Comments Add Comment

अखबार समीक्षाः ओलीको भ्रमणमा जम्बो टोली, एजेन्डा पुरानै

यात्रुले दुर्व्यवहार गर्दा आकस्मिक अवतरण, अफवाह फैलाए अब जेल !

१७ चैत, काठमाडौं । आज शनिबार, राजधानीबाट प्रकाशित अखबारहरु सदाझैं समाचार, जानकारी तथा विचार लिएर पाठकमाझ आएका छन् ।

आर्थिक, सामाजिक, राजनीतिकलगायतका विषयलाई महत्त्वका साथ अाजका अखबारहरुले छापेका भए पनि पहिलो प्राथमिकतामा भने अर्थमन्त्रीले शुक्रबार सार्वजनिक गरेको श्वेतपत्र परेको छ । पत्रपत्रिकाहरुले देशको ढुकुटी रित्तिएको उल्लेख गर्दै विभिन्न शीर्षकमा यो विषय समेटेका छन् ।आम्दानीभन्दा धेरै खर्च भएर आन्तरिक ऋणका भरमा मुलुक चलिरहेका बेला अर्थमन्त्री युवराज खतिवडाले श्वेतपत्रमार्फत अर्थतन्त्रका जोखिम शुक्रबार सार्वजनिक गरेका थिए ।

कांग्रेस नेता खुमबहादुर खड्काको शुक्रबार उपचारका क्रममा भएको निधनलाई पनि पत्रपत्रिकाहरुले नछुटाइकन छापेका छन् । कतिपयले औपचारिक समाचार मात्रै छापेका छन् भने केहीले खड्काको राजनीतिक उतारचढावबारे पनि चर्चा गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ देखि २५ गतेसम्म गर्न लागेको भारत भ्रमणको विषय पनि आजका पत्रपत्रिकाहरुमा पढ्न सकिन्छ । नयाँ पत्रिका दैनिकका अनुसार, जम्बो टोली लिएर जाने परम्परा पछ्याउँदै भारत जान लागेका ओलीले पुरानै एजेन्डा पेश गर्नेछन् ।

यसका अतिरिक्त यात्रुले विमानभित्र दुव्र्यवहार गर्दा नेपाल वायुसेवा निगमको विमान आकस्मिकरुपमा अवतरण गर्नुपरेकाे, जाजरकोट अस्पतालमा सिटामाेल अभाव भएकाेऽ एसियाली खेलकुदको तयारी सुस्त बनेकोलगायत खबर पनि अाज उत्तिकै स्थान र महत्त्व पाएका छन् ।

ओलीको भ्रमणमा जम्बो टोली, एजेन्डा पुरानै

नयाँ पत्रिका दैनिकका अनुसार प्रधानमन्त्री केपी ओली पुरानै एजेन्डा र जम्बो टोलीका साथ भारत भ्रमणमा जाने भएका छन् ।

नयाँ पत्रिका लेख्छ– जम्बो टोलीका लागि परराष्ट्र मन्त्रालयले नेपाल एयरलाइन्समा बिजनेस क्लासका सबैसहित जम्मा ५५ सिट बुकिङ गरेको छ । २३ चैतमा काठमाडौंबाट दिल्ली र २५ चैतमा दिल्लीबाट काठमाडौंका लागि सिट बुक गरेको हो ।

समाचार अनुसार एजेन्डा भने पुरानै दोहोरिने छन् । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा जाँदा निर्माण गर्ने भनिएका परियोजना कार्यान्वयन अघि बढेको छैन । नेपालले परियोजनाको प्रतिवेदन तयार गर्ने र सम्बन्धित भारतीय निकायसँग छलफल गर्ने भनिए पनि काम हुन सकेको छैन । नेपालका तर्फबाट तदारुकता नदेखाउँदा नयाँ प्रधानमन्त्रीको भ्रमणमा पनि पुरानै एजेन्डामा छलफल गर्नुपर्ने बाध्यता रहेको परराष्ट्रका अधिकारीहरुलाई उद्धृत गर्दै नयाँ पत्रिकाले खबर लेखेको छ ।

यसपटक पनि पञ्चेश्वरको डीपीआर सम्पन्न गर्ने, माथिल्लो कर्णाली र अरुण तेस्रो परियोजना निर्माण, पूर्वपश्चिम रेल्वे निर्माणमा भारतीय सहयोग, काठमाडौं–वीरगञ्ज रेल्वेजस्ता विषयमा छलफल हुने समाचारमा उल्लेख छ ।

यात्रुले दुव्यवहार गर्दा आकस्मिक अवतरण

नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो । चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घन्टापछि खअकस्मात गन्तव्य परिवर्तन गरी काठमाडौंको सट्टा भारतको नयाँदिल्लीमा आकस्मिक अवतरण गर्नेपर्यो ।

काठमाडौं नआई के कारण जहाज दिल्लीमा अवतरण गर्यो ? सबैको अनुमान प्राविधिक समस्या भएर होला भन्ने थियो । तर होइन, दुबईबाट त्यही जहाजमा आएका नेपाली यात्रु मोरङका २९ वर्षीय सुशील रतेलले चालक दल र अन्य यात्रुलाई करिब २० मिनेटसम्म अपशब्द बोल्दै दुव्र्यवहार गरेपछि चालक दलले बाध्य भएर दिल्लीमा विमान अवतरण गरेको नागरिक दैनिकमा खबर छ ।

समाचार अनुसार जहाज पाकिस्तान र भारतबीचको सीमामाथि आइपुग्न लागेपछि रतेलले अरुलाई दुव्र्यवहार गर्न सुरु गरेका थिए । स्रोतको हवाला दिँदै कान्तिपुरले लेखेको छ–नौ नम्बर सिटमा रहेका उनलाई दिइएको खाना अन्य यात्रुमाथि खन्याइदिने मात्र नभई सँगै आएको साथीलाई हातपातसमेत गरे । त्यतिेले नपुगेर जहाजको एयरहोस्टेसलाई घचेडेरै झन्डै पछारिदिएका थिए ।’

रतेलले असामान्य व्यवहार देखाएपछि अन्य यात्रुले पनि जहाजबाट हटाउनैपर्ने गुनासो गरे । अनि क्याप्टेन देबाजू र कोपाइल वैद्यले जहाज दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराएको र सुरक्षाकर्मी बोलाएर जहाजभित्रैबाट रतेललाई भारतीय सुरक्षाकर्मीको जिम्मा लगाएको नागरिकको समाचारमा उल्लेख छ ।

बाटो छैन, घर झिलिमिली

आफ्नै भूमिमा जान भारतीय बाटो प्रयोग गर्नुपर्ने चाचूलाको त्रिदेशीय सीमा क्षेत्रमा पर्ने वसवासीको घर भने झलमल्ल छन् ।

राजधानीका अनुसार छांगरु र तिंकर लघु जलविद्युत्तका कारण गाउँ झिलिमिली भएको हो । सरकारकै लगानीमा ९ वर्षअघि नै व्यासको छांगरु र तिंकरमा लघु जलविद्युत्तमार्फत गाउँ झिलिमिली बने पनि जनताले सडक र सवारीसाधन भने अहिलेसम्म देख्न पाएका छैनन् ।

६ महिना सदरमुकाम र ६ महिना व्यास सर्ने व्यासवासीहरुले गाउँमै उत्पादिन विद्युत्तबाट उज्यालो बनाएका छन् ।

एसियाली खेलकुदको तयारी अस्तव्यस्त

एसियाको सबैभन्दा बृहत खेलकुद प्रतियोगिताको तयारी अस्तव्यस्त रहेको अन्नपूर्णले छापेको छ ।

अन्नपूर्ण लेख्छ– इन्डोनेसियाको राजधानी जाकार्तामा १८ औं एसियाली खेलकुद सुरु हुन करिब चार महिना बाँकी रहँदा यस क्षेत्रका अधिकांश राष्ट्र तयारीमा व्यस्त छन् । प्रतियोगितामा बढीभन्दा बढी पदक जितेर आफूलाई एसियाकै शत्तिःशाली खेल राष्ट्रको रुपमा स्थापित गराउन कतिपय राष्ट्रले आफ्ना खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाएका छन् भने अधिकांशले आफ्नै देशभित्र व्यवस्थित प्रशिक्षण सञ्चालन गरेका छन् ।

सहभागिताको ६७ औं वर्ष बितिसक्दा पनि नेपालका लागि भने एसियाली खेलकुद अनुभव बटुल्ने अवसरमा मात्रै सीमित छ । नेपालको अहिलेको तयारी हेर्दा आगामी एसियाली खेलकुद पनि विगतको भन्दा फरक नहुने खेलाडी र प्रशिक्षक बताउँछन् ।

अस्पतालमै छैन सिटामोल

सरकारले जिल्ला अस्पतालहरूबाट ७२ प्रकारका औषधि निःशुल्क वितरण गरे पनि जाजरकोट अस्पतालमा भने सामान्य औषधि पनि पाइँदैनन् । जिल्ला अस्पतालमा लामो समयदेखि औषधि अभाव भएको छ । यहाँ सिटामोल र जीवनजलसमेत पाइन छाडेको अन्नपूर्ण पोस्ट दैनिकको समाचारमा उल्लेख छ ।

बजेट अभावमा अस्पतालले समयमै औषधि खरिद गर्न नसक्दा एवं सरकारले निःशुल्क वितरण गरिने औषधि नपठाउँदा समस्या आएको हो । अहिले अस्पतालमा सिटामोल, जीवनजल, आइरन चक्की, ब्रोफिन, रेनिटेडिन, मेट्रो, एमोक्सिसिलीन, बुस्कोपान, कोर्टिन, भिटामिन बी कम्प्लेक्स, क्यामामिन लोसन, जिन्क ट्याब्लेट, पारासिटामोल सिरफ, आर एल क्योमक्स, अक्सिटोसन, जेन्टामाइस, फुस्रामाइट, सिप्रोलगायत अत्यावश्यक औषधिको अभाव छ ।

न्यायिक समितिमा कुटिए नवदम्पती

दलितसँग विवाह गरेका कारण असन्तुष्ट अभिभावकले सप्तरीको कञ्चनरुप नगरपालिकाको न्यायिक इजलासमै छोराबुहारीलाई कुटपिट गरेका छन् ।

न्यायिक समितिमाथि परेको उजुरीमाथि छलफल गर्न भन्दै बोलाइएका कञ्चनरुप–९ रुपनगरका २० वर्षीय मनीष साह र कञ्चनरुप–९, धरमपुरकी १६ वर्षीया कविता राम कुटिएका हुन् ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, साह र राम फागुन २ गते हनुमाननगर कंकालिनी १ भारदहस्थित कंकालिनी भगवती मन्दिरमा प्रेम विवाह गरेका थिए ।

विवाहबाट असन्तुष्ट मनीषका बुबा शिवनारायण साहले दर्ता गरेको उजुरीमाथि छलफल गर्न बोलाइएको न्यायिक इजलासमा साह पक्षले कुटपिट गरिएपछि यसको आलोचना भइरहेको छ ।

र, यो पनि– अफवाह फैलाए अब जेल

विपदको बारेमा कहिलेकाहीँ भ्रम छर्दा जनजीवन अस्तव्यस्त हुने गर्दछ । यसले समाजमा नकारात्मक असर पार्ने गरेको छ । अब कुनै विपदको घटना हुनसक्ने अफवाह फैलाए १ लाख रुपैयाँ जरिवानादेखि ६ महिनासम्म कैद सजाय हुने व्यवस्था गरिएको छ ।

गृह मन्त्रालयले बनाएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले यस्तो कारबाही गर्ने व्यवस्था गरेको नेपाल समाचार पत्रमा खबर छ ।
राष्ट्रपतिबाट गत कात्तिक ५ गते प्रमाणीकरण भएको ऐनमा कसुर र सजाय तथा पुरस्कारको व्यवस्था छ ।

मौसम परवर्तनसँगै अस्पतालमा बिरामीको चाप बढ्दो छ । तर, निःशुल्क पाइने औषधिसमेत नपाइँदा सेवाग्राही मर्कामा छन् ।

अस्पतालमा डेलिभरी सेवाका लागि गज, कटन, ग्लोब्स र आरएलसमेत अभाव छ । भेरी नगरपालिकाले चालु आर्थिक वर्षमा औषधि खरिदका लागि बजेट नछुट्याउँदा यो समस्या भएको हो । तर, नगरपालिकाले भने २५ शैय्यासम्मका अस्पतामा मात्र औषधि पुर्याउने आफ्नो क्षेत्राधिकार भएको तर यो अस्पताल ५० शैय्याको भएकाले बजेट छुट्याउन समस्या भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment