Comments Add Comment

मुख्यमन्त्रीले जब नाली सफा गर्न थाले…

१२ फागुन, सुर्खेत । ठूलाबडाले बसीबसी अह्राउने र सानाले काम गर्ने नेपाली समाजको परम्परा जस्तै छ । यही परम्परा तोड्ने उदघोषसहित प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफै सडक सफाइमा जुटेका छन् ।

उनी शनिबार अस्थायी राजधानी सुर्खेत बजारको सफाइ कार्यक्रममा सहभागी भए । मुख्यमन्त्री शाहीले सडकका नाली सफा गरिरहेको दृष्यलाई पत्रकारले मात्रै होइन, सर्वसाधारणले समेत आफ्नो मोबाइल तथा क्यामरामा कैद गरे ।

निलो ट्र्याकसुट, कालो छालाको जुत्ता र मास्क लगाएर मुख्यमन्त्री शाही सडक सफाइ कार्यक्रममा सहभागी भएका थिए । शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म सरसफाइमा सक्रिय भएका शाहीले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै भने, ‘ठूलाले हेर्ने, सानाले काम गर्ने गर्नु हुँदैन ।’

मंगलगढी चोकबाट वीरेन्द्र चोकसम्म सफाइ कार्यक्रम गरिएको थियो । कार्यक्रममा मन्त्री, सचिव र सुरक्षाकर्मीको समेत सहभागी थिए । मुख्यमन्त्री शाहीले अब हरेक महिना दुई दिन आफू बजार क्षेत्रको सरसफाइमा सहभागी हुने जानकारी पनि दिए ।

वीरेन्द्रनगर नगरपालिकाले बेलाबेलामा बजार क्षेत्रमा सरसफाइ कार्यक्रम आयोजनामा गर्दछ । तर मुख्यमन्त्री शाही सरसफाइमा सहभागी भएको यो पहिलोपटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment