Comments Add Comment

छाडा गाउनेलाई आस्था राउतको प्रहार, ज्योति मगरलाई चोट

यस्तो छ दुवै गायिकाको प्रष्टिकरण

नेपाली संगीतमा गायिका आस्था राउत र ज्योति मगरका फरक–फरक छवि छन् । आस्था शालीनता र बौद्धिकताका लागि चिनिन्छिन् भने ज्योति छाडापन र उछृङ्खलताका लागि चर्चित छिन् । देश तथा विदेशमा हुने कार्यक्रमहरुमा दुवै गायिकाको राम्रै डिमान्ड छ ।

हालै आस्थाले फेसबुकमा एउटा गम्भीर मुद्दा उठाइन् । धारावाहिक रुपमा स्टाटस लेखेर उनले मेला–महोत्सवमा देखिएको अश्लिलतामाथि प्रहार गरिन् । आस्थाले पहिलो स्टाटस लेखेकी थिइन्, ‘कति स्वरका धनी चेलीहरु घरमै बस्नु पर्‍याछ, अश्लिल कुराहरु र नांगो नाच गर्नेहरु महोत्सवहरुमा बिकेका छन् ।’

त्यसपछि उनले अर्को स्टाटस लेखिन्, ‘कला र चर्तिकला छुट्याउने संगीत निकायको सेन्सर बोर्ड कहाँ छ ? गुहार मागेको अवस्था ।’ आस्थाले आफ्ना स्टाटसमा कसैको नाम उल्लेख त गरेकी थिइनन्, तर चोट पर्‍यो ज्योति मगरलाई ।

आस्थाले आफूजस्ता गायिकाहरुलाई नै दनक दिएको बुझेर ज्योतिले फेसबुकमै लामो जवाफ फर्काइन् । स्टाटसमा उनले महिलाले आफ्नो इच्छाअनुसार लगाउन, खान, हिँड्न पाउनुपर्ने उल्लेख गरेकी छिन् । साथै कपडा र संगीतको सम्बन्ध नहुने भन्दै कपडाको नाप र लम्बाइको निर्णय व्यक्तिको स्वतन्त्रताभित्र पर्ने तर्क गरेकी छिन् ।

ज्योतिको जवाफी स्टाटस आएपछि आस्थाले फेरि लेखिन्, ‘चोरको खुट्टा काट्भन्दा उचाल्यौ प्यारी, के गर्छौं हेर, गलतलाई गलत र सहीलाई सही त भन्नैपर्‍यो । कसैको वास्तविक जीवनमा मेल खाएमा त्यो संयोग मात्रै हुनेछ है, दुख नमाने । उही तिम्रो शुभचिन्तक ।’

दुवै गायिकाहरु एक–अर्कासँग राम्ररी परिचित छन् । उनीहरुले दुईपटक एउटै स्टेजमा गाएका पनि छन् । तर पछिल्लो समयमा ज्योतीले गाउने कार्यक्रममा आस्था सकभर सहभागी हुन्नन् । हामीले वादविवादमा उत्रेका दुवै गायिकासँग यस प्रकरणमा कुराकानी गरेका छौं । दुवैले आ–आफ्नो विचारको लामो व्याख्यान गरे । प्रस्तुत छ कुराकानीको संक्षिप्त अंश :

आस्था राउतः अश्लिल गायक–गायिकाले समाज बिगारे

तपाईंले कसलाई टार्गेट गरेर स्टाटस लेख्नुभएको हो ?

मैले कसैलाई मेन्सन गरेकी छैन । यस्ता गायक–गायिका बग्रेल्ती छन् । उनीहरुको ठूलै झुण्ड छ ।

ज्योती मगरले दिएको जवाफ कस्तो लाग्यो ?

मैले उनलाई मात्रै इ‌ंगित गरेको थिइनँ । तर चोरको खुट्टा काट् भन्दा खुट्टा उचालेझैं गरिन् । यमसा मेरो भन्नु केही छैन ।

यो विषयमा किन बोल्न आवश्यक ठान्नुभयो ?

अति नै भयो नि त । तपाईं आफैं भन्नुस त, गाउँ–गाउँमा हुने मेला–महोत्सवमा युवाहरु मात्रै आएका हुँदैनन् । बालकदेखि वृद्धसम्म आएका हुन्छन् । स्टेजमा गायिकाले छाडा कुरा गर्दा, शरीरका गोप्य अंग देखाउँदा उनीहरुमा कस्तो असर पर्छ ? बच्चाहरुले के सिक्छन् ? बृद्धबृद्धताहरुले के सोच्छन् । महिला दिदीबहिनीहरुलाई कस्तो लाग्छ ? महिला शशक्तिकरण भनेको नांगो नाच देखाउनु हो त ? उनीहरुले गर्दा हामीजस्ता गायक–गायिकालाई पनि अप्ठेरो पर्ने स्थिति आयो । त्यसैले मुख खोलेँ ।

तपाईंले स्टेजमा आफ्नो डिमान्ड कम भएर अरुमाथि तुष पोखेको त होइन ?

कसले भन्यो स्टेजमा मेरो डिमान्ड कम भयो भनेर ? म अहिले पनि उत्तिकै व्यस्त छु ,। बढी डिमान्ड हुने गायिकाभित्रै पर्छु । तर, म जहाँ पायो त्यहाँ गाउँदिन । टिममा अरु कस्ता गायिकाहरु छन् भन्ने हेरेर मात्रै निर्णय लिन्छु । जो पायो त्यहीसँग स्टेज सेयर गर्दिनँ । देखाउने नै हो भने त मेरो ज्यान पनि कम छैन नि ।

मलाई आफूलाई अफर आएको आधा गीत पनि गाएको छैन । म शब्द–शब्द केलाएर मात्रै गीत गाउँछु । छाडा र द्विअर्थी शब्द भएका गीतहरु ठाडै रिजेक्ट गरिदिन्छु । शब्द चित्त नबुझेरै थुप्रै आइटम गीतहरु गाइनँ । म हिट हुनकै लागि गाउने सोच राख्दिनँ ।

तपाईंको आरोप महिला कलाकारप्रति मात्रै कि पुरुषप्रति पनि हो ?

दुवैलाई हो । महिलामा विकृति बढी छ । तर, पुरुष पनि कम छैनन् । अहिले आएका दोहोरी गीतहरु कतिपय सुन्नै नसकिने छन् । धेरै दोहोरी गीत सेक्स ओरियन्टेड हुन्छन् । लोक दोहोरी भनेको त हाम्रो संस्कृति पो हो त । यसलाई पनि विकृत पार्‍यौं भने हामीसँग के रह्यो ?

गायिकाले स्टेजमा गाउँदा लगाउने लुगामा पनि तपाईंको आपत्ति हो ?

गायिकाले स्टेजमा गुन्यूचोली नै लगाएर गाउनुपर्छ भन्ने मेरो मान्यता होइन । तर, उनीहरुले लगाएको लुगा समाजलाई पाच्य हुनुपर्छ । गायिकाहरुले आफ्नो गायन कला पो देखाउने हो, स्तन, तिघ्रा देखाउन किन पर्‍यो ?

यो विकृतिको समाधान के हुन सक्छ त ?

अधिकांश महोत्सवहरु उद्योग–वाणिज्य संघहरुले गरेका हुन्छन् । अहिले उद्योग–वाणिज्य महासंघको नेतृत्वमा महिला हुनुहुन्छ सायद । उहाँले पहलकदमी लिनुपर्छ । समाज विगार्ने खालका कलाकारहरुलाई प्रश्रय दिन छोड्नुपर्छ ।

महोत्सव भनेको समाज बनाउनलाई हो बिगार्नलाई होइन । साथै, अब संगीतमा पनि सेन्सरबोर्ड आवश्यक भएको छ । शब्दहरुको मूल्यांकन गरेर मात्रै रेकर्ड गर्न अनुमति दिनुपर्छ । अर्को कुरा, कलाकारहरुको पनि ग्रेडिङ हुनुपर्‍यो । छाडा गीत गाउनेहरु र अरु कलाकारहरुलाई एउटै कसीमा राखिनु भएन । यो काम सरकारले गर्नुपर्‍यो ।

ज्योति मगर : द्विअर्थि कुरा त बोल्नैपर्‍यो नि !

आस्था राउतले स्टाटसमा तपार्इंको नाम त लिनुभएको थिएन, तर तपाईं किन बुरुक्क उफ्रिनुभयो ?

म उफ्रिएको होइन, आफूलाई सभ्य भनाउँदाहरुलाई जवाफ दिएको हो । मैले पनि उनको नाम लिएको छैन ।

तर, तपाईंजस्ता गायिकाहरुले समाजमा विकृति फैलाइरहनु भएको छ भन्ने सोच्नेहरु त अरु पनि धेरै छन् नि ?

केलाई विकृति भन्ने ? हामी आफ्नो प्याट्रनमा गाउँछौं, उनीहरु आफ्नो प्याट्रनमा गाउँछिन् । हाम्रो प्याट्रन चैं विकृति उनको चैं संस्कृति ?

अर्को कुरा, हामी गायिकाहरुलाई मात्र किन आरोप लाग्छ ? पुरुषहरु कम छाडा छन् ? उनीहरुले गाएका गीत सुन्नुभएको छ ? हाल्ने, ठोक्ने, झार्ने जस्ता कुराहरु हुन्छन् । हामीले त कम्तीमा दोहोरो अर्थ लाग्ने शब्दहरु बोल्छौं, उहाँहरु त ठाडै बोल्नुहुन्छ । उहाँहरुले कम्मरमाथि लुगा फुकालेर गाउँदा कुनै प्रश्न उठ्दैन । हामीले ब्रा खोलेर नांगै त भएका छैनौ नि !

महोत्सवहरुमा तपाईंहरुले छाडापन फैलाइरहनु भएको छ भन्ने उहाँको आरोप सत्य नै होइन र ?

दर्शकहरुले जुन कुरालाई मन पराइरहनु भएको छ, जुन कुरा हेर्न पैसा तिरेर आइरहनु भएको छ, त्यसलाई छाडापन भन्ने उनी को हो ? तपाईं को हो ? दर्शकले मन पराएपछि सक्कियो ।

हाम्रो मालिक भने पनि भगवान भने पनि दर्शक–स्रोता नै हो । उहाँहरुले जे डिमान्ड गर्नुहुन्छ हामीले त्यही दिने हो । हामीसँग जे छ त्यही देखाउने हो । जसको छाति सानो छ उसले के देखाउँछ ?

भनेपछि आफ्नो शरीरप्रति ठूलै घमन्ड छ ?

मेरो शरीर हेर्नलाई सात घन्टा हिँडेर आउनु हुन्छ, मैले किन घमन्ड नगर्ने ?

तर, यूट्यूबतिर तपाईंमाथि कस्ता–कस्ता कमेन्ट आउँछन् हेर्नुभएको होला नि ? जस्ता कमेन्ट आए पनि मलाई मतलब छैन । मेरो आफ्नो फ्यान फलोइङ छ । म उहाँहरुका लागि गाउँछु । यूट्यूबमा अघाउँञ्जेल गीत हेरेर गाली गर्नेहरु महिला शशक्तिकरणका विरोधी हुन् ।

तपाईं स्टेजमा पुरा लुगा लगाएर सभ्य रुपमा प्रस्तुत हुनुभयो भने तपाईंका फ्यानहरु निराश हुन्छन् हो ?

हुँदैनन् । मैले सभ्य रुपमा पनि गाएकी छु । गुन्यू चोलो लगाएर पनि गाएकी छु । सिचुएसन हेरेर गाउँछु । दर्शकलाई उचाल्नुपर्ने भयो भनि द्विअर्थी कुरा त बोल्नैपर्‍यो नि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment