Comments Add Comment

विश्वकप छनाेटः बलरहरु नचल्दा जिम्बाब्वेसँग हार्‍यो नेपाल

२० फागुन, काठमाडौं । जिम्बाब्वेका ब्याट्सम्यानका सामू बलरहरु निरीह हुँदा विश्वकप छनोटको पहिलो खेलमा नेपाल ११६ रनले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ३८१ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६४ रन मात्र बनाउन सक्यो ।

ब्याटिङमा औषत प्रदर्शन

नेपालको सुरुवात राम्रो हुन सकेन । ओपनर दिलिप नाथ मात्र २ रनमा आउट भए, जतिबेला टिमको स्कोर ९ रन थियो । कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि ५४ रनको साझेदारी गरे ।

खड्का ४० रन बनाएर आउट भए । दिपेन्द्र सिंह ऐरीले तेस्रो विकेटका लागि ज्ञानेन्द्रसँग ३५ रनको साझेदारी गरे । ऐरी व्यक्तिगत २३ रनमा आउट भए ।

नेपालले थप १२ रन जोड्दा ज्ञानेन्द्र पनि आउट भए । उनले व्यक्तिगत ३२ रन जोडे ।

पाँचौं विकेटका लागि शेरद भेषावकर र आरिफ शेखले पारी सम्हाल्ने प्रयास गरे । ७३ रनको साझेदारी गरेका शरद अर्धशतक (५२ रन) बनाएर आउट भए ।

रोहितकुमार पौडेलले आरिफसँग ५९ रनको साझेदारी गरे । रोहित ३० रनमा आउट भए । नेपालले थप चार रन जोड्दा आरिफ पनि अर्धशतक बनाएर पभेलियन फर्किए । बसन्त रेग्मीले २ रन जोडे । सोमपाल कामी १२ र सन्दिप लामिछाने ५ रनमा अविजित रहे ।

नेपालले टेष्ट राष्ट्रसुँग ५० ओभर पुरै खेल्नु र २६४ रन बनाउन सकारात्मक हो तर, ३८० रनको विशाल लक्ष्य पछ्याएको टोलीका लागि यो पर्याप्त रहेन ।

बलिङमा कमजोर

विश्वकप छनोट खेल्दै गर्दा नेपाली टोलीको मुख्य स्ट्रेन्थका रुपमा बलिङलाई मानिएको थियो । तर, जिम्बाब्वेका ब्याट्सम्यानहरुका सामू नेपाल बलर निरिह देखिए ।

टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ५० ओभरमा ६ विकेट गुमाएर ३८० रन बनायो । उसका लागि ब्रेन्डन डेलर र सिकन्दर राजाले नेपालविरुद्ध शतक हाने ।

जिम्बाबेले बनाएको ३८० रन यो २००९ बाट सुरु भएको विश्वकप छनोटमा कुनै पनि टोलीले पाएको ठूलो स्कोर हो । २००९ मा यूएईले डेनमार्कविरुद्ध ३८९ रन बनाएको थियो ।

यसअघि विश्वकप छनोटका लागि हुने प्रतियोगिताको नाम आईसीसी ट्रफी भनिन्थ्यो ।

घरेलु टोलीको सुरुवात राम्रो रहृयो । पहिलो विकेटका लागि केफा झुवाओ र सोलेमान मियरले ७७ रनको साझेदारी गरे । झुवाओ व्यक्तिगत ४१ रनमा आउट भए ।

हृयामल्टन मास्काजाले १७ रनमा आउट भए । तेस्रो विकेटका रुपमा मियर आउट हुँदा जिम्बाब्वेको स्कोर ११३ रन थियो । तर, चौथो नम्बरमा आएका ब्रेन्डल टेलरले क्रेज एर्विनसँग मिलेर ७७ रनको साझेदारी गरे । एर्विन ३४ रनमा आउट हुँदा टिमको स्कोर २०० रन दियो र १९ ओभर खेल बाँकी थियो ।

तर, सिकन्दर राजाले टेलरसँग आक्रकम पारी खेले । दुबैले १७२ रनको साझेदारी गरे । ४९ औं ओभरमा सोमपालले दुबैको विकेट लिए, जतिबेला दुबैले शतक हानिसकेका थिए । सिकन्दर राजाले ८० बलमा १२३ रन बनाए भने टेलरले १०० रन बनाए ।

नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले २/२ विकेट लिए भने सन्दिप लामिछाने र ललित नारायण राजवंशीले एकएक विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment