१६ चैत, काठमाडौं । सोमबार बिहान भारतको चेन्नाईस्थित इन्डियन ओभरसिज बैंकमा भएको लुटपाटमा संलग्न एक जना नेपालबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैंकका सुरक्षागार्ड सबी लाल छन् ।
बैंकबाट लुटेर नेपाल छिरेको उनी अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा पक्राउ परेकाे टाइम्स अफ इन्डियाले लेखेको छ ।
घटनामा बैंकका दुई सेवाग्राही चेन्नाईकै मरिया एन्बालागान र यूएईकी सुचित्राको लकरबाट ४० लाख रुपैयाँ बराबरको नगरगहना र नगद चोरी भएको थियो ।
भारतीय प्रहरीका अनुसार उनीहरु झ्यालको फलामे रडलाई ‘ग्यास कटर’ले काटेरभित्र छिरेका थिए ।
उनीहरुले ग्यासकै प्रयोगबाट लकर तोडेको समेत जनाइएको छ । घटनामा अन्य नेपालीको पनि संलग्नता रहेको प्रहरीको भनाइ छ ।
यसैबीच, मुम्बईस्थित एक अपार्टमेन्टमा चोरी गरेर नेपाल छिरेका एक कर्णबहादुर शाही पक्राउ परेका छन् । सुर्खेतको बराहताल गाउँपालिकाका शाहीलाई इन्टरपोलको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले सुर्खेतबाट पक्राउ गरेको हो ।
उनी भारतमा चोरीपछि भागेर गृह जिल्ला आएको भन्दै एनसीबी मुम्बईले एनसीबी काठमाडौंलाई खबर गरेको थियो ।
लगत्तै, उनको खोजीमा प्रहरी परिचालित भएको थियो । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा राखेर आवश्यक सोधपुछ भइरहेको सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चर्तुवेदले अनलाइनखबरलाई बताए ।
उनले प्रारम्भिक बयानका क्रममा आफू पनि त्यो घटनामा अन्यसँगै रहेको स्वीकारेको स्रोतको भनाइ छ । यद्यपि, घटनामा उनको संलग्नता बारे खुलाइएको छैन ।
एनसीबी नेपालकी प्रमुख किरण बज्राचार्यले पनि मुम्बई इन्टरपोलबाट आएको सूचनाको आधारमा उनलाई ‘लोकेट’ गरिएको बताइन् ।
नेपाल प्रहरी स्रोतका अनुसार थप दुई जना नेपाललाई भारतमा नियन्त्रणमा लिएर सुधपुछ भइरहेको छ ।
प्रतिक्रिया 4