News Summary
Generated by OK AI. Editorially reviewed.- फ्लाइ नेपा ट्राभल्सले आयोजना गरेको ‘अब सुन्छ अमेरिका’ कार्यक्रममा कलाकारले आयोजकको व्यवहारप्रति आपत्ति जनाएका छन्।
- गायिका एलिना चौहानले 'कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो' भन्दै आयोजकको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।
- आयोजक विनोद अधिकारीले कार्यक्रम सफल भएको दावी गर्दै सबै जिम्मेवारी पूरा गरेको बताएका छन्।
काठमाडौं । फ्लाइ नेपा ट्राभल्सले आयोजना गरेको ‘अब सुन्छ अमेरिका’ विवादित बनेको छ ।
कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका कलाकारले एकपछि अर्को गरि कलाकारप्रति आयोजकको व्यवहारलाई लिएर आपत्ति जनाएका छन् ।
उक्त सांगीतिक भ्रमणको लागि अमेरिका पुगेकी गायिका कला लम्साल बीचमै फर्किएकी थिइन् । बिरामी भएर उपचार गराउनुपर्ने ठाउँमा आयोजकले सामान्य मानवीय प्रवृत्ति पनि नदेखाएको भन्दै लम्सालले त्यतिबेला फेसबुकमार्फत विरोध गरेकी थिइन् ।
त्यतिबेला गायिका एलिना चौहानले पनि आयोजकको पक्षमा स्टाटस लेखेकी थिइन् । यतिबेला भने उनै गायिका चौहानले आयोजकको व्यवहारप्रति आपत्ति जनाउँदै मंगलबार राती स्टाटस लेखेकी छन् ।
अब कुनै पनि कलाकारले अपमान भोग्न नपरोस भन्दै एलिनाले असन्तुष्टि जनाएकी छन् । कलाकारलाई सम्मान होइन, नोकरझैं व्यवहार गरिएको उनको आरोप छ ।
गायक प्रताप दाससँगको फोटो सेयर गर्दै उनले लेखेकी छन्, ‘जस्तो छ, त्यस्तै भन्छु- ‘यो टूर मेरो लागि ठूलो सिकाइ बन्यो । कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो । कसैले कैदीझैँ महसुस गर्यो, कसैले अपमान सहनु पर्यो । एउटा कुरा स्पष्ट भन्न चाहन्छु आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन । कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ । नराम्रा अनुभवले धेरै कुरा सिकायो । अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस् ।’
एलिनाको यो स्टाटस हेर्दा उनको आपत्ति कलाकारप्रति आयोजकको व्यवहारलाई लिएर देखिन्छ ।
उक्त टूरको आयोजना फ्लाइ नेपा ट्राभल्सका विनोद अधिकारीले गरेका थिए । टूरमा गायक बद्री पँगेनी पनि सदस्य थिए । पँगेनीले भने यो टूरलाई लिएर सार्वजनिकरुपमा टिप्पणी गरिसकेका छैनन् ।
चौहानको स्टाटस आउने वित्तिकै अमेरिकामा रहेका चर्चित संगीतकार आशिष अविरलले पनि एलिनाको स्टाटस सेयर गर्दै कलाकारप्रति आयोजकको व्यवहारको विरोध जनाएका छन् ।
अविरल लेख्छन्, ‘नेपालमा श्रमको कुनै कदर छैन । त्यो त जगजाहेर छ तर विदेशमा श्रमको कति महत्व छ, कला सीप कामको कदर के छ, आफूले कुन कामलाई समेत घृणा गरिन्थ्यो, अहिले आफू कुन काम गर्न बाध्य भैएको छ । पाखण्डी पारामा कलाकारको मानमर्दन गर्नु खेदजनक छ । एलिना बहिनीले कला लमसालको बारेमा केही पक्ष बिपक्षमा बोल्दा मैले यसरी हामी कसैको वकालत गर्नु हुन्न आयोजकसँगको उनको अलग्गै गुनासो होला । आन्तरिक कुरामा नपर्न सल्लाह दिएको थिएँ । आज घटना दोहोरियो ।’
उनले कलाकारको हकहितको लागि भनेर खुलेका संघसंस्था चुप लागेको समेत आरोप लगाएका छन् ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) मेरिल्याण्डका महासचिव सन्देशकुमार खड्काले पनि घटनाप्रति आपत्ति जनाएका छन् ।
‘अमेरिकाजस्तो स्वतन्त्रताको देशमा आएर पनि कलाकारप्रति अन्यायपूर्ण व्यवहार गर्नु देशको स्वतन्त्रताको मर्मविपरित हो’ खड्काले लेखेका छन्, ‘आयोजक जो सुकै होस् । ए, बी वा सी आयोजकले आफ्नो स्थान, मर्यादा र जिम्मेवारी बिर्सनु हुँदैन । आयोजकको उद्देश्य संस्कृतिको प्रवर्धन हुनुपर्छ ।’
गायिका चौहानको पोस्ट आए लगत्तै गायिका लम्सालको पनि यसबारे टिप्पणी आएको छ । उनी लेख्छिन्, ‘पृथ्वी गोलो छ नि है, मलाई मज्जाले थाहा थियो, कसैले उचाल्दा माथि पुगेको बल थेचारिने भुइँ मै हो, मेरा बिरुद्ध देखाएको तुच्छता भगवानले सुन्नुभएछ ।’
फ्लाइ नेपाका संयोजक तथा परिकल्पनाकार अधिकारीले भने अफिसियल पृष्ठमार्फत समग्रमा कार्यक्रम परिकल्पना गरेजस्तै सफल भएको दावी गरेका छन् ।
उनले लेखेका छन्, ‘यो क्रममा हामीले हजारौँ माइलको यात्रा पार गरेका थियौँ । समग्रमा कार्यक्रम परिकल्पना गरे जस्तै अत्यन्त सफलतापूर्वक सम्पन्न भएको छ र आफूले कलाकारसँग गरेको सर्त तथा बाचा बमोजिमको सम्पूर्ण जिम्मेवारी पूरा गरेको छु ।’
प्रतिक्रिया 4