Comments Add Comment

राष्ट्र हितविरुद्ध गए सरकारको प्रतिवाद गर्छौं : कमल थापा

८ चैत, काभ्रे । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार राष्ट्रिय हित प्रतिकुल चले कडा प्रतिवादमा उत्रने चेतावनी दिएका छन् । अध्यक्ष थापाले सरकारका गतिविधि राष्ट्रिय हितविरुद्ध भए सडक संघर्षमा उत्रन बाध्य हुने पनि स्पष्ट पारे ।

आफ्नो पार्टी मुलुकको वैकल्पिक शक्ति भएको दावी गर्दै सोही अनुसार सशक्त र गतिशील भएर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई पनि निर्देशन दिए ।

बिहीबार काभ्रेको धुलीखेलमा सुरु भएको पार्टीको उच्चस्तरीय अनुशिक्षण कार्यक्रमको उदघाटन गर्दै अध्यक्ष थापाले निर्वाचनमा पराजित भए पनि निराश नभई उच्च मनोवलका साथ देश र जनताको सेवामा लाग्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

अध्यक्ष थापाले केही वर्ष भित्रै पार्टीलाई मुलुकको अग्रणी शक्तिको रुपमा स्थापित गराउने दावी समेत गरे । उनले निर्वाचनमा भएको हारबाट पाठ सिकेर पार्टीलाई ५ वर्षभित्र अग्रणी शक्तिको रुपमा स्थापित गराउने गरी अभियान नै सञ्चालन गर्ने योजना अघि सारे ।

अध्यक्ष थापाले गणतन्त्रको नाममा मुलुकमा राष्ट्रिय एकता संकटमा परेको भन्दै चिन्ता पनि व्यक्त गरे । दुई दिनसम्म चल्ने अनुशिक्षण कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय कार्य सम्पादन समितिका सदस्यहरु र पार्टीका भातृ संगठनका प्रमुखहरु सहभागी भएका छन् ।

अनुशिक्षण कार्यक्रममा निर्वाचनमा हार व्यहोर्नुपर्नाको कारणको खोजी गर्दै पार्टीको भावी रणनीति तय गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment