Comments Add Comment

‘शीर नझुक्ने’ भारत भ्रमणमा के के होला ?

नयाँ सम्झौताभन्दा पुरानै कार्यान्वयनमा जोड

२० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको शब्दमाभन्ने हो भने नयाँ परिस्थिति र दुवै देशले बलियो सरकार पाएको सन्दर्भमा हुँदैछ । भ्रमणमा क्रममा शीर झुक्ने कुनै काम नगरिने प्रधानमन्त्री ओलीले देशवासीलाई बताएका छन् ।

बलियो सरकारका प्रधानमन्त्री केपी ओलीको यो भ्रमण अति सामान्य र औपचारिक भ्रमणमात्रै हुनेछ । किनभने यो भ्रमणमा कुनै नयाँ सम्झौता नगरिने उनको भनाइ छ । औपचारिक सम्झौतै नगरिने भ्रमण भएता पनि प्रधानमन्त्रीको भ्रमण दलमा करिब ६० जनाको सहभागिता रहनेछ ।

यसपटकको भ्रमणमा नेपालको आन्तरिक राजनीतिक विषयमा औपचारिक छलफल नहुने र एजेण्डा नबन्ने सरकारी अधिकारीहरुले दाबी गरिरहेका छन् । विगतमा नेपालको आन्तरिक राजनीतिक मामिला हरेक प्रधानमन्त्रीको भारत भ्रमणका बेला चाहेर वा नचाहेर प्रमुख एजेण्डा बन्ने गरेकै थिए ।

आफ्नो भारत भ्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा बोल्दै भ्रमणका क्रममा देशको शीर निहुरिने गरी कुनै सम्झौता नगर्ने बताएका छन् । यस्तो भनाइ उनले आफ्नो अघिल्लो प्रधानमन्त्रित्वकालको दिल्ली भ्रमणमा पनि जनाएका थिए ।

भारत भ्रमणमा देशको शिर निहुरिने कुनै काम गर्दिनँ

प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नेपालले स्थिर सरकार पाएको सन्दर्भमा कुराकानी हुन सक्ने अनुमान गरिए पनि संविधान संशोधन वा मधेस मुद्दालगायतका विषयमा छलफल हुने छैन । यस्ता विषय नेपालका ‘एक्टर’हरुले नै टुंगो लगाउने भएकाले आन्तरिक मामिला छलफलको एजेण्डा नबन्ने परराष्ट्र मन्त्री ज्ञवालीले प्रष्ट पारिसकेका छन् ।

‘विगतमा आन्तरिक विवाद र द्वन्द्वका बेला भ्रमण हुँदा चाहेर नचाहेर मुलुकका आन्तरिक विषयसमेत दुई पक्षीय वार्ताको विषय बन्ने र ती कुराले अनावश्यक राजनीतिक विवाद जन्माउने गरेका थिए’ ज्ञवालीले भने ‘तर हामी यसपटक सम्पूर्ण रुपमा ती सन्दर्भबाट अलग छौं । किनकि नेपालमा राजनीतिक समस्याको समाधान भइसकेको छ ।’

प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डाबारे मंगलबार साँझसम्म परराष्ट्र मन्त्रालयमा मन्त्रीसहित उच्च अधिकारीहरु आन्तरिक गृहकार्यमा थिए । भारतले शुरुमा एकतर्फीरुपमा प्रधानमन्त्रीको भ्रमणको मिति सार्वजनिक गरेको र सोही तालिकाअनुसार काम गर्नु परेकाले नेपालले एजेण्डा छनोटमा दबाव महसुस गरेको छ ।

परराष्ट्र मन्त्रालयको नेतृत्व गरिसकेका एक बरिष्ठ कुटनीतिज्ञले यसपटक नेपालका प्रधानमन्त्रीको भारत भ्रमणयताको भन्दा उताको हतारोका कारण भइरहेको छ । त्यसैले बिगतका सम्झौताहरुको कार्यान्वयन र समीक्षा गर्नेबाहेक नयाँ ‘सपिङ लिष्ट’ नेपालको छैन ।

नयाँ यो हो कि, देशभित्र बलियो प्रधानमन्त्री बनेका ओलीले आन्तरिक राजनीतिक मामिलामा भारतलाई इंगेज नगराउने र परराष्ट्र मन्त्रालयले तय गरेका एजेण्डामा पनि पुराना सम्झौताहरुको पुनरावलोकन लगायतका विषयमै राखिएको छ अधिकारीहरु बताउँछन् ।

नेपाल र भारतबीच भएका अनेकौं सन्धी सम्झौताहरु धेरै वर्षदेखि कार्यान्वयन नभएर अलपत्र छन् । प्रवुद्ध समूहले पनि आफ्नो काम सक्न लागेको छ । संयोग नै मान्नुपर्छ, यता ओली र उता मोदी प्रधानमन्त्री भएकै बेला गठन भएको प्रवुद्ध समूहले दुवै देशमा उनै नेता भएका बेला आफ्नो प्रतिवेदन बुझाउँदैछ ।

प्रधानमन्त्रीनिकट स्रोतले भन्यो- छलफलका विषय त धेरै छन् । प्रधानमन्त्रीले नेपालका प्राथमिकता र चासो के हो भनेर प्रष्ट पार्नुहुन्छ, तर हाम्रा आन्तरिक राजनीतिक विषयमा द्वीपक्षीय छलफल प्रवेश गर्ने छैन ।

प्रधानमन्त्री ओली संसदमा भनेका छन्- मेरो प्राथमिकता नयाँ समझौताको चाङ लगाउने होइन, यसअघि भएका सम्झौताहरु कार्यान्वयन र आपसी सम्बन्धलाई फलदायी बनाउनेमा केन्दि्रत हुनेछ ।

ओलीले भारतसँग रेलमार्ग र जलमार्गको कुरा गर्ने आफ्नो योजना सुनाएका छन् । त्यसका साथै भूकपम्बाट ध्वस्त संरचना पुननिर्माणमा भारतले यसअघि गरेको सहयोग घोषणा कार्यान्वयनमा प्रधानमन्त्रीले जोड दिनेछन् । भारतले बनाउने भनेका ७० वटा विद्यालय निर्माणको काम शुरु भएको छैन । अन्य आयोजनाहरु पनि अलपत्र छन् ।

प्रधानमन्त्रीनिकट स्रोतका अनसार विगतका प्रतिवद्धताहरु कार्यान्वयनका पक्षमा जोड दिइनेछ । यसका साथै यो भ्रमण नेपाल भारतबीचको सम्बन्धलाई समान हैसियतको बनाउने र नयाँ उचाइमा पुर्‍याउने उद्देश्यमा केन्दि्रत हुनेछ ।

६० सदस्यीय भ्रमण टोलीमा तीनमन्त्री

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले चैत २३ देखि २६ सम्म हुने प्रधानमन्त्री ओलीको भारत भ्रमण स्वीकृत गरेको छ । बैठकले प्रधामनमन्त्रीको भारत भ्रमणमा संलग्न हुने सरकारी टोलीका सदस्यको नाम टुंगो लगाएको छ । ओलीसँगै पराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव, र भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ रहनेछन् ।

प्रधानमन्त्रीको भ्रमण दल ६० सदस्यीय हुने जानकारी नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई दिइसकेको छ । सो टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालसहित सल्लाहकार र विज्ञ टिम पनि रहनेछन् ।

त्यस्तै संघीय संसदका करीव एक दर्जन सांसद पनि भ्रमण दलमा रहनेछन् । ओलीको टोलीमा कलाकार पनि समेटिएका छन् । राजेश हमाल र दिनेश डीसी सरकारी टोलीमा परेका छन् ।

अन्य सदस्यहरुको नाम प्रधानमन्त्रीले नै टुंगो लगाउने निर्णय भएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment