+

सरकारले धुर्मुसलाई भन्योः मुलपानी रंगशाला आफैं बनाउँछौं, पोखरा जानुस्

२०७४ चैत  २३ गते १३:४१ २०७४ चैत २३ गते १३:४१
सरकारले धुर्मुसलाई भन्योः मुलपानी रंगशाला आफैं बनाउँछौं, पोखरा जानुस्

२३ चैत, काठमाडौं । सरकारले मुलपानी क्रिकेट मैदान आफैं बनाउने बताएको छ र धुर्मुस सुन्तली फाउण्डेसनलाई पोखरा जान प्रस्ताव गरेको छ ।

कलाकार सिताराम कट्टेल धुर्मुसले क्रिकेट रंगशाला बनाउने घोषणा गर्दै मुलपानी, चितवनसहितका स्थानमा जग्गा हेरेका छन् । फाउण्डेसनका पदाधिकारीहरुले खेलकुदमन्त्री जगत विश्वकर्मालाई भेटेर प्रपोजल पनि बुझाएका छन् ।

औपचारिक निर्णय नभएपनि मुलपानी वा चितवनमा रंगशाला बनाउने सकिने देखिएको छ ।

तर, युवा तथा खेलकुद मन्त्रालयले मुलपानीको रंगशाला आफैं बनाउने बताएको छ । मन्त्री विश्वकर्माले भने, ‘जग्गा विवाद मिलाउन प्रयत्न गरिसकेका छन् । छिट्टै समाधान गरेर काम थाल्छौं र २ वर्षभित्र निर्माण सक्छौं ।’

मुलपानीमा ४७ आना जग्गाको मुआब्जा विवाद छ । स्थानीयबासीले सरकारले दिएको मुआब्जामा चित्त नबुझाएपछि रंगशाला क्षेत्रकै छेउमा सट्टा जग्गा दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगिने सचिव महेशप्रसाद दहालले जानकारी दिए ।

मुआब्जा विवाद समाधान भए लगतै चालु आर्थिक वर्षमा विजियोजन भएको १० करोडले काम थाल्ने र अर्को वर्ष प्याराफिट निर्माण सक्ने योजना छ । २ वर्षमा सबै काम सकेर रंगशाला तयार बनाउने सचिव दहालले सुनाए ।

धुर्मुसलाई पोखरा जान प्रस्ताव

सरकारले रंगशाला निर्माणमा जुटेका धुर्मुसलाई पोखरामा क्रिकेट रंगशाला बनाउन प्रस्ताव गरेको छ ।

‘डेढ वर्षमा रंगशाला बनाइसक्ने भए अन्तराष्ट्रिय विमानस्थल भएको ठाउँमा बनाउँदा राम्रो हुन्छ’ सचिव दहालले भने, ‘हामीले पोखरामा जान प्रस्ताव गरेका छौं ।’

नभए काठमाडौंमा नै अर्को कुनै ठाउँमा क्रिकेट रंगशाला बनाउन प्रस्ताव गरेको छ ।

सरकारी प्रस्तावअनुसार जग्गा हेर्न धुर्मुस सुन्तली फाउण्डेसनका पदाधिकारीहरु पोखरा जाने तयारीमा छन् । पोखरामा क्रिकेट मैदान भएपनि रंगशाला बन्न सकेको छैन । पोखरा खेलकुदमन्त्री विश्वकर्माको गाउँ पनि हो ।

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला धुर्मुस धुर्मुस सुन्तली फाउण्डेसन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय