Comments Add Comment

प्रधानमन्त्रीले कूटनीतिज्ञलाई सुनाए सरकारका ६ प्राथमिकता

१३ चैत, काठमाडौं । प्रधानमन्त्रीले कूटनीतिज्ञलाई सुनाए सरकारका ६ प्राथमिकता

१३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र विकास साझेदारलाई बोलाएर आफ्नो सरकारका ६ प्राथमिकता सुनाएका छन् ।

सरकारी निवास बालुवाटारमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालका साथै अर्थमन्त्री युवराज खतिवडालाई साथमा राखेर सम्बोधन गरेका थिए ।

आफ्नो लक्ष्य ‘सम्बृद्ध नेपाल र खुसी नेपाली’ भएको भन्दै उनले सरकारका ६ प्राथमिकता बताए ।

पहिलोः सार्वभौमसत्ता

प्रधानमनत्री ओलीले सरकारको पहिलो प्राथमिकता सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय हितहरुको संरक्षण भएको बताए । नेपाल कुनै पनि बाहृय देशको उपनिवेदश नरहेको र सावैभौमसत्ताको आफ्नो इतिहास रहेको भन्दै उनले भने, ‘यो सरकार राष्ट्रिय हितहरुको संरक्षण गर्न प्रतिवद्ध छ । यसमा कुनै सम्झौता हुँदैन ।’

दोस्रोः लोकतन्त्रप्रति प्रतिवद्ध

कूटनीतिज्ञहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार लोकतान्त्रिक मूल्यमान्यताप्रति प्रतिवद्ध रहेको बताए । लोकतन्त्रका लागि आफूहरुले लामो राजनीतिक संघर्ष गरेको भन्दै उनले भने, ‘लोकतन्त्र अपरिहार्य छ र यसलाई कसैले खोस्न सक्दैन ।’

तेस्रोः सामाजिक न्याय र समानता

प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानताविना दिगो विकासको कल्पना गर्न नसकिने बताए ।

हरेक तहतप्काका मानिसहरुलाई समान संरचना र उनीहरुको क्षमता अनुसार अवसर दिइने भन्दै उनले भने, ‘हाम्रो समाज विविधतायुक्त छ र यो नै नेपाली समाजको विशेषता हो ।’

संविधानले कसैमाथि पनि विभेद नगरेको र राज्यले आफ्ना नागरिकको मौलिक अधिकार संरक्षण गर्ने बताए ।

चौथोः स्थिरता र विकास

स्थिरता र विकास सरकारको प्राथमिकतामा रहेको भन्दै उनले त्यसलाई खलल पुर्‍याउने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए । प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो समाजमा हिंसाका लागि कुनै स्थान छैन ।’

विभिन्न बहानामा सामाजिक सद्भाव र एकता खलबल्याउने प्रयास भइरहेको भन्दै उनले भने, यस्ता तत्वहरु पनि छन्, जसले नेपालमा द्वन्द्व र कलह भइरहोस् भन्न चाहन्छन् ।’

युरोपेली युनियनतर्फ संकेत गर्दै उनले सार्वभौमसत्ता जनतामा निहीत रहेको र उनीहरुले मात्र आफ्ना संवैधानिक र राजनीतिक मुद्दामा निर्णय गर्न सक्छन् ।’

पाँचौंः सुशासन

सरकार सुशासनप्रति प्रतिवद्ध रहेको र सरकारको नीति तथा कार्यक्रमलाई यसले नै निर्देशित गर्ने उनले बताए ।
प्रधानन्त्री ओलीले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको नीति लिने पनि बताएका छन् ।

छैटौंः जनताको आकांक्षा सम्बोधन

लामो राजनीतिक संक्रमणकाल अन्त्य भएको भन्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारको एक मात्र ध्येय जनताको इच्छा आकांक्षा पुरा गर्दै समावेशी र दिगो विकास हासिल गर्नु भएको बताएका छन् । उनले भने, ‘हाम्रो राजनीतिक परिर्वतनलाई टिकाई राख्न द्रुत आर्थिक विकास गर्ने चाहना छ ।’

प्रधानमन्त्री ओलीले नेपाल अतिकम विकासित मुलुकको सूचीबाट माथि उक्लिन आतुर रहेको बताए । त्यसका लागि दुई अंकको आर्थिक वृद्धिदर आवश्यक रहेको बताए ।

लगानीमैत्री वातावरण बनाउन राजनीतिक पार्टीहरु एकजुट रहेको उल्लेख गर्दै उनले जलविद्युत, पर्यटन, कृषि, पूर्वाधार विकास र सूचना-प्रविधिमा वैदेशिक लगानीको आह्वान गरे ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले सरकारको विदेश नीतिका प्राथमिकता पनि प्रकाश पारेका छन् । नेपालको वैदेशिक सम्वन्धहरु पञ्चशीलको सिद्धान्तमा आधारित हुने, अन्तर्राष्ट्रिय सन्धी, सम्झौताहरुको पालना गरिने उनले बताए ।

‘नेपालको वैदेशिक नीतिको मुल मर्म ‘सबैसँग मित्रता राख्ने र कसैसँग पनि वैरभाव नराख्ने’ हो’ ओलीले भने, ‘हामी आफ्ना अन्तर्राष्ट्रिय सम्वन्धहरुलाई न्याय, समानता र पारस्परिक सम्मान तथा लाभको आधारमा अघि बढाउन चाहन्छौं ।’

अन्तर्राष्ट्रिय स्तरमा आर्थिक विकासको एजेन्डा नेपालको प्रमुख प्राथमिकता हुने उनको भनाइ थियो ।

छिमेक सम्वन्धबारे चर्चा गर्दै प्रधानमन्त्री ओलीले नजिकका दुई छिमेकी भारत र चीनसँग सुमधुर र मित्रवत् सम्वन्ध राख्न चाहेको बताए । छिमेकी देशका जायज चासोहरुलाई सम्मान गर्ने भन्दै उनले उनीहरुविरुद्ध आफ्नो भूमिमा कुनै गतिविधि हुन नदिने बताए ।

नेपालले आतंकवादविरुद्धको अन्तर्राष्ट्रिय लडाईमा हातेमालो गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । साथै सार्कसँगै विमस्टेकलाई सक्रिय बनाउन पहल गर्ने बताए ।

प्रधानमन्त्री ओलीले नेपालको स्थायित्व र विकासको लक्ष्यमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment