
१५ चैत, काठमाडौं । टेकु दोभानदेखि केही मिटरसम्म कालोपत्र भइसक्यो । त्यहाँबाट माथि कतै धुलाम्य त कतै हिलाम्य सडक छ । बालाजु पुलबाट माथि अस्तित्व खोज्दै जाँदा सुकुम्बासी बस्तीमा साघुँरिदै गएर एउटा घरको ढोकामा पुगेर टुंगिन्छ, विष्णुमती करिडोर ।
यो करिडोरमा काम थालेको २२ वर्ष भयो तर, अहिलेसम्म पूर्ण रुपमा ट्रयाक समेत खुल्न सकेको छैन । टेकु दोभानदेखि महादेव खोला दोभानसम्म ६ किलोमिटर लामो करिडोरमा बाधक बनेको सुकुम्बासी बस्ती । झन्डै एक किमी क्षेत्रमा फैलिएका ३ सय घर टहरा अझै हटेका छैनन्, जसका कारण करिडोरमा निर्माणमा उल्लेख्य प्रगति हुन सकेको छैन ।
अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका सदस्य सचिव आशिष घिमिरेका अनुसार बिष्णुमतीको खोलाको दुवै किनारमा पर्खाल लगाउन काम भइरहेको बताउँछन् ।
यस क्रममा सुकुम्बासी बस्तीको केही घर टहरा भत्काएको छ । ढलको पाइप राख्न थप घरहरु भत्काउनु पर्नेछ । १० मिटर चौडा सडक बनाउन पुरै सुकुम्बासीका बस्ती हटाउनुपर्छ, जुन सहज छैन ।
यहाँ वि. सं. २०४० सालबाटै सुकुम्बासी बस्न थालेका थिए, अहिले घनाबस्तीकै आकार लिइसकेको छ ।
अन्तरी तामाङ आफ्नो परिवार २०४० सालमा हेटौंडाको फापरबारीबाट आएर यहाँ बसेको बताउँछिन् । सरकारले सडक बनाउनुअघि आफूहरुको उचित व्यवस्थापन गर्नु पर्ने उनको माग छ । ‘काठमाडौंमा भाडा तिर्न नसकेपछि खोलाको किनारमा झुप्रो हालेर बस्न सुरु गरेका थियौं । यहाँ बस्न लागेको ४० वर्ष भयो,’ उनले भनिन्, ‘अब यो बुढेसकालमा कहाँ जाऔं ?’
सुकुम्बासीहरुलाई राजनीतिक संरक्षण पनि भएकाले सडक वस्ती खाली गर्न सहज छैन । त्यसैले सुरुमा पर्खाल लगाउने, त्यसपछि क्रमशः ढल र सडकको ट्रयाक खोल्ने समितिको योजना छ ।
टेकु दोभानदेखि बालाजु हुँदै महादेवखोला दोभानसम्म दुवै किनारमा करिडोर सडक बन्नुपर्छ । तर, अहिले टेकु दोभान, ढल्कु हुँदै गोंगुबु बसपार्कसम्म ट्रयाक खुलेको छ तर, पिच भएको छैन । शोभा भगवतीभन्दा माथि पिच छैन । यो क्षेत्रमा ढल बिच्छ्याउने काम भइरहेको छ ।
गोंगबु बसपार्कबाट महादेवखोलासम्म एकतर्फी ट्रयाक खुलेको छ । माछापोखरी तर्फको भागमा भने अझैसम्म ट्रयाक खुल्न सकेको छैन । यसको पनि समस्या सुकुम्बासी बस्ती नै हो ।
उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारी पनि करिडोर बनाउन अधिक समय लागेको स्वीकार गर्छन् ।
सुरुमा बिष्णुमती करिडोर आयोजनाले टेकु दोभानदेखि शोभा भगवतीसम्म ट्रयाक खोल्ने तथा पिच गर्ने काम गरेको थियो ।
त्यहाँ अहिले पनि पिच सडक छ । तर, २ वर्षअघि बाग्मती सभ्यता एकीकृत विकास समितिले ढलको पाइप बिच्छ्याउने र किनारमा पर्खाल लगाउन थालेका कारण विभिन्न भागमा सडक विग्रिएको छ ।
ढल निर्माण जारी रहेकाले सडक कालोपत्रे गर्ने काम रोकिएको सडक विभागको काठमाडौं डिभिजन २ का प्रमुख देबेन तामाङले बताए । भन्छन्, ‘समितिले यो क्षेत्रमा पिचको काम नगर्नु भनेर पत्र पठाएको छ । त्यसपछि हामीले त्यसमा चासो राख्न छाडेका छौं ।’
अब यो सडक कसले पिच गर्ने हो ? सरकारी निकायहरुले प्रष्ट छैनन् । सडक विभागले समितिको जिम्मामा गएको बताएको छ । तर, यसबारे समितिलाई कुनै जानकारी छैन । समितिका उपप्रमुख योगेन्द्र चित्रकार भन्छन्, ‘सडकले नगर्ने भन्यो भने हामी आफैं गर्छौं ।’
यो पनि पढ्नुहोस्
प्रतिक्रिया 4