Comments Add Comment

त्रिभुवन विमानस्थलमै सिण्डिकेटः ‘कोटा’को ट्याक्सी नेतालाई, कम्पनीका नाममा करोडौं झ्वाम्

२२ चैत, काठमाडौं । तपाईले पर्यटकहरु बोक्नका लागि नयाँ ट्याक्सी किन्नुभएको छ ? अनि तपाई त्यो ट्याक्सी लिएर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरमा व्यवसायिक उद्देश्यले जान चाहनुहुन्छ ? त्यसरी जानुभयो भने तपाई लखेटिन सक्नुहुन्छ ।

किनभने, त्रिभुवन विमानस्थलमा २०८ वटा हरियो नम्बर प्लेटका ट्याक्सी चालकको दादागिरी चल्छ । ती ट्याक्सीबाहेक अरुले विमानस्थलको सिण्डीकेटभित्र छिर्न पाउँदैनन् । छिरेमा पिटाइसमेत खान सक्छन् । वा महंगो शुल्क तिर्नुपर्ने हुन्छ सिण्डिकेटवाला समितिलाई ।

त्रिभुवन विमानस्थल प्रशासन, यातायात व्यवस्था विभाग र भौतिक पूर्वाधार मन्त्रालयसमेतको मिलेमतोमा २०८ वटा हरियो प्लेटका ट्याक्सीहरुले सिण्डिकेट चलाउँदै आएका छन् ।

सरकारले विमानस्थलमा पुराना गाडीहरु विस्थापित गर्ने बताएसँगै यहाँको ट्याक्सी व्यवसायमा ०६९ साल जेठदेखि १५ वर्षसम्म एउटै कम्पनीले ठेक्का पार्दै आइरहेको छ ।

०७० साल साउन २९ गते मन्त्रिपरिषदले नै निर्णय गरेरै त्यहाँ सिण्डिकेटलाई संस्थागत गरिएको छ ।

यस्तो छ विमानस्थलको कथा

त्रिभुवन विमानस्थलमा ‘हवाइ यात्रु यातायात सेवा व्यवस्था लिमिटेड’ नामको संस्थाले १५ वर्षदेखि सिण्डिकेट चलाउँदै आएको छ । पुराना ट्याक्सीहरु विस्थापित गर्ने बाहनामा विमानस्थल प्रशासनसँग ०६९ जेठ ९ गते यो संस्थाले एक सम्झौता गरेको थियो ।

सो सम्झौता अनुसार पुराना दर्ता भएका गाडीहरु र नयाँ गरी १६८ वटालाई हरियो नम्बरप्लेट दिने र तिनीहरुले यात्रुहरु बोक्ने भनिएको थियो । पछि त्यसमा ३२ वटा थप ट्याक्सीलाई यातायात व्यवस्था विभागले दर्ता गरिदिने सम्झौताको बुँदा थपियो । ती ३२ ट्याक्सीहरु नेता र तिनका श्रीमतीका नाममा समेत दर्ता गरिएका छन् ।

मन्त्रालय र विभागका विभिन्न कागजातमा २ सय ट्याक्सीलाई इजाजत दिइएको बताइए पनि थप ८ वटासमेत गरी हाल २०८ वटा ट्याक्सीले सिण्डिकेट चलाउने अनुमति पाएका छन् ।

सिण्डिकेट अन्तरगत दर्ता भएर चलिरहेका ट्याक्सीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष विजय स्वाँरको पनि ट्याक्सी छ । त्यसैगरी माओवादीनिकट मजदुर नेता जेबी कार्की र उनकी आफन्त विनिता कार्कीका नाममा पनि ट्याक्सी गुडिरहेका छन् ।

त्यसैगरी मजदुर नेताहरु अजय राई, धर्म भण्डारी, झलकबहादुर कार्कीले पनि सिण्डिकेट अन्तरगत ट्याक्सी कुदाइरहेका छन् ।

कम्पनीका अध्यक्ष पुरुषोत्तम सिंखडा र यसोदा सिंखडाले पनि ट्याक्सी लिएका छन् । ट्याक्सी कुदाउनेहरुमा केही सरकारी कर्मचारी पनि छन् ।

कम्पनीका नाममा करोडौं झ्वाम

१५ वर्षदेखि विमानस्थलको ट्याक्सी व्यवसायमा एकछत्र सिण्डिकेट चलाइरहेको हवाइ यात्रु सेवा लिमिटेडले विमानस्थलमा गाडीहरुबाट दैनिक शुल्क असुल गर्ने गरेको ट्याक्सी चालकहरु बताउँछन् । एउटा ट्याक्सीबाट दैनिक ३ सयसम्म उठाउने गरिएको र कुनै होटलको गाडी यात्रुहरुलाई रिसिभ गर्न जाँदा मासिक ४ हजारसम्म उठाउने गरिएको गुनासो चालकहरुको छ । त्यसरी उठाइने रकम मासिक २० लाख भन्दा बढी हुने गरेको भन्दै सोको हिसाब मागेर अख्तियारमा समेत उजुरी परिसकेको छ ।

त्यसरी गाडीहरुबाट असुल गरिएको करोडौं रकममा भ्रष्टाचार भएको र सिण्डिकेट चलाउने मजदुर नेताहरुले कमाऊ धन्दा चलाइरहेको गुनासो कम्पनीकै कतिपय सेयर सदस्यहरुले गरेका छन् ।

हेर्नुहोस् सिण्डिकेट चलाउने २०८ ट्याक्सीको सूची 

   

dav

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment