Comments Add Comment

भेटले बढ्यो सेयर बजार


२२ चैत, काठमाडौं । लगानीकर्ताहरुले कहिले गभर्नर, कहिले अर्थमन्त्रीलाई भेटेको खबर बजारमा फैलिएपछि सेयर बजार पुनः बढ्दो क्रममा देखिएको छ ।

नेप्से परिसूचकमा बिहीवार एकै दिन करिब २४ अंकले वृद्धि भएको छ । नेप्से १२५० विन्दुमा आइपुगेको हो । कारोबार रकममा दोब्बरले वृद्धि भएर ६१ करोड ९३ लाख रुपैयाँ पुगेको छ । दुई दिनमा नेप्सेले ५० अंक जोडेको हो ।

‘अर्थमन्त्रीसँग हामीले हिजो भेट्दा वहा बजारको विकासको लागि प्रतिबद्ध भएको पाएका छौं, त्यही कुरा साथीभाइसँग भएको हो,’ सेयर लगानीकर्ता संघका अध्यक्षा उत्तम अर्यालले भने । अर्थमन्त्रीले आफ्नो नाम भजाएर बजार घटाउने र सेयर थुपार्ने प्रवृत्ति अन्त्य गर्ने, बजार सुधारको लागि प्रयास गर्ने लगायतका कुरा गरेको अर्यालको दाबी छ ।

त्यस्तै बैंकिङ प्रणालीमा एक सातामै १२ अर्ब रुपैयाँ बराबरको निक्षेप भित्रिएको, विदेशबाट ऋण ल्याउन बैंकहरुलाई बाटो खुलेको, स्ट्याण्डर्ड चार्टर्ड बैंकलगायतले कर्जाको ब्याजदर घटाउन थालेकोले पनि सकारात्मक प्रभाव परेको अर्याल बताउछन् । बैंकहरुले विदेशबाट ल्याउने पुँजी घरजग्गा लगायतमा लगानी गर्न रोक्का गरिएको छ । यद्यपी बजारमा पुँजी भित्र्दा अन्य कर्जाहरुको व्याजदर पनि सहज हुने अपेक्षा लगानीकर्ताहरुमा छ ।

बुधवार पनि केही लगानीकर्ताले गभर्नरसँग भेट गरेर बिभिन्न माग राखेका थिए । कारोबारमा आएका लगभग सबै समूहको परिसूचक बढेको छ । बीमा र लघुवित्त विकास बैंकहरुको सेयर मूल्य उच्चले वृद्धि भएको छ ।

तिनाउ डेभलपमेन्ट, मिथिला लघुवित्त लगायतकाको सेयर मूल्य ८ देखि ९ प्रतिशतसम्म बढेको छ । १ सय ६८ कम्पनीको सेयर किनबेच भएकोमा १३ को मात्र सेयर मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment