Comments Add Comment

करुणाजी, मलाई यौनमा रुची छैन, किन होला ? 

करुणाजी, नमस्कार ।

हामीजस्ता समस्यामा परेका मानिसका लागि तपाईका हरेक सल्लाह औषधि सरह छन् । त्यसका लागि  म र मेरा केही साथीहरु तपाइलाई हार्दिक धन्यवाद भन्न चाहन्छौं । म यहाँ आफ्ना केही  समस्या राख्न चाहन्छु । यो मेरो मात्र होइन, अरुको पनि समस्या होला भन्ने मलाई लाग्छ ।

झण्डै २५ वर्षअघिको प्रसँग हो । म भर्खरै एसएलसी पास गरेकी कोमल कन्या थिएँ । आफ्नो इच्छा बेगर परिवारको दबाबमा मैले विवाह गर्नुपर्यो । अहिले म ४४ वर्षकी भएँ । केही कुरामा कहिलेकाहीँ पतीपत्नीवीच ठाकठुक परे पनि हाम्रो वैवाहिक जीवनलाई खराब भनिहाल्न मिल्दैन । श्रीमान मलाई माया गर्नुहुन्छ । हाम्रा दुईजना छोराछोरी पनि छन् । घरमा हामी समानताको व्यवहार गर्छौ ।

जीवनमा माया प्रेम मात्रै पर्याप्त हुँदैन भन्ने त्योबेला महसुस हुन्छ, जव सेक्सको कुरा आउँछ । सेक्सलाई हामी दुबैले ठूलो महत्व दिदैनौं तर सँगै भएपछि इच्छा हुनु स्वभाविकै हो । तर, म खै के कारणले हो यौन सम्पर्कको इच्छा त्यति राख्दीन । श्रीमान यौन सम्पर्कका लागि आग्रह गर्नुहुन्छ । म उहाँको इच्छालाई साथ मात्र दिन्छु । विवाहको सुरु-सुरुमा त मलाई यौन ईच्छा नै नभएको हो कि भन्ने लाग्थ्यो, तर अचेल परिवर्तन भएको छ ।  महिलालाई पनि यौनेच्छा हुन्छ भन्ने कुरा सुन्दा मलाई पत्यार लाग्दैन । श्रीमान्ले पर्याप्त माया गर्दा र गहिरो हिमचिम हुँदा पनि ममा कुनै परिवर्तन आएको छैन । कहिलेकाही यौन सम्र्पक भईहाल्यो भने पनि हामी दुवैलाई दुखाईको महशुस हुन्छ ।

मलाई यौन ईच्छा छैन भनेर श्रीमान परपर वस्नुहुन्छ र निरास देखिनुहुन्छ । उहाँका अनुसार उहाँको यौनेच्छालाई मेरो उदासिनताले धेरै नै असर पारेको छ रे । यसको कुनै समाधना छ ? मलाई कुनै रोगले यस्तो भएको हो ? अरु महिलामा पनि यस किसिमका समस्या हुन्छन् भन्ने सुनेकी छु, सत्य हो ? – कपुरी क 

करुणा कुवँरको जवाफ

नाम गोप्य राखेर भए पनि आफ्ना समस्या उजागर गर्नुभएको छ । यो अनुरोधलाई स्वीकार्दै म बुँदागत रुपमा केही सल्लाह दिन चाहन्छु ।

पहिलो

सबैभन्दा पहिले तपाईंको जिज्ञासाबाट के बुझिन्छ भने यो समस्या तपाईसँग नै सम्वन्धित हो । यस्ता समस्या अरुमा पनि हुन्छन् तर यहाँ तपाईंले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । महिलामा यौन चाहना हुँदा योनीबाट तरल पदार्थ प्रवाह हुन्छ ।  तर यौन इच्छा नभएको बखत त्यस्तो पदार्थ कम प्रवाह हुँदा यौन सन्तुष्टिमै फरक महसूस भैरहेको हुन्छ । इच्छा नभएको बेला कम र तीब्र इच्छा भएको अवस्थामा तरल पदार्थको प्रवाह कम भएर योनी सुख्खा हुन्छ । योनी सुख्खा भएको बेला शारीरिक सम्बन्ध राख्दा दुखाइ महसुस हुनु पहिलो कारण हो । र, यो स्वभाविक घटना हो ।

दोश्रो

यौन समागमा महिलाले दुई चरणबाट गुज्रनु पर्छ । पहिलो, महिनावारी हुने समय र महिनाबारी रोकिएपछिको समय । सामान्यतया ४५ वर्षभन्दा मुनिका महिलामा तरल पदार्थको प्रवाह कम हुँदैन । तर यौन समागमअघि राम्रोसँग फोरप्ले नगर्दा तरल पदार्थ आउँदैन । अर्कोतिर ४५ वर्षभन्दा माथिका महिलामा महिनावारी रोकिने भएकोले तरलत पदार्थको प्रवाहमा स्वतः कमी आउँछ । यसलाई उमेरजन्य कारण भन्नुपर्ने हुन्छ । सम्पर्कको बेलामा यौन चाहना नहुँदा धेरै महिलाले योनी सुख्खा हुने र दुख्ने समस्याबाट गुज्रिनुपर्ने हुन्छ । यो समस्या कुनै पनि उमेरमा हुने हुन्छ तर विशेष गरी महिनावारी रोक्किने समय वा रोक्किसकेपछि बढि हुने हुन्छ । तपाईंले सुरुदेखि नै योनी सुख्खा हुने र दुख्ने समस्या भएको बताउनु भएको छ । यसको कारण पर्याप्त फोरप्लेको चरणबाट नगुज्रनु नै हो ।

तेश्रो

तपाईंले आफ्नो जीवन प्रेममय बितेको र श्रीमानले पनि माया गर्ने गरेको बताउनु भएको छ । त्यति मात्र होइन, दुई सन्तान भएको कुरा उल्लेख गर्नु भएको छ । यसर्थ यौन सम्पर्कका बेला दुखाइ हुनुको कारण तपाईंलाई कुनै अरु किसिमको तनाब हुनसक्छ ।

यौन सम्पर्कका बेला योनीबाट पर्याप्त तरल पदार्थ नबग्नुमा तनाव अर्को महत्वपूर्ण कारण हो । फोरप्ले पछिपनि यौन सम्बन्धको क्रममा जब योनीमा चाहिने मात्रामा योनी रस निस्कन्दैन तब योनी सुख्खा हुन्छ र यौन सम्पर्क गर्दा पीडाको महसुस हुन्छ । योनी सुख्खा हुँदा स्वास्थ्य समस्या पनि आउँछ । जस्तै योनीमा संक्रमणको लक्षण देखिनसक्छ । महिनावारी रोक्निे क्रममा हरमोनको परिवर्तनका कारणले पनि योनी रसको उत्पादनमा ह्रास आउँछ । यदि कुनै औषधिको सेवन गरिएको छ भने पनि योनी सुख्खा हुनसक्छ । यदि यस्ता कुनै पनि कारण होइनन् भने दिक्दारीपन, चिन्ता, सम्बन्धमा तनाव, झगडाजस्ता कारणहरु जिम्मेवार हुनसक्छन । वाल्यअवस्थामा यौन हिंसामा परेको कुनै अप्ठ्यारो अनुभव हुनसक्छ । तपाईंमा केही चिन्ताले लामो समयसम्म जरा गाडेर बसेको छ कि, कुनै कुरालाई मनको गहिराइमा लिएर बस्नु भएको छ कि यो कुरालाई ध्यान दिएर हेर्नु भयो भने पनि समस्या पत्ता लाग्न सक्छ । तर सधैं यो समस्या नहुन सक्छ ।

चौथो

यौन सम्बन्धको बेलामा पर्याप्त मात्रामा फोर प्लेको कमीले पनि योनी सुख्खा हुने र पीडा हुने गर्छ । योनी सुख्खा हुदा योनीमा चिलाउने, अप्ठयारो महुसुस हुने, पोल्ने, हल्का रक्त्तश्राव हुने, छिन छिनमा पिसाब हुने समस्या देखिन्छ । चिल्लो र चिप्लो बनाइराख्न प्राकृतिक तेल वा डाक्टरको सल्लाह अनुसार अन्य किसिमका जेलको प्रयोग गर्नु उत्तम हुन्छ ।

पाँचौं

संसारमा भएका महिला र पुरुष  मानिसका दुइ जाति हुन् । यी दुबै मानिस त हुन् तर उनीहरुको शारीरिक संरचना र कहिलेकाहि मानसिक संरचना पनि फरक हुन्छ । एउटै घरमा बराबरी अधिकार प्राप्त गरे पनि महिला र पुरुषको स्वाभाव भिन्न हुनु यसको प्रमाण हो । जव मानिसको शरीर र मन फरक हुन्छ, यौन स्वाभाव फरक हुनु स्वाभाविक हो । यसो भन्दैमा महिलालाई कहिले पनि यौनको चाहना हुँदैन भन्ने अर्थ लगाउन मिल्दैन । यौन चाहना फरक हुनसक्छन् तर दुबैमा यौन चाहना भएकै कारण यो सम्बन्ध टिकिरहेको हो । लामो समयदेखि तपाईंले आफ्नो पीडा लुकाएर बस्नु भएको तपाइको प्रश्नबाट बुझिन्छ । यो समस्या समाधान गर्न अझै पनि ढिला भएको छैन ।

यो सम्बन्धलाई अझ सुदृढ बनाउँन एक पटक मनोविद्सँग भेट्नुपर्ने देखिन्छ । आज छोराछोरी सँगै भएकाले यो पीडामा छोराछोरीको उपस्थितिले केही राहत दिन सक्छन् । केही वर्षपछि छोराछोरी आफ्नो बाटो लाग्दा मन निरास र खिन्न हुनसक्छ । त्यसकारण यो उमेरको प्रश्न होइन, समस्या समाधान कसरी गर्ने भन्ने प्रश्न हो । त्यसैले चाँडै नै सानो छँदादेखिको आफ्ना जीवनका कुराहरुलाई टिपोट गरेर मनोविद्सँग भेट्नु उपयुक्त हुन्छ ।

(करुणा कुँवर नेपालकी चर्चित यौन मनोवैज्ञानिक एवं फेमिली थेरापिस्ट हुन् । कुँवरले अनलाइनखबरमा प्रत्येक शनिवार यससम्बन्धी समस्याको समाधान गर्दै आएकी छन् । तपाईंका पनि यस किसिमका गम्भीर समस्या भए हामीलाई [email protected] मा प्रश्न पठाउन सक्नुहुन्छ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment