्री बन्ने थियो । तर, एकाएक लालबाबु पण्डित र थममाया थापा मगरको नाम राष्ट्रपति कार्यालयका सचिवले पढेपछि सबै सरप्राइजमा परे ।

पहिलो चरणको क्याबिनेटमै माधव नेपाल समूहका लालबाबु पण्डितलाई मन्त्री बनाएर ओलीले नेपालको विश्वास आर्जन गर्न खोजेको अनुमान लगाउन सकिन्छ ।

पहिलो चरणको क्याबिनेटमै माधव नेपाल समूहका लालबाबु पण्डितलाई मन्त्री बनाएर ओलीले नेपालको विश्वास आर्जन गर्न खोजेको अनुमान लगाउन सकिन्छ ।

माधव नेपालले ओलीलाई पण्डितको नाम दिएको स्रोतको दावी छ । थममाया थापा राष्ट्रपति विद्यादेवी भण्डारीको समेत चाहनामा मन्त्री बनेको स्पष्ट छ । शुरुमै जातीय र लैंगिक रुपमा मात्र होइन, पार्टीभित्रको सन्तुलन समेत मिलाएर ओलीले सकारात्मक सन्देश दिएका छन् ।

दुई मन्त्रीको नाम सुनिसकेपछि राष्ट्रपतिको अनुहारमा केही फरक भाव देखिएको थियो । भण्डारीले आवेगमा आएर ‘मलाई त डर लागेको थियो’ भनेको वाक्य टेलीभिजनको लाइभमै सुनिएको थियो । सम्भवतः उनले थपमायाको विषयमा यस्तो चिन्ता गरेकी हुन् ।

पछिल्लो समय टिकट वितरणदेखि प्रदेशसभाका संसदीय दलको नेता चयनमा समेत संस्थापन पक्षले गुटबन्दी गरेको आरोप लागिरहेका बेला माधव नेपाल र ओलीको दुई दिने हार्दिकताले यतिमै पूर्णविराम पाउँछ कि, अझ कसिलो हुन्छ ? एमाले पंक्तिको यो जिज्ञाशाको जवाफ सम्भवतः सरकार गठनदेखि पार्टी एकीकरणको प्रक्रियाबाटै मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment