Comments Add Comment

फेवाताल मिचेर बनाइएका सबै संरचना हटाउँछौं

प्रदेश ४ पर्यटकीय हिसाबले महत्वपूर्ण प्रदेश हो । त्यसको पर्यटकीय राजधानी पोखरा । पोखराले पर्यटकीय राजधानीको नेतृत्व गर्नुपर्नेछ । अहिले पोखरामा फेवा नव वर्ष महोत्सव हुँदैछ ।

महोत्सवले आन्तरिक पर्यटनलाई बढवा दिन्छ । आन्तरिक पर्यटकले सेवालाई निरन्तर बनाइदिन्छ । बाहृय पर्यटकमात्रले पनि होटल व्यवसाय चल्दैन । त्यसको लागि पनि आन्तरिक पर्यटन महत्वपूर्ण हुन् । पर्यटन व्यवसायमा आम्दानी आन्तरिक पनि र बाहृय पनि हुन्छ । महोत्सव कतिपय कुरा प्रचारप्रसार गर्न महत्वपूर्ण छ, नयाँ उपायहरु कोर्न, मिसन र स्लोगन बनाउने काम गर्नुपर्ने हो । तर फेसनको रुपमा महोत्सवलाई ल्याउनु भएन । डेस्टिनेसन आफैंमा प्रोडक्ट हो । सबैभन्दा बढी जोड दिनुपर्नेे स्थानीय खानेकुरा हो । यहाँका महोत्सवमा सबै बजारको खाने कुरा छ । तर, गाउँकै खाने कुरा पर्यटकलाई खुवाउनु पर्छ । यसले नेपालीपन र संस्कृतिको स्वाद चखाउँछ ।

प्राथमिकतामा प्रदेश ४

मेरो ध्यान देशभर पर्यटनको विकास र यसको दायरा फराकिलो बनाउने हो । त्यसमा पक्कै पनि प्रदेश ४ प्राथमिकतामा पर्छ । प्रदेश ४ मा पनि पोखरा प्राथमिकतामा पर्ने कुरा भइहाल्यो । ४ नम्बर प्रदेश सरकार र संघीय सरकारबीच समन्वय सबैभन्दा बढी गर्नुपर्ने छ । प्रदेश ४ को विकासलाई गति दिन मुख्य रुपमा तीन कुरालाई छिटो सक्नुपर्ने छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, मुस्ताङको कोरला नाकादेखि नवलपुरको भैंसालोटन उत्तरदक्षिण राजमार्ग र मध्यपहाडी लोकमार्ग छिटोभन्दा छिटो सक्न पहल गर्ने हो । यसले यहाँको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने छ । यहाँ अन्तर्राष्ट्रिय विमानस्थल हुने बित्तिकै यहाँ पर्यटन थप चलायमान हुनेछ । जहाज चलाउन चाहने एअरलाइन्सको संख्या राम्रो छ । हवाइ रुट व्यवस्थित गर्छु ।

प्रदेशले अब पर्यटन बोर्ड निर्माण गर्ने, कलेज निर्माण गर्ने र त्यसरी नै अरुअरु स्थापना गर्दै जाने छ । त्यसका साथै पर्यटकिय क्षेत्रहरुको अझै पत्ता लगाउने, भएकालाई राम्रोसँग प्रर्बधन गर्ने र सबैतिर फैलाउने र यसका चर्चा बाहिर पनि पुर्‍याउने लगायतका काम गर्नु छ । हामीसँगै फेवाताल रुपातालसँगै अरु पनि ताल र प्राकृतिक सम्पदा छन्, त्यसको राम्रो र अवलोकन योग्य बनाउने ।

पोखरालाई पर्यटकीय क्षेत्र भनिरहँदा यहाँको सहरीकरण व्यवस्थित हुनुपर्यो, हरीयाली बनाउनु पर्यो । यसको लागि अरु मन्त्रालयसँग सहकार्य गरेर यी काम गर्न प्रदेशलेे खोजिरहेको छ । प्रदेशले पोखरामा पर्यटनमा भइरहेका लगानीलाई अझै धेरै बढाउन खोज्दैछ । होटल तथा रिसोर्ट cmझै बढी मात्रामा खोल्ने र तिनीहरुलाई स्तरिय बनाउने योजना छ ।

त्यसैगरी थप सभागृहको निर्माण पनि हाम्रो योजनामा छ । प्रदेश ४ मा सयभन्दा बढी पर्यटकीय स्पट, त्यस्ता गाउँ पत्ता लगाउने र त्यसलाई पोखरासँग जोडेर विकास गर्ने योजना बनाउनुपर्छ । वैकल्पिक पदमार्गहरुको खोजी र त्यसको प्रवर्द्धन तथा प्रचार गर्न सक्यौं भने यहाँ पर्यटकको आवागमन बढ्ने छ ।

फेवातालको नयाँ प्रोजेक्ट

फेवाताल संरक्षण, विकास र अर्को सहरी विकासलाई प्राथमिकतामा राखेर काम गर्न हामी अग्रसर छौं । विशेषत यहाँको पर्यटन विकासमा स्थानीय सरकारको भूमिका हुन्छ ।

फेवातलाको छुट्टै मापदण्डमा प्रोजेक्ट तयार पारेर अगाडि बढ्दै छु । त्यसको लागि एसियाली विकास बैंकले सहयोग गर्ने भएको छ । त्यो प्रोजेक्टले तीन काम गर्छ । पहिलो फेवातालसम्म आइपुग्ने खोलामा ड्यामहरु बनाउँछ, पूर्वाधारका हिसाबले फेवाताललाई फराकिलो बनाउँछ र फेवातालका सबै क्षेत्रभरि पानी पुग्ने बनाउँछ । अब फेवाताल मिचेर बनेका कुनै पनि संरचना रहँदैनन् । हामी चाहन्छौं, उहाँहरुले आफैंले भत्काउनुहुनेछ । फेवाताल संरक्षर र बृहद बनाउने काम स्थानीय र केन्द्रीय सरकार मिलेर गर्नेछ ।

रिजल्ट देखिने गरी काम भइरहेका छन्

म पर्यटनमन्त्री भएपछि पूर्वाधारका विकास एकदम छिटो लैजाँदै छौं । सम्पदा निर्माणका काम सबै हुँदै छन् । मन्त्रालयकै विवादका कारण कतिपय काम गर्न समस्या रहेछ । मन्त्रालयका ९० प्रतिशत विवाद अन्त्य भएको छ । रानी पोखरीलाई हेरौं, ८/९ वर्षदेखि नसुल्झिएको विवाद एकै बसाइमा सुल्झियो ।

कोही समाधानका लागि बस्न नचाहेर रहेछ । छलफलमा बसे समाधान हुँदो रहेछ । त्यस्तै भैरहवा एयरपोर्ट हेरौं, यसियाली विकास बैंकलाई लबिङ गर्न लगाएँ आज त्यो सफल भयो । संवाद गर्नैपर्छ र त्यतिकै विवाद समाधान हुँदैन । १ सय दिनभित्र गर्छु भनेर सार्वजनिक गरेका प्रतिवद्धता पूरा गर्ने छु ।

जोखिम लिनै नचाहने कर्मचारी तन्त्र छ । अर्को पुरानै तरिकाबाट काम गर्ने शैली । भिजनको अभाव उस्तै छ । मेहेनतको अभाव छ । मन्त्री हुने तर मन्त्रालय काममा ध्यान नदिने भएका कारण पर्यटन मन्त्रालयका धेरै काम नभएका रहेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका समस्या हल गर्दैछु । १० दिनका अरु रिजल्ट देख्नुहुनेछ ।

(संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री  रवीन्द्र अधिकारीसँग अनलाइनखबरकर्मी अमृत सुवेदीले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment