Comments Add Comment

कथाः छातावाली


दोलालघाटमाथि बाटो म्याराथन दौडिरहेछ । पुलछेउको घरमा रुस्लान भोड्काको ठूलो पोस्टरको छाँया सुनकोसीमा देखिन्छ । बोतल हातमा लिएर हामीलाई नियालिरहेकी भित्ते युवतीले पत्तो पाएकी छैन । उसको हातको भोड्का पानीमा मिसिसकेको ।

म मेरी प्रेमिकाको ध्यान खिच्न चाहन्छु, ‘उ हेर ! मेरो अनुहार तिम्रो आँखामा भन्दा स्पष्ट यो पानीमा देखिन्छ ।’ नदीसँग डाहा गरोस् भन्ने आशयमा यति भनें । उसले मेरो देब्रे आँखा फुट्यो भने जसरी पानीमा ढुंगा फाली । मेरो अनुहारको आकृति बिथोलियो । एउटा ढुंगाले सुनकोसीको मुटु छाम्यो । सुनकोसीको फ्रेम बाहिर आइपुगेका छिटाले अल्पायुमै मृत्युुवरण गरे, उनीहरुले पानीको गोदाम पुगेर पछुताउनु परेन ।

मेरो काँध र उसको टाउकोको बीचमा उसले आफ्नो हत्केला बिछ्याएकी छ । मलाई आफ्नो अस्थिपरुञ्जरपनमाथि ग्लानि भयो, प्रेमिकाले ढुक्कसँग टाउको बिसाउन सकिन, के जिन्दगी बिसाउली ?’

उसले एउटा हातमा छाता समाएकी छ । अर्को हातका मसिना औंलाका चेपबाट कतै प्रेम फुस्किहाल्छ कि भनेर मैले बेजोडले समाएको छु । हामीले आफ्ना खुट्टा सुनकोसीको पानीभित्र कैंची आकारमा जोडेका छौं । म चाहन्छु, पानीले रिस्सिएर गएर सुनाओस् समुद्रको कुनै कुनामा मेरा हजुरबाको अस्तुलाई ‘डियर बूढा ! तिमी जसरी हजुरआमा आएको १७ दिनमै आए’थ्यौ हजुरआमाको प्यारको पछि, त्यसरी नै तिम्रो जवान, चुच्चे नाक भएको नाति एउटी मंगोलियनसँग डेट गर्दै छ सुनकोसी किनारमा ! तिमीले ‘अल द बेस्ट’ भन्दैनौ ? कि ‘व्हाट द हेल माई फकिङ ग्रान्ड्सन डोइङ’ भन्छौ?’

‘तिमीले यो छाता पसलवाला साहुजीलाई भेट र एकपटक आभारी छु भन,’ उसको देब्रे कान नजिकै म फुस्फुसाएँ ।

‘त्यो साँझ त्यसरी पानी नपरेको भए, तपाईंलाई छाता म कसरी ओडाउथें ? कसरी चिन्थे हाम्रा कुमहरुले एक अर्कोलाई ? छाताको मात्र पसिना छ ? अझ तपाईं त्यसरी साँझमा अफिसको जिम्मेवारी लिएर हाम्रोमा नआएको भए ? म अफिस नभै घर भएको भए ?’

‘उसै पनि व्यापारीले मसँग छाताको पूरा मूल्य असुल गरेको छ, उसलाई फेरि किन म आभारको प्रसाद बाडूँ, ’ उसले एकसासमा भनिसिध्याई ।

‘तिमी मेरो कुरा केही बुझ्दिनौ अझ भनौ बुझ पचाउनुमा आनन्द लिन्छौ ?’

‘तपाईले बुझाउन सक्नुपथ्र्याे’

‘मलाई बुझाउन आउदैन’

‘के आउँछ त?’

‘के आउँछ जस्तो लाग्छ ?’

‘लाग्छ केही आउँदैन’

‘कति कुरा त नआएकै राम्रो,’ मैले बोलें ।

‘जस्तै’

‘तिमीलाई बिर्सन,’ यति भनिसक्दा उसको ओठको देब्रे चेपबाट रोकिराखेको हाँसो लाजको मदिरा पिएर ढुलमुल ढुलमुल शैलीमा अनुहारको बाटो हिड्यो ।

हामी आलिङ्गनमा बाँधिनु अगाडि नै घामले लाज मान्यो र दौडियो हतार हतार ।

‘हाम्रो पहिलो भेट कस्तो रह्यो ?’

‘त्यो भेट कसरी पहिलो भयो?,’ प्रतिप्रश्न आयो ।

‘किन थिएन ?’

‘तातोपानीमा चिसो झरीले रुझेको साझ तपाईं कसरी बिर्सन सक्नुभयो ?’

‘त्यति बेलासम्म तिमी तिमी थियौ म म थिएँ, हामी भएपछिको पहिलो भेट हो ।’ यति भनिसक्दा पुल्चोक क्याम्पसको गेटभन्दा थोरै माथि चियापसलको अगाडि आईपुगेका थियौं ।

‘अरे बे एक्कासी भेटियौ,’ एमपीको आवाज सुनियो ।

‘सर त राजाको गाम आइरहनुहुन्छ रे खबर हुँदैन, मण्डप(भृकुटीमण्डप)मा मिल्नुहुन्थ्यो, चिया सेलाएको थुप्रै भैसक्यो,’ उ यति भनेर रोकियो ।

‘जागीरको चरित्र यस्तो छ यार आइपुग्न नपाई बाटो सेलाउछ, तिमी पनि मार्कर घोट्छौ जानेकै छौ त,’ मैले उसलाई शान्त पार्न सकें । एकछिन गफियौं ।

पोखरा फर्कें । सबथोक नियमित चल्यो । बढ्ने कुराहरु बढे जस्तो दूरी, चिसो, आत्मीयता, प्रेम, वार्तालाप । मोबाइलमा क्यामेरा ३६० डाउनलोड भयो । हप्तामा एक दुई दिन दाइलाई कर गरेर लेन्स फेरिफेरि घरको छतमा स्न्याप लिने कर्म थपियो । यसरी नियमित फोटोग्राफर बनाउनुपर्ने कारण उसलाई अपडेट चाहिन्थ्यो ।

कति उ, उसको, उसलाई भनेको भन्ने लाग्यो होला तपाईंलाई । उ अर्थात मिस ईभा श्रेष्ठ, गोदावरी,काठमाडौ । यो त भन्नु नपर्ला । नोकरी हुँदै बेकरीसम्म हाम्रा आँखा र कुमहरु ठोक्किन पुगे । उसलाई मेरो मोबाइलले यसरी कैद गरेको थियो ‘द इभा’ । जब डायल हुन्थ्यो उता देखाउँथ्यो भन्थी ‘द हिरो’, यो सबैको श्रेय जवहारलाल नेहरुलाई जान्छ । बच्चामा खै कुन्नी कुनचाहिँ अंग्रेजी मास्टरले सुनाएका थिए, ‘नेहरु सम्झन्थे कुनै अर्को ऊनीजस्तो जवहारलाल जन्मदैन र नामको अगाडि द लेख्थे ।’

हरेक रातजस्तो घडीका तीनै सुईले सामूहिक आत्महत्या गर्ने आसपास बल्ल बार्तालाप टुंगिने तरखर हुन्थ्यो, ‘अब फोन राख्नुपर्छ ।’

‘कहाँ ?’

‘खल्तीमा ?’

‘च्यापिएला ?’

‘हाहा के चाहिँ ?’, मैले एक मेलो हासें ।

‘मोबाइल’

‘उसो भए सिरानीमुनि’

यस बीचमा सम्बन्धले सिद्धार्थ राजमार्ग बाँच्यो, घुम्ती, भीर, सौन्दर्य, गति नियन्त्रण भयो, दुर्घटना परेन (तर खाना खान बिस मिनेट कहिल्यै रोकेन, कहिं पनि रोकेन) । केएल टावरमा मुभी जाने दिन टावर तलतिर उसलाई आधा घण्टा पर्खेपछि एक्कासी आएर पछाडिबाट हात समाउँदा संसारकै राम्री प्रेमिकाले हात समाएको ‘फिल’ हुनुबाहेक करिब सबै कुरा सामान्य प्रेमीप्रेमिकाकै जस्तो घटे ।

लगातार सातौं दिन डायल गरें, स्विच अफ थियो । फेसबुक, भाइबरले एक्टिभ नदेखाएको पनि उत्तिकै दिन भयो । दिउँसो पत्रिकाले जवाफ दियो, नेटवर्क अबरुद्ध छ । उसै पनि भीषण वर्षा, पहिरो हुने ठाउँमा उसको अफिस थियो ।

प्रेम, बच्चामा प्वाँख चुटाईदिएर धागोले पुच्छर बाँधेर उडाएको गाइनेकीरो लाग्न थाल्यो । एउटा कवि दाईले मेसेन्जरमा सोधे, ‘भाइ शान्ति छ?’

‘अरुले काम चल्दैन ?’

‘के प्रेमिकाले गाली गरिन् ?’

‘बरु गरेको भए हुन्थ्यो ?’

‘फेरि कसको म्यासेज झुक्केर उसलाई पर्यो ?’

‘यमराजको, लेखेथे कि जाने बेला मलाई पनि लगेस्, नत्र यसरी आएर जिस्काएर सम्पर्कविहीन नभएस् ?’

‘धन्दा नमान, धन्दा गर… सम्पर्कमा आईहाल्छे ।’

‘ए…’

आठौं दिन मोबाइलमा मेसेज आयो, बिल्कुल नयाँ नम्बरबाट ‘डियर हिरो, मेरो ठेगानामा बत्ती छैन, नेटवर्क पनि छैन, म अहिले छिमेकी गाविसको हेल्थपोस्टमा साथीको मोबाइलबाट तपाईंलाई लेख्दै छु । मेरो मोबाइल रिपेयर सेन्टरमा ड्राई बाथ गर्दै छ, अस्ति उसले पानी खेल्यो । म तपाईलाई छिट्टै मेसेज गर्नेछु । म छिट्टै काठमाडौं जाँदै छु, मेरी संगिनीको बिहे पनि छ । म साडी लगाउँ कि लेहेङ्गा ? मेरो मोबाइल चल्नासाथ भाइबरबाट तपाईलाई फोटो पठाउँछु । तपाई बाहुन, क्षेत्रीहरुको बिहेमा बनाउने कसार लभर हुँ । सि यु सुन, लभ यु मोर ।’

फेसबुक, भाइबर, जिमेल सबैको नोटिफिकेसन अन राखेको छु । हरेक पटक रातो हुनेबित्तिकै खोल्छु, उ गुमनाम छ ।

प्रशान्त भाइ हो, भाइ कम साथी ज्यादा । उसले खल्तीबाट मोबाइल झिक्यो, फ्लाइट मोड अन ग¥यो । सिसाको गिलासमा एक टुक्रा लेमन र दुइटा आइस थप्यो र मुखमा जोड्नु अघि भन्यो, ‘दाइ जुन घर र डेरामा पुरुषमात्र बस्छन नि त्यहाँ वस्तुहरु बहुत भद्रगोल तरिकाले बस्छन् तर खुसीहरु सानदार तरिकाले मिलेर ।’

जिब्रोले स्वाद घाँटीसंग बाँड्दा नबाँड्दै उसको प्रेमप्रतिको वितृष्णा हो कि, मेरो हर्कतमाथिको सहानुभूति बुझ्न खोज्दै थिएँ, जिमेलमा माथिपट्टि रातो देखियो ।

from: herokoeva@com

subject : डियर हिरो,

बिहेको फोटो भाइबरमा पठाउछु भनेकी थिएँ, परिस्थिती बद्लियो, म त्यही बिहेको पृष्ठभूमीमा बसेर यो मेल लेख्दै छु । त्यतिबेला नेटवर्क बिग्रियो त्यो सत्य हो, बिहे पनि सत्य हो,प्रेम सत्य हो, सम्बन्ध पनि तर एडप्टेसन ? मैले संगीको बिहे प्रयोगशालामा तपार्इंहरुको संस्कारलाई सुक्ष्मदर्शक यन्त्रले हेरें, कसारभन्दा पनि बेस्सरी डल्ला परेका धेरै कुराभित्र कसारको जस्तो खुदो लुकेको हुदो रै’नछ, बरु शरीरभित्र लुकेको पित्तथैलिजस्तो । सकभर छुने नपरे हुदो हो जस्तो, तितो । मलाई यो पनि थाहा भयो कि तपाईं ब्राह्मणहरु पनि दुई थरिको हुनुहुँदोरहेछ, एउटा जैसी भन्ने र अर्को उपाध्याय । तपाईहरुको पवित्र कार्यमा हातको औलामा कुशको औठी बनाउदा पारेको गाठो अहमको गाँठो हो ?

मलाई कसैले बताईदियोस्, दुनियाँमा पुर्खाले जातको नियम पालना नगरेर सदियौंसम्म सन्तान समेतलाई छुट्टै वर्गमा राख्ने ब्राह्मणलाई बौद्धिक भनेर पारिभाषित गर्दा शब्दकोशले किन लाज मानेन ? यिनीहरु त पार्टी भित्रका दुई गुट जस्ता पो रहेछन, बरु अर्को पार्टीलाई जिताउने तर एकले अर्कोलाई स्वीकार नगर्ने ।

त्यो विवाह करिब एकपक्षीय रह्यो, हामी दुई तीन जना हितैषी र बेहुलीको एक जना काकाबाहेक सबै केटा पक्षका थिए । उनी अब बिहे गरेपछि जैसी हुँदिरै’छिन, बाबुआमाले नस्विकारेको पति स्विकारेकी उनलाई जिन्दगी कति सजिलो होला ? खुसीहरुले स्वीकार्लान् नि दुख्ने समाजकी हो भन्लान् ? तर्क गर्न मिल्छ । सबै उस्तै हुँदैनन्, त्यो एउटा कन्जरभेटिभ सोसाइटी थियो होला । तर यहाँ ‘बूढी मरेको भन्दा पनि काल पल्केको’ समस्या हो । तपाईंको ब्राह्मण समुदायमा एउटा भ्रम रहेछ ।

हाम्रो समूहबाहेक सबै अर्को ग्रहका प्राणी हुन, शिक्षित भनिने तपाईको वर्ग चेतनशील चाहिँ कहिले बन्छ ? आफ्नै जीतलाई नस्विकार्ने तपाईको समुदायले म एउटा नेवारकी छोरीलाई स्वीकार्छ भनेर म कसरी विश्वास गरुँ ? मलाई तपाईकै एउटा ट्विट याद छ, ‘जिन्दगीको ५०% छिमेकीको लागि बाच्नुपर्छ, ३०% परिवारको लागि, ५% दुश्मनको लागि, ५% जति चुहेर सकिन्छ, बाँकी १०% आफ्नो हो । त्यसैमा पनि इन्ज्वायमेन्ट इन इभ्रीथिङ भन्दै हिंडेको छु ।’ तपाईले जस्तै मैले पनि हामी दुईको लागि बाँच्ने त १०% नै होला, तपाईले नै भनेको ९०% ले के भोलि मलाई तपाईंको अर्धाङ्गिनी स्वीकार्छ ?

डियर हिरो, म त मेडिकल साइन्सको विद्यार्थी, घाउ देखिसकेपछी आफै निको होला भनेर बस्नु कि उपचारमा लाग्ने ? मैले घाउलाई नजरअन्दाज नगरी उपचार रोजें । एक पटक तपाईको माथिल्लो लहरको दाँतमात्र देखिने गरी हास्नुस्, जँुगा नबटार्नुस, फ्रन्ट क्यामेरा अन गर्नुस् दाह्री पूरै देखिने र कपालले निधारको दुवैतिर बनाउने अंग्रेजी तीन स्पष्ट गरी क्याप्चर गरेर मलाई रिप्लाई पठाईदिनुस् । यति गर्दिनुभयो भने म आफूलाई संसारकै भाग्यमानी केटी सम्झनेछु र तपाईले माफी दिएको पनि सम्झनेछु । मेरा औंलाहरुलाई थाहा छैन यिनीहरु सायद यो सम्बोधन फेरि टाइप गर्ने छैनन् । उनीहरुलाई थुप्रै धन्यवाद !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment