Comments Add Comment

हामीले भारतसँगको परम्परा फेर्न खोजेकै हो

मोदीको नेपाल भ्रमणमा अरुण तेस्रो एजेण्डा बन्न सक्छ

फाइल तस्वीर

२५ चैत, नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका सन्दर्भमा सामाजिक सञ्जालबाट विभिन्न टीकाटिप्पणी भइरहेका छन् ।

व्यक्तिले आफ्नो सुविधा र स्तर अनुसारका टिप्पणी गरिरहेका बेला प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले नियतवस गरिने रेडिमेट टिप्पणीलाई बेवास्ता गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीको भ्रमण दलमा रहेका रिमाल शनिवार दिनभरका सबै द्वीपक्षीय छलफलमा सहभागी थिए । भारतसँगको पछिल्लो द्वीपक्षीय वार्ता र मोदीले ‘ओलीको बोल्ड भिजन’ को प्रशंसा गरेको सन्दर्भमा स्वयं प्रधानमन्त्रीका मुख्य सल्लाहकारको समीक्षाचाहिँ के छ त ?

अनलाइनखबरकर्मी मात्रिका पौडेलले नयाँ दिल्लीमा रिमालसँग गरेको कुराकानी

संक्षेपमा प्रधानमन्त्रीको भारत भ्रमणको समीक्षा गर्नुपर्दा कसरी गर्नुहुन्छ ?

संक्षेपमा भन्नुपर्दा हामीले नयाँ तीन विषयमा मात्र प्रवेश गरेका छौं । जल परिवहन, रेलवे र कृषिमा आधुनिकीकरणका लागि पार्टनरसीपको कुरामा सहमति भएको छ । नेपालको समृद्धि र विकास लागि अब हाम्रो प्राथमिकता के हो भन्ने कुरा यसबाट प्रष्ट भएको छ । यही कुरा प्रधानमन्त्रीज्यूले भारतलाई पनि बुझाउनुभयो र सिंगो विश्वलाई नेपाल के चाहन्छ भन्ने प्रष्ट भएको छ ।

नेपालको विकास र हामीले खोजेको समृद्धि भनेको जल परिवहन, रेलवे र कृषिमा आधुनिकीकरणबाट हुन्छ । अरु विषय जुन नेपाल र भारतबीच वर्षौंदेखि सम्झौता भएर कार्यान्वयन नभएको अवस्थामा छन्, ती विषयमा धेरै छलफल भएको छ । भारतीय प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्रीको कुरा सुनेपछि गम्भीरतापूर्वक अघि बढाउने प्रतिवद्धता जनाउनुभएको छ ।

समग्रमा यो भ्रमण नयाँ सम्झौताहरु गर्ने भन्दा पनि मित्रतालाई नयाँ परिस्थिति अनुसार नवीकरण गर्नका लागि भएको थियो, त्यसमा अत्यन्त सफल भएको छ ।

संयुक्त वक्तव्यमा नपरेका विषयहरुका बारेमा विभिन्न चर्चा चलेका छन्, विशेष गरी पञ्चेश्वर, व्यापार घाटा लगायतका विषयमा केही कुरा भएन ?

आलोचनाका लागि गरिने आलोचना वा नियतवश गरिने टिप्पणीहरुमा केही भन्नु छैन । यसपटक हामीले पहिलाको जस्तो लामा-लामा र धेरै बुँदाका वक्तव्य ल्याउने, एउटै विषयलाई बिभिन्न बुँदामा थपेर दोहोर्‍याउने खालको परिपाटी हटाएकै हौं । वास्तवमा भारतसँगको परम्परा हामीले फेर्न खोजेको हो ।

तर, नेपाल र भारतबीचका सबै समस्याहरुको विषयमा गम्भीर छलफल भएको छ । पञ्चेश्वरको कुरामा मात्र होइन, टनकपुरको लिंक रोड नबनेको कुरामा समेत गम्भीर छलफल भएको छ ।

ब्यापार घाटा नेपालले थेग्न नसक्ने भयो भन्ने कुरा त हाम्रा प्रधानमन्त्रीज्यूले धेरै उदाहरणसहित भारतीय पक्षको गम्भीर ध्यानाकर्षण गराएपछि तत्कालै वाणिज्य सचिवस्तरीय बैठक बसेर यसको सम्बोधन गर्ने भन्ने भएको छ । तर, सधैंभरी एउटै विषय वक्तव्यमा हाल्ने तर काम नगर्ने परम्पराको अन्त गर्न खोजिएको हो ।

यसपटक हामीले पहिलाको जस्तो लामा-लामा र धेरै बुँदाका वक्तव्य ल्याउने, एउटै विषयलाई बिभिन्न बुँदामा थपेर दोहोर्‍याउने खालको परिपाटी हटाएकै हौं । वास्तवमा भारतसँगको परम्परा हामीले फेर्न खोजेको हो ।

हामीले १२ बुँदे वक्तव्यमा नयाँ क्षेत्र, जहाँ हामीले काम गर्न खोजेका छौं र सहमत भएका छौं, ती विषयलाई फोकस गरिएको हो ।

हाम्रो तर्फबाट यसपटक विगतमा भएका सम्झौता, प्रतिवद्धता पालना नभएका कुरा, जसले गर्दा विश्वासको आधार बन्न गाह्रो भएकाले यिनै विषयलाई बुँदागतरुपमा राखेका छौं । वास्तवमा भारतीय प्रधानमन्त्रीले कतिपय सन्दर्ममा निकै गम्भीरता देखाउनुभएको छ ।

अनि, अरुण तेस्रो जलविद्युत आयोजना शिलान्यास गर्ने कुरा चाहिँ किन रद्द भयो ?

वास्तवमा अरुण तेस्रो शिलान्यास हुने कुरा न्युजहरुमा मात्र आएको हो । हाम्रो मेनुमै थिएन यो विषय ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल गएरै शिलान्यास गर्ने हो ?

यो वर्ष उहाँले नेपाल भ्रमण गर्नुभयो भने अरुण तेस्रोको शिलान्यास गर्ने कुरा एजेण्डा बन्न सक्छ ।

यसपटक नेपालको आन्तरिक राजनीतिक विषयचाहिँ छलफलमा आउनै नदिएको हो तपाईहरुले ?

वास्तवमा विगतदेखि नै यो अत्यन्तै गलत परम्परा बसाइयो, जसले गर्दा हामीलाई कमजोर बनाउने, हीनतावोधको अवस्थामासमेत पुर्‍यो । तर, हाम्रा प्रधानमन्त्रीले यसअघि देशको नेतृत्व गरेदेखि नै देश ठूलो वा सानो हुन सक्छ, तर सार्वभौमसत्ता समान हो भन्नुभयो । अहिले राजनीतिक परिस्थिति पनि दुवैतिर उस्तै छ । नेपालले पनि स्थिर र बलियो सरकार पाएको छ ।

नेपाल र भारत दुबैतिर बोल्ड र भिजनरी लिडरसीप भएको अवस्था छ । त्यसैले हामीले हाम्रा छलफलका विषय फेरेकै हो । आन्तरिक राजनीति आ-आफ्नो घरको विषय हो, त्यो कुरा दुई पक्षीय छलफलका विषय हुन सक्दैन र हुन हुँदैन भन्नेमा हाम्रो प्रष्ट दुष्टिकोण रहृयो ।

बलियो र अडान भएको नेतृत्वले अडान लिँदा त्यो स्थापित हुने रहेछ भन्ने पुष्टि पनि भयो । अब हाम्रो छलफल र सहकार्य भनेको आर्थिक एजेण्डामा हुनुपर्छ भन्नेमा दुवै नेता सहमत हुनुभयो । हामी यिनै विषयमा केन्द्रित भयौं ।

ओली र मोदीको नारा पनि अब परिपूरक हुने भए होइन ?

भारतीय प्रधानमन्त्रीले सबका साथ सबका विकास भन्ने आफ्नो मिसन र समृद्ध नेपाल सुखी नेपाली भन्ने प्रधानमन्त्री ओलीको मिसन अब एक अर्काका परिपूरक भए भन्नुभयो, जुन कुरा तपाईहरुले सुन्नुभयो । वास्तवमा नेतृत्वले एउटा निश्चित मिसन र भिजन बनाएपछि दुनियाँले त्यसलाई ‘रिकग्नाइज्ड’ गर्ने रहेछ ।

नेपाल र भारत दुबैतिर बोल्ड र भिजनरी लिडरसीप भएको अवस्था छ । त्यसैले हामीले हाम्रा छलफलका विषय फेरेकै हो ।

हाम्रा प्रधानमन्त्रीले समृद्ध नेपाल र सुखी नेपाली अभियान कसरी सफल हुन्छ भन्ने आफ्नो भिजन प्रष्ट पार्नुभयो । त्यसबाट आफू प्रभावित भएको र ओलीजीको बोल्ड लिडरशीपमा नेपालले विकासमा फड्को मार्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । उहाँले नेपाल भारत सम्बन्ध अब नयाँ युगमा प्रवेश गरेको घोषणा नै गर्नुभएको छ ।

यो भ्रमणको मुख्य उपलब्धि नै यही हो कि, अब सम्बन्धको आयाम फेरिएको छ । हामी नयाँ युग र नयाँ चरणमा प्रवेश गरेका छौं । अब लिने र दिने सम्बन्ध होइन, सहकार्य गर्दै अघि बढ्ने चरणमा छौं ।

यो भ्रमणका क्रममा व्यक्त भएका कुरा र बडी ल्याङ्ग्वेज हेर्दा, भारतसँगको सम्बन्ध विशेष गरी ओली र मोदीको सम्बन्ध अब घनिष्ट भएको हो ?

त्योचाहिँ तपाईहरुले मूल्यांकन गर्ने कुरा हो । तर यसपटक सबै विषयमा खुलेर कुरा भएको छ । हामीले नेपालको स्वार्थमा कुरा राखेका छौं । प्रधानमन्त्री तहमा विश्वासको वातावरण बनेको छ । राष्ट्रपतिज्यूले त झनै चासो देखाउनुभएको छ । अब नयाँ ढंगले अघि बढ्ने कुरा प्रधानमन्त्रीले नै भन्नुभएको छ ।

यसपटक हामीले जे गर्ने हो, त्यो नै लेख्यौं । दुई देशबीचको मित्रतालाई बलियो बनाउने उद्देश्य हो । प्रधानमन्त्रीज्यूले नै भन्नुभएको छ, कुनै प्रोजेक्ट र सम्झौताभन्दा ठूलो हाम्रो मित्रता हो । मित्रता बलियो भयो र विश्वासको आधार बन्यो भने सहयोग आफैं बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment