Comments Add Comment

एमालेका साथीहरु, माओवादबाट नतर्सनोस् !

एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र मार्गदर्शक सिद्धान्त मार्क्सवाद -लेनिनवाद रहने गरी प्रजातन्त्र दिवसको अवसर पारेर एमाले तथा माओवादी केन्द्रबीच एकता भएको छ । थुप्रै किन्तु परन्तुका बावजुद यो एकता ढीलो-चाँडो हुनु अपरिहार्य थियो । किनकि माओवादीको एक्काइसौं शताब्दीको जनवाद (एशज) र एमालेको जनताको बहुदलीय जनवाद (जबज)को दस्तावेजमा सारतः कुनै फरक थिएन/ छैन ।

कम्युनिस्ट पार्टीमा आन्तरिक जनवादलाई सुदृढ गर्ने विषय नै दुवै दस्तावेजको प्रस्थान बिन्दु हो । दुवैले शान्तिपूर्ण संक्रमण अर्थात संसदीय मार्गबाट जनवाद र समाजवादमा पुग्ने लक्ष्यलाई स्वीकार गरेका छन् यद्यपि जबजको दस्तावेज यसबारेमा जति प्रष्ट छ एशजको दस्तावेज त्यति प्रष्ट छैन ।

समाजवाद दुवैको साझा गन्तव्य भएको र त्यो हासिल गर्ने विधि पनि संसदीय प्रतिस्पर्धा भएको दुवै पक्षले स्वीकार गरेपछि कम्युनिस्ट पार्टीका नाममा छुट्टा-छुट्टै पसल थापेर बस्नुको कुनै औचित्य थिएन । यस हिसाबले हेर्दा एकता एउटा स्वातगयोग्य कदम हो ।

एकताको आधार मानिएको सातबुँदे लिखतले एकताको अपरिहार्यतालाई अब वैधानिकता प्रदान गरेको छ । तर, भाषा वाक्यविन्यास, शब्द चयन, हस्ताक्षरकर्ताहरुको संख्या आदिका हिसाबले उपरोक्त दस्तावेजले केही महत्वपूर्ण प्रश्नहरु खडा गरेको छ ।

पहिलो, एकताको लिखतमा दुवै पार्टीको इतिहासबारे संक्षेपमा उल्लेख छैन । झापा विद्राह देखि १० वर्षे जनयुद्धबारे दस्तावेज मौन छ । यो कुरा ठिकै हुन सक्ला कि एमालेले झापा विद्रोहलाई उग्र वामपन्थी भट्काव भनेर धेरै पहिले खारेज गरेको हुनाले सम्भवतः जनयुद्धका बारेमा पनि एमालेका साथीहरुमा त्यस्तै धारणा होला ।

एमालेका साथीहरुले बुझ्नु पर्दछ कि चीन अब ‘ग्याङ अफ फोर’ वा देंग सियाओ पिंगको पालाको चीन रहेन । त्यसैले माओवादबाट तर्सिनुपर्दैन

तर, नेपाली समाजलाई र सिंगो राष्ट्रका रुपमा नेपाललाई यहांसम्म ल्याउन लखन थापा, भीमदत्त पन्त विद्राह हुदै झापा विद्रोह, जनयुद्ध र अन्य अनेकौ सशस्त्र र शान्तिपूर्ण आन्दोलनहरुको भूमिका रहेकोमा कसैले इन्कार गर्न सक्तैन । जनयुद्धको जगविना गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता आदि सम्भव थिएन ।

के जनयुद्धको जगविना समाजमा किनारीकृत भएका कृष्णी थारु र त्रिलोचन भट्ट लगायतका हजारौं नागरिकहरु वडादेखि प्रदेश हुँदै केन्द्रका नीति निर्माण हुने ठाउँमा पुग्न सक्थे ? के झापा विद्रोहको जगबिना ३६ सालको विद्यार्थी आन्दोलन र ४६ सालको ऐतिहासिक जनआन्दोलनको कल्पना गर्न सकिन्थ्यो ? यी यावत् विषयहरुलाई लिखतमा खदिलो रुपमा समेटनु पर्दथ्यो । यति महत्वपूर्ण विषयहरुलाई लिखतमा नसमेटिनु दुर्भाग्यपूर्ण हो । इतिहासको सम्मान गर्दा कसैलाई पनि क्षति हुँदैन ।

दोस्रो, एशजको मुद्दालाई बहसमा लग्ने भनेर ४ नम्बर बुँदामा उल्लेख भए पनि ३ नम्बर बुँदामा उल्लेख भएको विषयवस्तुले स्वतः बहसको ढोका बन्द गरिदिएको छ । ३ नम्बर बुँदामा एमालेको जबजलाई श्रेष्ठ भएको अर्थ दिने गरी अनुच्छेदको रचना गरिएको छ । त्यसमा भनिएको छ- नेकपा एमालेले अपनाउँदै आएको जनताको बहुदलीय जनवादअन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा मार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा माओवादी केन्द्रको पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।

यसबाट एक्काइसौं शताब्दीको जनवादको विषय बहसबाट आफै हट्न पुगेको छ ।

माओवाद भनेको माक्र्सवाद लेनिनवाद प्रवर्गभित्र पर्ने पदावली हो । यो स्वयं एउटा विचार वा सिद्धान्तको अर्थ दिने धेरै महत्वपूर्ण पदावली हो । जबस एक्काइसाैं शताब्दीको जनवाद र जबज कम्युनिस्ट पार्टीको कार्यनीति वा कार्यक्रमसित जोडिएको पदावलीहरु हुन् । तसर्थ माओवाद, जबज र एशजलाई घालमेल गरेर महाधिवेशनसम्म बहसमा लग्ने भन्ने विषय आफैंमा अन्तरविरोधपूर्ण छ । यो ब्रह्माण्डका सबै विषयवस्तुहरु चाहे ती भौतिक हुन् वा आत्मिक हुन ती सबै बहसमै छन् । त्यो बहसलाई कसैले रोक्न सक्तैन ।

नयाँ बनेको पार्टीले माओवाद, एशज वा जबजको बहस रोकिदिए पनि प्राज्ञिक र राजनीतिक बहस जहिले पनि जारी रहन्छ । माओवादलाई संसारका विभिन्न कम्युनिस्ट पार्टीहरुले खारेज गरे पनि एकपटक त्याज्य मानेको चीनमा फेरि माओवादबारे त्यहाँका कम्युनिस्ट पार्टी निकटका सञ्चार माध्यमहरुमा घनीभूत बहस शुरु भएको छ ।

माओले चीनलाई खुट्टामा उभिन सिकाए, देग शियाओ पिगले दौडिन सिकाए भन्ने सिंगो चीनिया राष्टको र कम्युनिस्ट पार्टीको ट्याग लाइन बनेको छ । राष्ट्रपति सी जिनपिङले माओलाई नयाँ शीराबाट पुनःस्थापित गर्ने प्रयास गर्दैछन् । माओका योगदानका विषयमा फेरि त्यहाँ सम्पादकीयहरु लेखिन थालेका छन् । विश्वकै महाशक्ति बन्दै गरेको चीनमा आइरहेको यसप्रकारको “पुनर्जागरण”बाट हामीले पनि केही अवश्य सिक्नु पर्दछ ।

एमालेका साथीहरुले बुझ्नु पर्दछ कि चीन अब ‘ग्याङ अफ फोर’ वा देंग सियाओ पिंगको पालाको चीन रहेन । त्यसैले माओवादबाट तर्सिनुपर्दैन । अन्तर्राष्ट्रिय समुदायले स्वीकार गर्दैन भनेर डराउनु भएको छ भने त्यो डर र पीर एमालेका साथीहरुले मनबाट निकालिदिनु पर्दछ ।

एउटै कार्यनीति र कार्यदिशा भैसकेपछि एकता हुनु नितान्त स्वाभाविक छ । नेपाली जनताले लामो समयदेखि कम्युनिस्टहरु एकै ठाउमा आउनु पर्दछ भनेर पार्टी नेताहरुलाई घचघच्याइरहेका थिए । हालै सम्पन्न निर्वाचनमा जनताले यसको शानदार पुष्टि पनि गरे ।

नेपालमा वैदेशिक शक्तिकेन्द्रहरु कम्युनिस्टहरुलाई रोक्न राणाशासनको अन्तिम कालखण्डदेखि विशेषरुपले प्रयासरत देखिन्छन् ।

राणाशासन विरुद्ध नेपाली कांग्रेसले खुल्ला सशस्त्र लडाइँ लडे पनि कम्युनिस्ट पार्टी भने भूमिगत अवस्थामा थियो । किनकि, ५० को दशकमा भारत लगायतका पश्चिमा शक्तिहरु राणाकालको अन्त पश्चात नेपालमा कम्युनिस्टहरुको सरकार नबनोस् भन्नेमा विशेष सचेत थिए । तर, विभिन्न षड्यन्त्रहरुका बावजुद नेपालमा कम्युनिस्हरुको विस्तार र लाोकपि्रयतालाई उनीहरु रोक्न असफल भए ।

छिमेकी मुलुक भारत, पाकिस्तान बंगलादेश आदिमा धर्मान्धताको जगमा शासनसत्ता र सरकारहरु बनिरहेको अवस्थामा नेपालमा कम्युनिस्ट, वाम र प्रगतिशील शक्तिहरुको बोलवाला रहनु र समावेशी, र उदार राष्ट्रका रुपमा नेपालको पहिचान बन्नु धेरै महत्वपूर्ण परिघटना हो । यसै कारणले नेपाल विश्वकै सामाजिक धार्मिक र सांस्कृतिक सहिष्णुताको बेजोड संगम बन्न सफल रहेको छ ।

धार्मिक रुपमा सहिष्णु, उदार र प्रगतिशील चरित्रको नेपाल राष्ट्रको निर्माणमा कम्युनिस्ट पार्टी र यस वरपरको जनताको विशाल तप्काको ठूलो भूमिका छ । तसर्थ नेपाल राष्ट्रको एकता, भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई दिगो बनाउने हिसाबले यो एकता एउटा युगान्तकारी कदम हो ।

यो एकताबाट स्थिरता र समृद्धिको जग निर्माण हुने प्रक्रिया आरम्भ भएको छ । त्यसैले पनि नेपालको राष्ट्रियता बलियो भएको देख्न चाहने, नेपाललाई स्थिर र समृद्ध देख्न चाहने सबैले यो एकतालाई स्वागत गर्नै पर्दछ ।

(पन्त नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment