+
+
Shares

कांग्रेस जोगाउन नेतृत्व परिवर्तन गर्नुपर्छः प्रकाशमान सिंह

रासस रासस
२०७४ फागुन ७ गते १२:०४

७ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसकेको बताएका छन् ।

प्राविधिक विद्यार्थी परिषद् केन्द्रीय समितिले प्रजातन्त्र दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेस र वर्तमान अवस्थामा प्राविधिक विद्यार्थीको भूमिका’ विषयक कार्यक्रममा पार्टी विधि, विधानअनुसार चल्न नसक्दा कमजोर हुँदै गएको बताएका हुन् ।

‘प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको पार्टी कमजोर हुँदै गएको छ, त्यसैले पार्टीलाई जोगाउनका लागि नेतृत्व परिवर्तन आवश्यक छ’, उनले भने ।

पूर्वमहामन्त्री सिंहले एकतन्त्रीय राणा शासनलाई परास्त गरेर प्रजाको शासन स्थापना गर्न कांग्रेसको ठूलो भूमिका रहेको भन्दै कांग्रेसको पुरानो विरासत जोगाउन आवश्यक रहेको बताए ।

उनले पार्टी सभापति र पदाधिकारीहरु विधानअनुसार निर्वाचित भएर आउने तर निर्वाचित भएपछि विधानलाई बेवास्ता गर्ने परिपाटी पार्टीभित्र रहेको भन्दै यसको अन्त्य हुनु जरुरी रहेको उल्लेख गरे । ‘निर्वाचन भएको दुई वर्ष बित्दासमेत पार्टीभित्र पदाधिकारी, विभाग र केन्द्रीय समितिको विस्तार हुन नसक्नु दुःखद कुरा हो, पार्टी विधिअनुसार चल्न नसक्दा निर्वाचनमा पराजित भएको हो ।’ उनले भने ।

पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रजातन्त्र स्थापनाको नेतृत्व गरेको पार्टीको पराजय हुनु प्रजातान्त्रिक पद्धतिकै पराजय भएको बताए । ‘नेविसंघ बलियो भएमात्र कांग्रेस बलियो हुन्छ, पार्टी बलियो हुन भ्रातृसंस्था बलियो हुनुपर्छ ।’ उनले भने ।

पार्टीभित्र सिद्धान्त र आदर्शको राजनीतिक गर्नेभन्दा पनि अवसरवादी राजनीतिले प्रश्रय पाएको उनको भनाइ थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?