Comments Add Comment

प्रदेश समृद्धिका लागि बिषेश सुरक्षा नीति अपनाउँछौंः मन्त्री भण्डारी

११ फागुन, सुर्खेत । प्रदेश ६ का नवनियुक्त आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले शान्ति सुरक्षाबिना समृद्धि सम्भव नभएको भन्दै विशेष किसिमको सुरक्षा नीति अपनाइने बताएका छन् ।

सुर्खेत उद्योग वाणिज्य संघले बुधबार संघको कार्यालयमा आयोजना गरेको शुभकामना तथा सुझाव आदानप्रदानका क्रममा मन्त्री भण्डारीले शान्ति सुरक्षामा कसैसँग सम्झौता नगर्ने दृढता व्यक्त गरे ।

लगानी र व्यवसायी दुबैको सुरक्षाको प्रत्याभूति नभएसम्म लगानी भित्रिन नसक्ने भन्दै मन्त्री भण्डारीले सहकार्यका निजी क्षेत्रले पनि सरकारलाई उचित सुझाव र मार्गनिर्देश दिनुपर्ने औंल्याए ।

समृद्ध र सुरक्षित प्रदेश बनाउने सरकारको पहिलो उद्देश्य रहेको भन्दै मन्त्री भण्डारीले प्रदेशस्तरका सुरक्षा योजना र नीति बनाउन नेपाल प्रहरीका डीआइजीको नेतृत्वमा समिति गठन गरिसकिएको जानकारी दिए ।

चुनौतिको चांगबाट समृद्धिको सम्भावना पहिल्याउनका लागि लगानीमैत्री वातावरण बनाउनु पहिलो शर्त रहेकोमा जोड दिंदै उनले भने, ‘तपाईंहरु साथ दिनुस, प्रदेशको मात्र होइन सिंगो देशकै गरिवी मेटाउने सामथ्र्य हामीसंग छ ।’

यस प्रदेशमा लगानी आकषिर्त गर्नका लागि ठूला लगानीकर्तालाई कर छुट दिनेदेखि मुनाफाको थोरै हिस्सा मात्रै प्रदेश सरकारलाई बुझाए हुने गरी आफूले योजना बनाइरहेको जानकारी पनि उनले दिए ।

अरु कसैको सिको गरेर नभइ आफ्नै मौलिक खाका बनाएर समृद्धिको गन्तब्यमा पुग्ने भन्दै मन्त्री भण्डारीले निजी क्षेत्र पनि यथास्थितिवादी मनस्थितिबाट माथि उठेर सरकारलाई सघाउनुपर्ने बताए ।

कार्यक्रममा संघका अध्यक्ष प्रकाश अधिकारीले अझैपनि बन्द, हड्ताल र चन्दा आतंकबाट व्यवसायीले मुक्ति नपाइरहेको भन्दै आन्तरिक मामिला मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment