Comments Add Comment

गोरखामा विद्युत चोरी गर्ने ८२ जनालाई कारबाही

विकास मरहट्टा । ११ चैत्र, गोरखा । जिल्लामा बिद्युत चोरी गर्नेहरुलाई प्राधिकरणले कारबाही गर्न थालेको छ ।

चालु आर्थिक वर्षको चैत्रको दोस्रो हप्तासम्म बिद्युत चोरी गर्ने ८२ जनालाई कारबाही गरिएको नेपाल बिद्युत प्राधिकरण वितरण शाखा गोरखाले जनाएको छ ।

कारबाही स्वरुप उनीहरुबाट चार लाख भन्दा बढी राजश्व संकलन भएको छ । ‘हुकिङ गरेर बिद्युत चोरी गर्ने ६२ जना कारवाहीमा परेका छन्,’ प्राधिकरण शाखा गोरखाका इन्जिनियर कृष्ण कडेलले भने, ‘जरिवाना स्वरुप उनीहरुबाट ६४ हजार राजश्व संकलन भएको छ ।’

त्यस्तै मिटर वाइपास र एमसीपी बढी राख्ने २० जना कारवाहीमा परेको उनले बताए ।

जरिवाना स्वरुप उनीहरुबाट तीन लाख ५० हजार रकम संकलन भएको कडेलले जानकारी दिए । जरिवानासँगै उनीहरुको लाइन पनि काटिएको उनको भनाइ छ । हेल्थपोष्ट, प्रहरी चौकी र बिद्यालयले पनि बिद्युत चोरी गरेको प्राधिकरणले जनाएको छ ।

बिद्युत चोरी नियन्त्रणका लागी बिशेष अभियान संचालन गरिएको प्राधिकरण शाखा गोरखाका प्रमुख माधव न्यौपानेले बताए । ‘बिद्युत चोरी भएनभएको अनुगमन पनि गरिरहेका छौ, ठाउँठाउँमा गोप्य सूचना दिने मान्छेहरु पनि राखेका छौ,’ उनले भने ।

बिद्युत चोरी गरेको भेटिएमा जरिवानासँगै लाइन काटिदिने गरेको न्यौपानेले बताए । ‘बिद्युत चोरी गरेको भेटिएमा उनीहरुले प्रयोग गरेको बिद्युतिय उपकरणको क्षमता नापेर बुझाउनुपर्ने महशुल हिसाव गर्छाै अनि त्यसमा १०० प्रतिशत जरिवाना जोडेर रकम लिन्छौ, सँगै लाइन पनि काटिदिन्छौ,’ प्राधिकरण प्रमुख न्यौपानेले भने ।

पटके परेमा २०० प्रतिशत जरिवाना लिइने उनले जानकारी दिए । चालु आर्थिक वर्षमा १७ हजार ७६ युनिट बिद्युत चुहावट भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको सरसफाइ अभियान
प्राधिकरणले विगत ६ महिना देखि सरसफाइ अभियान संचालन गरेको छ ।

विद्युत चोरी नियन्त्रणसँगै कार्यालय हाताको सरसफाइका लागि अभियान संचालन गरिएको प्राधिकरण गोरखा प्रमुख न्यौपानेले बताए ।

साताको हरेक शुक्रवार विहान सात बजे देखि आठ बजे सम्म कार्यालय हातामा सरसफाइ गर्दै आएको न्यौपानेले जानकारी दिए ।

सामूहिक श्रम तथा सफाइ अभियान अन्तरगत सरसफाइ हुँदै आएको न्यौपानेको भनाइ छ ।

कार्यालय व्यवस्थापन र सरसफाइको क्षेत्रमा राम्रो काम गरेको भन्दै नेपाल बिद्यतु प्राधिकरण वितरण शाखा गोरखा सम्मानित भएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन केन्द्रीय संगठन समितिले प्राधिकरणलाइ प्रशंसापत्रले सम्मान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment