Comments Add Comment

‘सपना विश्वकप नै हो, छनोटमा पुग्दा धेरै खुसी छौं’

विश्वकप छनोटमा स्थान बनाउन सफल भयौं । फाइनलमा चुक्यो । समग्रमा कस्तो रह्यो डिभिजन टू ?

नेपाली क्रिकेटलाई माया गर्ने सबैले पछिल्लो एक सातालाई याद गर्नेछन् । खेलाडीका रुपमा हामीले राम्रो क्रिकेट खेल्यौं ।

पहिलेदेखि भन्दै आएको थिए कि हाम्रा खेलाडीहरुमा क्षमता छ । यो पटक टिम स्पिरिट पनि राम्रो थियो र हरेक दिन नयाँनयाँ म्याच विनर थियो । यसले सबै जना उत्साहित थिए । खुसी छौं, विश्वकप छनोटमा पुगेका छौं ।

आगामी दिनमा विश्वकप खेल्ने सपना छ । अहिलेका लागि भने विश्वकप छनोटमा पुगेका छौं, यसमा धेरैधेरै खुसी छौं ।

नयाँ युवा खेलाडीहरुको प्रदर्शनलाई कसरी लिनु भएको छ ?

उमेर नै हेर्ने हो भने नेपाली क्रिकेट युवा टिम नै हो चार पाँच जना बाहेक । सबैभन्दा महत्वपूर्ण कुरा युवाहरु र सबैले चाहेको बेला प्रदर्शन गरे । समग्रमा प्रतियोगितामा सबै खेलाडीको उत्तिकै योगदान थियो ।

युनियर खेलाडीहरुले राम्रो गरे । यो नेपाली क्रिकेटको भविश्यका लागि राम्रो संकेत हो । आश गरौं, यो गति बनाएका छौं, आगामी दिनमा अझ राम्रो क्रिकेट खेलेर अझ माथि पुर्याउन सकोस् ।

क्यानडासँग १४४ रन बनाउँदा ९ विकेट गुमाइसकेको थियो । त्यसबेला तपाईको मनमा के चलिरहेको थियो ?

हामीले त खेलहार्‍यौं भनेर सोचिसकेका थियौं । क्रिकेटको जुन एउटा पोजिसन हुन्छ, त्यो अवस्थामा एकदमै कम जित्न सक्थ्यौं । तर, सलाम ! करण र सन्दिप ।

यो प्रतियोगितामा पहिलो खेलदेखि नै यस्तो रह्यो । पहिलो खेल बसन्त र सन्दिपले जिताए । केन्यासँग पनि लास्ट ओभरमा पुगेर जित्यौं । क्यानाडाविरुद्ध ५१ रन बाँकी हुँदा गाह्रो छ जस्तै लागेको थियो । तर, रन बढ्दै गएर ३० भन्दा कममा आएपछि जितिन्छ कि क्या हो भन्ने भयो ।

हामीले धेरै मेहनत गरेका थियौं, वर्षौंको मेहनत स्वरुप जुन खालको इनिङहरु खेल्यो करणले, सलाम !

यो प्रतियोगितामा केही अपेक्षा गरिएका खेलाडीहरुले त्यसअनुसार प्रदर्शन गर्न नसक्दा केही गाह्रो भएको हो ?

हेर्नुस्, खेलाडी चल्ने नचल्ने भन्दा पनि टिमको प्रदर्शन हो । व्यक्तिगत रुपमा जसले जति राम्रो गरेपनि टिम छनोटमा नपुगेको भए ठूलो अर्थ हुन्नथ्यो । त्यसैले खेल हो, सँधै सबैको राम्रो प्रदर्शन हुन्छ भन्ने छैन ।

यहाँसम्म आइपुग्न टिमका हरेक सदस्यले योगदान दिएका छन् । सिनियर जुनियर भन्दा पनि नेपाल टिम भएर खेलेका छौं । नेपाल टिम भएर खेलेपछि सबै उत्तिकै जिम्मेवार छौं ।

फाइनलमा यूएईसँग हार्‍यौं। हार पक्कै मिठो हुँदैन तर, यसले विश्वकप छनोटमा केही सहज समूहमा परेको हो ?

विश्वकप छनोटमा कमजोर र बलियो टिम भन्ने छैन । समूह ए र बी दुबैका टिम उत्तिकै बलियो छन् । फाइनल हामीले जित्नका लागि नै खेलेका थियौं तर, दुर्भाग्यबस हार्‍यौं। आगामी दिनमा हामीले राम्रो क्रिकेट खेल्नै पर्छ ।

तर, विश्वकप तयारीका लागि त हामीसँग समय कम छ

नियमित क्रिकेट खेलिरहेका छौं । ३-४ दिनपछि फेरि प्रशिक्षण सुरु गर्छौं । क्रिकेटकै माहोलमा बसिरहेका छौं, खेलिरहेका छौं, यसले फर्मलाई कायम राख्न मदत गर्छ ।

खेलाडीका रुपमा हामी अझ राम्रा प्रदर्शन गर्न कोसिस गर्छौं । नेपाल क्रिकेटलाई खेलाडी र प्रशिक्षकले जुन तरिकाले धानिरहेका छन्, हाम्रा लागि चुनौती भनेको क्रिकेट संघको विवादलाई चाडो सुल्झाउनुपर्छ । जुन अन्तिमको अल्टिमटम पाएका छौं । क्रिकेट संघको विवादलाई जसरी भएपनि सुल्झाउने हो भने आगामी दिनमा अझ राम्रो नतिजा ल्याउन सक्छौं ।

टिमहरुको अध्ययन गर्छौं र तयारीमा जुट्ने हाम्रो योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment