Comments Add Comment

मोरङमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम स्थगित

काटेका रुखहरु पनि बिक्री वितरण गर्न नपाइने

४ चैत, विराटनगर । मोरङका विभिन्न वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको नामम भइरहेको रुख कटान स्थगित भएको छ । मुख्यमन्त्री शेरधन राईको निर्देशनपछि रुख कटान स्थगित भएको हो ।

प्रदेश सरकारले रुख कटानको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्ने समेत बताएको छ ।

मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आइतबार जिल्ला वन अधिकृत डा. विनोदप्रसाद देवकोटा, वन कर्मचारी, सामुदायिक वनका पदाधिकारीलाई बोलाएर मुख्यमन्त्री राईले कुनै पनि वाहनामा रुख कटान नगर्न निर्देशन दिएका हुन् ।

उनले मलुक संघीयतामा गइसकेको अवस्थामा तीन तहको सरकार निर्माण भएको भन्दै प्रकृतिक स्रोत साधनको बाँडफाँटको विषय टुंगो नलागेकाले पुरानो नीति नियममा टेकेर गरिएका निर्णय रोक्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री राईले यस विषयमा केन्द्रीय सरकारसंग छलफल गरी मात्र निर्णय लिने बताएका छन् ।

‘मैले सम्बन्धित कार्यालयका कर्मचारी र सामुदायिक वनका पदाधिकारीहरुलाई स्पष्ट निर्देशन दिएको छु’, उनले भने ‘रुख कटान पुरानो नीति नियममा टेकेर गरिएको हो, त्यो समय सापेक्ष हुन सक्दैन तसर्थ यसलाई रिभ्यु गर्न आवश्यक छ ।’

मुख्यमन्त्री राईले वैज्ञानिक वन व्यवस्थापनको नाममा रुख कटान गर्ने र बिक्रीका लागि टेण्डर आहृवानमा अनियमितताको कुरा बाहरि आएकाले यस विषयमा छानबिन गरी कारबाही गर्ने पनि बताएका छन् ।

काटिसकेका रुखहरु सुरक्षित ठाउँमा राख्न र बिक्री वितरण नगर्न पनि मुख्यमन्त्री राईले निर्देशन दिएका छन् ।

केही दिनयता वैज्ञानिक वन व्यवस्थापनको नाममा उत्तरी मोरङको चारकोसे जंगल रुख फडानी भइरहेका समाचार सार्वजनिक भएपछि प्रदेश सरकारले चासो राखेको हो ।

मुख्यमन्त्री राईले आइतबार जिल्ला वन कार्यालयमा कर्मचारी र सम्बन्धित सामुदायिक वन कार्यालयका पदाधिकारीलाई मुख्य मन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रुख कटानका बारेमा स्पष्टीकरणका लागि बोलाएका थिए ।

मुख्यमन्त्रीको निर्देशनपछि प्रमुखसचिव यादव कोइरालाले त्यस बारेमा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यसँग जानकारी लिएका थिए ।

आचार्यले पनि वन फडानीबारे जिल्ला वन अधिकृत डा. विनोद देवकोटासँग त्यसबारे जानकारी लिएका थिए ।

जिल्ला वन कार्यालयले भने सरकारको स्वीकृत कार्यक्रम र रेडबुकमा परेको योजना अनुसार वैज्ञानिक वन व्यवस्थापनको काम भइरहेको बताएका थिए ।

जिल्ला वन अधिकृत डा. विनोद देवकोटाले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अन्तर्गत तोकिएको मापदण्डभित्र रुख कटान भइरहेको दावी गरेका छन् ।

जिल्ला वन कार्यालयका अनुसार हाल मोरङका २० वटा सामुदायिक वन र ४ वटा साझेदारी वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment