२ बैशाख, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई दिने भनिएको स्वेच्छिक अवकाशको निर्णय स्थगित भइसकेको भन्दै कर्मचारीलाई काममा मन फर्काउन आग्रह गरेका छन् ।
रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा उनले धेरै सेवा सुविधा पाइन्छ भन्ने आशामा स्वेच्छिक अवकाशका लागि निवेदन दिनेले अब काममा मन लगाउनुपर्ने बताएका हुन् ।
‘अर्को निर्णय नभएसम्म स्वेच्छिक अवकाश दिने निर्णय स्थगित गरिएको छ । खटाइएको ठाउँमा जानै पर्छ । काम गर्नतिर मन फर्काउनुस् । नत्र अवकाशको बाटोमा जाने निर्णय गर्नुस्’ पण्डितले भने ।
१५ दिने सूचना निकालेर कर्मचारीलाई पुनःकाममा र्फकनका लागि आवेदन दिने मौका दिइने मन्त्री पण्डितले जानकारी दिए । निजामती कर्मचारीलाई तीन वटै तहमा व्यवस्थापन गरिने भन्दै उनले कुन पदमा, कुन ठाउँमा जाने हो पुनःआवेदन दिन सक्ने बताए ।
‘बढी सेवा सुविधा पाइन्छ भन्ने आशमा नबसे हुन्छ । स्वेच्छिक अवकाशले व्यक्तिलाई फाइदा होला, तर देशलाई हुँदैन । देशमा धेरै काम गर्नुपर्ने समय छ’ पण्डितले भने ।
प्रतिक्रिया 4