२० फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा आफूलाई समर्थन गरे रामचन्द्र पौडेल समूहलाई उपनेता दिने प्रस्ताव राखेका छन् । तर, पौडेल समूहले देउवाको प्रस्ताव अस्वीकार गरेका छन् ।
कांग्रेस संसदीय दलको नेताका लागि आइतबार साँझ उम्मेदवारी दर्ताको समय तोकिएको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंह भिड्ने सभापति देउवासँग चुनाव लड्ने तयारीमा छन् ।
देउवाले आफ्नो नाममा सहमति जुटाउन गोपालमान श्रेष्ठ र रमेश लेखकलाई पौडेल कहाँ पठाएका थिए ।
‘सभापतिसँग सल्लाह गरेर म गएको थिएँ’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘मैले दलको नेता सभापतिलाई बनाऔं । उपनेता तपाईहरु छान्नुस् भनेको छु ।’
प्रमुख सचेतक, सचेतकका साथै कार्यसमिति सदस्य पनि मिलाएर चयन गर्ने उनको प्रस्ताव थियो ।
तर, पौडेलले दलको नेता बन्ने निर्णय पुनर्विचार गर्न सभापति देउवालाई नै आग्रह गरेका छन् ।
पौडेल समूहले महामन्त्री शशांक कोइरालालाई दलको नेतामा समर्थन गर्न प्रस्ताव गरेको छ । चुनाव हुने अवस्थामा प्रकाशमान सिंहले उम्मेदवारी दिने यो समूहको निर्णय छ ।
देउवा समूहका नेता बालकृष्ण खाँडले सहमतिको प्रयास भए पनि सफल नभएको बताएका छन् । उनका अनुसार सभापति देउवाले दलको नेतामा उम्मेदवारी दिने छन् ।
चुनाव भएको अवस्थामा उपनेता, सचेतकहरु दिन नसकिने देउवा समूहको चेतावनी छ ।
पौडेल समूहका एक नेता कल्याण गुरुङले भने शशांकलाई दलको नेता छाड्न तयार भए अरु पद सबै देउवा पक्षका नेतालाई दिन सकिने बताएका छन् ।
प्रतिक्रिया 4