Comments Add Comment

प्रदेशको अवस्था बुझ्दै मुख्यमन्त्री गुरुङ

कर्मचारीलाई भनेः प्रदेशमा हामी कहाँनेर छौं पत्ता लगानुस्

६ फागुन, पोखरा । प्रदेश ४ का सबैजसो मन्त्रालय सञ्चालनमा आइसके । केही मन्त्रालयले मन्त्री र कर्मचारीसमेत पाइसके भने केही मन्त्रालय मन्त्रीको पर्खाइमा छन् ।

सञ्चालनमा आएका मन्त्रालयले कर्मचारीदेखि कार्यालय व्यवस्थापनकै काम गरिरहेका छन् । मन्त्रीको कार्यकक्षदेखि निवाससम्मको व्यवस्थापनमै कर्मचारी व्यस्त छन् तर, मन्त्रालय सञ्चालनको नीति निर्माण नभइसकेका कारण अन्य काम हुन सकेका छैनन् ।

संघीयता कार्यान्वयनसँगै सञ्चालनमा आएका प्रदेश मन्त्रालयले अब कसरी काम थाल्लान् ? केके काम गरेर सरकार सञ्चालनको सुरुआत गर्लान् ? आम नागरिकमा जस्तै कर्मचारी र मन्त्रीलाई समेत अन्योल छ ।

त्यसैको सहजीकरणको सुरुवात प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले थालनी गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बाले प्रदेशको अहिले अवस्था बुझ्न र त्यसको तथ्यांक तयार पार्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री गुरुङले मन्त्री पाइसकेका मन्त्रालयका कर्मचारी र मन्त्रीलाई समेत राखेर प्रदेशको अवस्था बुझ्ने तथा नीति निर्माणको आधार तयार पर्ने कामको थालनी गरेका हुन् ।

उपसभामुखको निर्वाचन र सपथलगत्तै मुख्यमन्त्री गुरुङ मन्त्री रामशरण बस्नेत, प्रमुख सचिव लक्ष्मण अर्यालसहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा छलफलमा पुगे । छलफलमा मन्त्रालय अन्तर्गतका उद्योग, पर्यटन, वन, भूसंरक्षण लगायतका विभागका प्रमुख सहभागी थिए ।

मुख्यमन्त्री गुरुङले मन्त्रालयका प्रत्येक स्टेकहोल्डरलाई प्रदेशको अहिलेको अवस्था पत्ता लगाएर तथ्यांक तयार पार्न निर्देशन दिएको सचिव वुद्धिसागर पौडेलले जानकारी दिए ।

‘प्रदेशका सबैजसो नीति निर्माण गर्नुछ । प्रदेशको अहिलेको अवस्था नबुझी पोलिसी बनाउँदा फेल भइन्छ । त्यसैले हामी कहाँनेर छौं पत्ता लगानुस्,’ मुख्यमन्त्री गुरुङले निर्देशन दिए ।

मुख्यमन्त्री गुरुङले मन्त्रालयका सम्भावना र चुनौति केके छन् ? हाम्रो अवस्था के छ ? त्यसबाट नागरिकले कति फाइदा लिएका छन् ? पत्ता लगाएर तथ्यांक तयार पार्न आग्रह गरेको वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए ।

‘मन्त्रालय व्यवस्थापनको काम हुँदै जान्छ, प्रदेशको अवस्था के छन्, आफू मातहतका कार्यलयले गर्दै आएका काम र अवस्थाका विषयमा तथ्यांक तयार पार्नुहोस्,’ मुख्यमन्त्री गुरुङले निर्देशन दिँदै भने, ‘हामीलाई दिगो विकासको खाका कोर्नु छ । त्यसका लागि अहिले सुरु गरौं ।’

सबै मन्त्रालयमा खटाइएका कर्मचारीसमेत आइसकेका छैनन् । मन्त्रालयमा खटिएका कर्मचारीलाई प्रदेशको स्रोत, साधनको अवस्था, भइरहेका काम त्यसको प्रभावको तथ्यांक ननिकाली नीति बनाउन नसकिने मुख्यमन्त्री गुरुङको भनाइ छ ।

क्षेत्रीय तथा जिल्लास्तरका मन्त्रालय मातहतमा आएका कार्यालयहरुले गरिरहेको काम र प्रगतिबारे समेत मुख्यमन्त्रीले चासो राखेका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री एमाले सांसद रामशरण बस्नेत, आन्तरिक मामिला तथा कानुनमन्त्री माओवादीका हरिबहादुर चुमान, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रुपमा माओवादीकै लेखबहादुर थापाले पदभार ग्रहण गरिसकेका छन् । अब ३ मन्त्रालय मन्त्रीको पर्खाइमा छन् । पदभार ग्रहण गरिसकेका मन्त्रीले पनि सम्बन्धित सरोकारवालासँग मन्त्रालय मातहतको तत्कालको अवस्थाको विषयमा जानकारी लिइरहेका छन् ।

आर्थिक मामिला तथा योजना, सामाजिक विकास र भौतिक पूर्वाधार विकास मन्त्रालयमा मन्त्री छान्ने कसरत एमालेले गरिरहेको छ । प्रदेश ४ मा माओवादीले २ र एमालेले ५ मन्त्रालय पाउने गरी गठबन्धनले भागबन्डा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment