Comments Add Comment

महत्वपूर्ण कानून निर्माण पहिलो प्राथमिकताः सभामुख महरा

६ चैत, काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले महत्वपूर्ण कानूनहरु बनाउने कामलाई पहिलो प्राथमिकता दिइएको बताएका छन् ।

दाङको घोराही उपमहानगरपालिकाले मंगलबार आफ्नै कार्यकक्षमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै सभामुख महराले वैज्ञानिक ढंगको कानून निर्माणमा आफू जिम्मेवार रहेको बताए ।

स्थानीय तहलाई सहज ढंगले अघि बढ्ने गरी प्रदेश र संघले तयार गर्नुपर्ने कानूनहरु निर्माणमा प्राथमिकता दिने गरी काम गर्दै यो वर्षलाईलाई नयाँ कानूनको अभ्यासका रुपमा लिने र बैशाख १५ पछि बजेटसँगै अन्य ऐन कानूनहरु निर्माणमा केन्दि्रत हुने बताए ।

दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका सभामुख महराले दङगाली जनताका लागि आफ्नो जनप्रतिनिधि भूमिकामा कतै पनि कमी हुन नदिने समेत बताएका छन् ।

फेरिएको जिम्मेवारीसँगै सभामुखको हैसियतले अब आफू साझा व्यक्तित्व भएको भन्दै उनले व्यवहारबाटै साझा व्यक्तित्व देखाउने बताए । ‘अब म कुनै दलको भूमिकामा छैन’, सभामुख महराले भने, ‘म सबैलाई समान दृष्टिकोणबाट व्यवहार गर्नेछु, कुनै दलविशेषका पक्षमा गतिविधि हुने छैनन् ।’

सभामुख महराले सांसदमा निर्वाचित हुनुपूर्ब घोषणा गरेका प्रतिबद्धताहरु पूरा गर्न आफूले निरन्तर पहल गरिरहेको बताए ।

समग्र दाङको बिकासमा आफुले गरेका प्रतिबद्धताहरु पूरा गर्नका लागि निरन्तर पहल गरिरहेको भन्दै उनले विकास निर्माणका जरुरी आवश्यकताहरुलाई प्राथमिकताका आधारमा एकीकृत गरेर स्थानीय तहबाट योजनाहरु थप गरेर ल्याउन आग्रह गरे ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सभामुख महरालाई खादा र सम्मानपत्रसहित सम्मान गरेका थिए ।

यसैबीच मंगलबार नै दाङ जिल्ला उद्योग वाणिज्य संघले पनि घोराहीमा छुट्टै कार्यक्रमको आयोजना गरी सभामुख कृष्णबहादुर महरालाई स्वागत सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment