+
+
Shares

प्रकाशमानले भने- देउवाजी सबैको सभापति बन्नु भएन, कांग्रेसको भविष्य संकटमा

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ११ गते ११:४८

११ फागुन, सिन्धुली । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवा गुटको मात्रै सभापति बनेको आरोप लगाएका छन् । देउवाले पार्टीलाई विधि-विधानअनुसार चलाउनुपर्नेमा गुटगत आधारमा चलाएको सिंहको आरोप छ ।

नेपाली कांग्रेस सिन्धुली र नेपाल प्रेस युनियनले शुक्रबार आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले भने, ‘सभापति शेरबहादुर देउवाजी सबैको सभापति बन्न सक्नु भएन । गुटको मात्रै सभापति बन्नुभयो ।’

नेताहरूको ‘मोनोपोली’मा कांग्रेसलाई चलाइएको उनको आरोप छ । आफूले कांग्रेसलाई सुधार गरेर लैजानुपर्छ भनेर दबाव दिँदै आएको उनले जानकारी दिए । कांग्रेसलाई सुधार्नुपर्छ भनेर भन्दा उल्टै आफ्नो आलोचना हुने गरेको गुनासो उनले गरे । उनले भने, ‘प्रकाशमानले सधैं शेरबहादुरको विरोध गर्छ भन्छन् । काम नगरेपछि आलोचना त हुन्छ नि ।’

आफूले कांग्रेसलाई सुधार्न दबाव दिइरहेको भन्दै उनले कांग्रेस अझै पनि नसुध्रिए सबैको भविष्य संकटमा पर्ने खतरा औंल्याए । ‘कांग्रेस राम्रो भयो भने सबैको भविष्य राम्रो हुन्छ । पार्टीको भविष्य भएन भने हाम्रो पनि भविष्य रहँदैन’, कांग्रेस पूर्वमहामन्त्री सिंहले भने, ‘कांग्रेसलाई जोगाउन लाग्नुपर्छ ।’

पार्टी सभापति देउवाले जिम्मेवारी राम्रोसँग बहन गर्न नसकेको आरोप लगाउँदै उनले प्रश्न गरे, ‘तरुण दल, महिला संघ, नेविसंघ कहाँ छ कहाँ ?’

नेता सिंहले भने, ‘शेरबहादुर देउवाले अवसर पाउनु भयो । उहाँले जिम्मेवारीअनुसार काम गर्न सक्नु भएन । दुई वर्षसम्म कांग्रेसलाई गतिशील बनाउन नसक्दा निर्वाचनमा हार्नुपरेको छ । जिल्लाहरूमा प्रशिक्षणको माग छ । त्यति सानो काम पनि सभापतिले गराउन सक्नु भएन ।’

स्थानीय चुनावमा प्रचण्डकी छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरमा जिताउन देउवाले कांग्रेस उम्मेदवारलाई जबरजस्ती पछि हटाएको प्रसंग निकाल्दै उनले यसबाट कांग्रेसका नेता-कार्यकर्तामा झन् निराशा बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?