+
+
Shares

ओलीले अधिकार केन्द्रित गरेकाले जनतामा त्रासः प्रकाशमान

'वाम गठबन्धनको सामना गर्न कांग्रेसको बलियो संगठन आवश्यक'

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १४ गते १२:०६

१४ चैत, बाँके । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वाम गठबन्धनको सामना गर्नका लागि बलियो संगठन निर्माणमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । वाम गठबन्धनले अधिनायकवाद लाद्न खोजेको भन्दै उनले कमजोर बनेको कांग्रेसका लागि अहिलेको समय चुनौतिपूर्ण रहेको बताए ।

नेपाल प्रेस युनियन बाँकेले बुधबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता सिंहले भने, ‘कुनैपनि अधिनायकवादी व्यवस्थासित कांग्रेस झुक्दैन । पार्टी संगठनलाई बलियो बनाउँदा मात्र बाम गठबन्धनसँग लड्न सकिने भएकाले सोहिअनुरुप संगठन निर्माण आवश्यक छ ।’

नेपाल ट्रेड युनियन बाँकेको जिल्ला अधिवेशनमा सहभागि हुन नेता सिंह बुधबार बाँके आएका हुन् । अधिवेशनअघिको पत्रकार भेटघाटमा उनले वाम गठबन्धनले साम्यवादी व्यवस्था ल्याउने उदघोष गरेको अवस्थामा सर्वाेच्च अदालतको पछिल्लो घटना र प्रधानमन्त्री केपी शर्मा ओलीले सबै अधिकार आफूमा केन्द्रित गर्दै गएकाले जनतामा त्रास उत्पन्न गराएको बताए ।

कुनैपनि अधिनायकवादी व्यवस्थासित कांग्रेस नझुक्ने भन्दै उनले गुण र दोषको आधारमा सरकारको समर्थन र बिरोध रहने बताए ।

कांग्रेस एकढिक्का हुनुपर्नेमा जोड

नेपाली कांग्रेसलाई विधानसम्मत ढंगले चलाउनुपर्ने चुनौती रहेको उनले बताए । अहिले बिधानसम्मत तरिकाले नचलेकाले कांग्रेसले दुर्गती ब्यहोर्नु परेको उनको भनाइ छ । त्यसका लागि कांग्रेस एकढिक्का हुनुपर्नेमा नेता सिंहले जोड दिए ।

कुनै नेता विशेषलाई भन्दापनि कांग्रेस पार्टीलाई जोगाउन आफूहरु लागिपरेको उनले स्पष्ट पारे । उनले पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो गुटका व्यक्तिलाई मात्रै संरक्षण गरेकाले कांग्रेस कमजोर बनेको उनको भनाइ छ ।

‘पार्टी सभापतिले विधानको मतलब नगरी आफ्नो नजिकको व्यक्तिलाई संरक्षण गर्दै आउनु भएको छ । अब त्यस्तो हिसाबले पार्टी चल्दैन,’ नेता सिंहले भने, ‘पार्टी सभापति सबैको सभापति बन्नुस् ।’

जारी केन्द्रीय समिति बैठकले चुनावी समिक्षाका अतिरिक्त पार्टी सुधारका लागि विधिवत महत्वपूर्ण निर्णय लिने उनले जानकारी दिए ।

उनले नेपालको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप कांग्रेसलाई स्वीकार्य नहुने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?