Comments Add Comment

कुखुरा उत्पादनमा लागत घटाउँदै, नाफा बढाउँदै व्यवसायी

प्रति केजी दानामा प्रति केजी मासु उत्पादनको प्रयास

१९ चैत्र, चितवन । आजभन्दा करिब ३७ वर्षअघि नेपालमा २ केजी ब्रोइलरको मासु उत्पादन गर्न ७ केजी दाना खुवाउनुपर्ने अवस्था थियो, समय भने ७० दिन पालेर मात्रैं । तर, पछिल्ला वर्षाहरुमा पोल्ट्री क्षेत्रले मासु उत्पादनमा फड्को मारेको छ ।

अहिले ३६ दिनमा नै २ केजी मासु उत्पादन गर्न ३.६ केजी दाना खुवाए पुग्छ । यसले उत्पादन लगात करिब ५० प्रतिशतको हाराहारीमा घटाउँदै लगेको देखिन्छ ।

३६ दिनदेखि ३८ दिनमा नै २ केजी ब्रोइलरको चल्ला तयार गर्न सकिन्छ । एकातिर दाना कम लाग्ने त भएको छ नै, अर्कोतिर दिन पनि छोट्टएिको छ ।

प्रतिकेजी मासु उत्पादन गर्न अहिले कुखुरालाई १.८ केजी दाना खुवाउनुपर्ने बताउँछन् पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराई ।

कुखुराको उत्पादन बृद्धिमा दानाकै प्रयोग ७० प्रतिशत हुन्छ । दानाको उत्पादन प्रविधिमा आएको विकाससँगै एफसिआर -दाना खुवाएको अनुपातमा कुखुरामा आउने तौलको दर) मात्रै नभई अण्डा उत्पादनमा समेत उल्लेख्य प्रगति हुन थालेको छ ।

हाल नेपालमा प्रति व्यक्ति प्रति वर्ष पाँच किलो तीन सय ग्राम मासु र साढे ५० वटा अण्डा उपलब्धता रहेको छ ।

कुखुरामा गरिएको जेनेटिक (अनुवांशिक) सुधारले पोल्ट्री क्षेत्रमा खुसीयाली ल्याएको छ। विज्ञहरुले प्रतिकिलो दानामा प्रतिकिलो मासु उत्पादनको तयारी गरेका छन् ।

थोरै दानामा धेरै ग्रोथ गर्न सकिने तरीकाहरुको खोजी भैरहेको डा. भट्टराईले जानकारी दिए ।

अमेरिका लगायतका यूरोपियन देशहरुमा विज्ञहरुले अझैं उत्पादन लगायत घटाउने गरी अनुबांशिक अनुसन्धान गरिरहेको डा. भट्टराई बताए ।

अनुवांशिक सुधारका साथैं सोही अनुसारको दानाको उत्पादन, नयाँ प्रविधि र वातावरणले पनि काम गरिरहेको उनको भनाइ छ ।

व्यवस्थित र आधुनिक खोरहरुको निर्माण, रोगहरुबाट बच्ने उपायहरुको खोजी र प्रयोग जस्ता विषयले यसका अन्य फ्याक्टरहरु हुन् ।

कम लगायतका कुखुराको उत्पादन भएसँगै त्यसको प्रत्यक्ष फाइदा उपभोक्ता र व्यवसायीलाई मिलेको छ ।

सन् १९६० को दशकमा नेपालमा खसीको भन्दा कुखुराको मासु महंगो थियो । सन् १९९० देखि १९९५ मा कुखुरा र खसीको मासु बराबर पुग्यो ।

हाल खुसीको मासको मूल्य भन्दा तीन गुणा कम मूल्यमा कुखुराको मासु उपलब्ध गराउन पोल्ट्रीको क्षेत्रमा आएको फड्कोले काम गरेको डा. भट्टराईले बताए ।

व्यवसायीहरुले यसलाई नाफामूलक व्यवसायका रुपमा लिएका छन् । सन् १९९५ मा नेपालमा ४५ लाख गोटा कुखुरा वार्षिक पाल्ने गरेकोमा हाल ८ करोड ५० लाख गोटा कुखुरा पालन हुने गरेको डा. भट्टराईको तथ्याङ्कमा उल्लेख छ ।

गत आर्थिक ०७३/७४ मा डेढ लाख मेटि्रक टन मासु उत्पादन र अण्डा एक अर्ब ४१ करोड गोटा उत्पादन भएको देखिन्छ । निजीक्षेको ८० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको यस पोल्ट्री क्षेत्रले मुलुकको कूल ग्राहस्थ उत्पादनमा करिब चार प्रतिशतले योगदान गरेको छ ।

पोल्ट्री विज्ञ डा. तिलचन्ऽ भट्टराईले सवारी नपुगेका जिल्ला बाहेक अधिकांश क्षेत्रमा कुखुरापालन नेपालमा गर्न सकिने बताए ।

नेपाल जस्तो पोषणयुक्त खाद्यपदार्थ कम हुने देशमा पोषणयुक्त खाद्य वस्तु उपलब्ध गराउन यसले सहयोग गरेको डा.भट्टराईले बताए ।

आवश्यक कच्चा पर्दाथ देशमा नै उत्पादन गर्न सकिने हो भने, अझै लागत घटाउन सकिने अवस्था छ ।

पोल्ट्रीजन्य कच्चा पर्दाथका रुपमा नेपालमा वार्षिक १६ अर्ब बराबरको सामान नेपाल आउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment