Comments Add Comment

सिद्धबाबामा यात्रु जोगाउन ‘रक सेड’ प्रविधि प्रस्ताव

‘रक सेड’ प्रविधिको प्रतीकात्मक तस्वीर

६ फागुन, काठमाडौं । बुटवल र पाल्पाको सीमामा पर्ने सिद्धबाबाको सडक हुँदै यात्रा गर्नु ‘मृत्युका लागि तयार’ हुनुजस्तै हो । किनभने यो पहिरोबाट कतिखेर ठूला चट्टान खस्छ भन्ने ठेगान हुँदैन । जसले ज्यानको माया मारेर यात्रा नगरी सुखै छैन ।

वर्षामा मात्रै हैन, अन्य समयमा पनि यो सिद्धबाबाको पहिरो कटेपछि यात्रु र चालकले भगवानलाई ‘बचाएकोमा धन्यवाद’ दिन्छन् ।

तर, अब सरकारी योजनाअनुसार काम भए यस्तो त्रासको अन्त्य हुन धेरै वर्ष लाग्ने छैन । सरकारले अब सिद्धबाबामा ‘रक सेड’ प्रविधिमार्फत सवारी र यात्रुलाई सुरक्षित गर्ने योजना अघि सारेको छ ।

यसका लागि जापान सरकारले सघाउने सडक विभागका वैदेशिक सहायता महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

सिद्धबाबाको ‘ज्यानमारा’ ढुंगे पहिरोले कतिखेर झरेर टाउकोमा बजारिने हो भन्ने पत्तो छैन । ठाडो चट्टाने डाँडाबाट खसिरहने पहिरोले अहिलेसम्म दर्जनौंको ज्यान लिइसक्यो । ६ वर्षको अवधिमा यो पहिरोमा परेर यत्रा गरिरहेका झण्डै ३ दर्जनभन्दा बढीले ज्यान गुमाएको तथ्यांक प्रहरीसँग छ ।

सरकारले यो पहिरो रोक्न विभिन्न प्रविधिकको प्रयोग नगरेको हाइन । यस्तै दुःख दिने पृथ्वी राजमार्गको कृष्णभीरको पहिरो रोक्न सफल भएको सरकारको प्रविधि सिद्धबाबाको चट्टानमा भने कहिल्यै ‘सिद्ध’ हुन सकेन ।

त्यसैले अब यो स्थानमा ‘रक सेड’ प्रविधि निर्माणको प्रस्ताव गरिएको छ । यसमा जापान सरकारले सहयोग गर्ने सकारात्मक जवाफ दिइसकेको छ ।

यस्तो सेड निर्माणका लागि करिब २ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । योजनाअनुसार सिद्धबाबाका करिब ३ सय मिटर पहिरो प्रभावित क्षत्रेमा यस्तो सेड निर्माण गरिनेछ । तर, अध्ययनबाट नै कति क्षेत्रमा निर्माण गर्ने भन्ने टुंगो लाग्नेछ ।

अब अध्ययन गरेर निर्माण गरिहल्ने गरी जापानी सहयोग नियोगलाई ‘रिक्वेस्ट लेटर’ लेख्दैछ, विभाग । केही समयअघि जापान गएको विभागको उच्च्च पदस्थ अधिकारीको टोलीले जापानमा चट्टाने पहिरोबाट निर्माण गरिएका सडकहरुको निरीक्षण गरेको थियो ।

जापानको ‘मोदीओका’ क्षेत्रका सडकमा बनेका रक-सेड हेरेपछि सिद्धबाबामा पनि यस्तै बनाउन सकिने निश्कर्ष विभागको प्राविधिक टोलीले निकालेको थियो । त्यसकै आधारमा विभागले जाइकाको दक्षिण एसिया हेर्ने कार्यालयलाई त्यसमा सघाउन औपचारिक रुपमै आग्रह गरेको थियो ।

जसमा सहमति जनाउँदै जाइकाले लिखित प्रस्ताव गर्न आग्रह गरेको छ । दातको सकारातमक जवाफपछि विभाग सिद्धबाबामा रक-सेड नै बनाउने योजनाअनुसार अघि बढेको छ ।

के हो रक-सेड ?

‘रक सेड’ चट्टाने पहिरोमा सवारी र सडकलाई सुरक्षित गर्ने प्रविधि हो । सडकमाथि बलियो छाना बनाएर यसलाई निर्माण गरिन्छ ।

त्यसका लागि सडकको दुई भाग (दायाबायाँ) बलियो पिल्लर ठड्याइन्छ र त्यसमा मजबुत किसिमको छानो राखिन्छ । पहिरोको अवस्थाअनुसार यसमा आरसीसी ढलान र स्टिल स्ट्रक्चर दुबै प्रयोग गर्न सकिन्छ ।

‘रक सेड’ प्रविधिको प्रतीकात्मक तस्वीर

सडकमा आउने गरी पहिरो खसेमा छाना हुँदै चट्टान खोलामा पुग्नेछ । त्यसका लागि छानालाई भिरालो ढंगले तयार गरिन्छ ।

छानामुनिबाट गाडी गुडिरहँदा पहिलो झरेपनि त्यसले कुनै क्षति गर्ने छैन । भरहेको चट्टान छानाबाटै तीव्र गतिमा खोलामा खस्छ ।

सिद्धबाबाका ठूलो किसिमको चट्टान पनि खस्ने भएकाले त्यहाँ आरसीसी ढलानवाला सेड निर्माण गर्नुपर्ने अनुमान छ ।

विभागका सिनियर डिभिजनल इन्जिनियर अजयकुमार मुल यस्तो ‘रक सेड’ निर्माण गर्न आफूहरु ढिलाइ गर्ने पक्षमा नरहेको बताउँछन् । निकै दुःख दिएकाले यो पहिरोको समस्या हटाउन तीव्र गतिमा काम गरिने उनले बताए ।

यसको निर्माणबारे अध्ययन गर्न धेरै समय नलाग्ने उनको भनाइ छ । अब औपचारिक रुपमा जापान सरकार तयार हुनासाथ निर्माणमा जान सकिने अपेक्षामा विभाग छ ।

सिद्धबाबाको पहिरोमा नरम माटोमा अडिएको चट्टान छ । जुन सुख्खायाममा पनि खस्ने समस्या छ । साँघुरो खोँचमा रहेको सडकको तल तिनाउ नदी बग्छ ।

अप्ठ्यारो ठाउँ भएकाले तीव्रगतिमा सवारी दौडाउन मिल्ने अवस्था पनि छैन । सडक माथिको ठाडो गगनचुम्बी पहाडबाट झर्ने पहिरो रोक्न सक्ने अवस्था पनि छैन ।

यो पहिरो हुँदै पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी लगायतका जिल्लाका गाडी गुड्छन् ।

पहिरोसँगैको चर्चित सिद्धबाबा मन्दिरमा भक्तजनको ठूलो भीड पनि लाग्छ । भक्तजनहरु ठूलो जोखिम मोलेर मन्दिरमा पूजाआजा गर्छन् ।

सरकारले यो पहिरोको समस्या हटाउन विभिन्न प्रयत्न पनि गरेको हो । पहिरोमा ग्रिनरी विकास गर्ने, ढुँगाको पर्खाल लगाउने, रक नेट राख्ने लगायतका प्रयास भएका पनि हुन् । यसले माटोसहितको पहिरो झर्न कम भए पनि चट्टान झर्न भने रोकिएको छैन ।

सिद्धबाबाको पहिरोले त्रास नहटेपछि यो राजनीतिक दलको चुनावी एजेण्डा पनि बनेको थियो । त्यसकै आधारमा धेरै उम्मेदवारले यो पहिरो छल्ने गरी सुरुङमार्ग निर्माण गर्ने आश्वासन पनि देखाएका थिए ।

तर, सुरुङमार्ग निर्माण निकै महंगो हुने देखिएपछि विभागले विभिन्न विकल्पहरुबारे अध्ययन गरेको थियो । अब रक सेड नै उपयुक्त प्रविधि ठहर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment