Comments Add Comment

आमाको आँचलमा लपेटिएको फुटबलर रेनुकाको जिन्दगी


३ वैशाख काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटी आजबाट २३ वर्ष लागिन् । जन्मदिनमा आफ्नो जीवनलाई ओल्टाइपल्टाई हेर्दा उनमा असंख्य अनुभूतिका तरंगहरु फैलिएका छन् । र, ती अनुभूतिहरुको केन्द्रमा छिन् उनकी आमा ।

आजै आमाको मुख हेर्ने दिन । अनि, आजै आमाले पहिलोचोटि रेनुकाको मुख हेरेको दिन । बिहानै रेनुकाले आमालाई फोन गरिन् । छोरीको फोन उठाउनेबित्तिकै आमाले जन्मदिनको शुभकामना दिइन् । अनि रेनुकाले आमा ख्वाउने औसीको शुभकामना दिइन् ।

रेनुकाले भनिन् ‘आमा… आज आमाको मुख हेर्ने दिन मैले सम्झिराखेको छु है ।’

‘… अँ छोरी तिम्रै फोन हेरिराखेको थिएँ । आज जन्मदिन राम्ररी मनाउनु है ।’

रेनुकाले जन्मदिन नमाउने सुनाइन् । ‘मैले आज केही गर्ने सोचेको छैन । जन्मदिन मनाउँदिन होला ।’

छोरीलाई केही अप्ठेरो छ कि भन्ने ठानेर आमाले ‘किन नमनाउने ? राम्ररी मनाउ । पैसा छैन भने बरु म पठाइँदिउला’ भनेर सम्झाइन् ।

‘म आमाले भनेपछि कुरा काट्न सक्दिन नि त । अनि हुन्छ आमा भनेँ’ रेनुकाले बिहानको फोन संवाद सुनाइन् ।

उनी सानो छँदा केक काटेर जन्मदिन मनाउने चलन फस्टाइसकेको थिएन । बुवाआमाले टीका लगाएर पैसा दिन्थे । उनी चकलेट किनेर

साथीहरुलाई बाँड्थिन् । १८ औँ जन्मदिनमा पहिलोपटक साथीहरु मिलेर केक काटेर मनाइदिए ।

पहिलोपटक केक काटेर जन्मदिन मनाएको जस्तो रहर अहिले उनमा छैन । राष्ट्रिय टिमकी कप्तान उनी सशस्त्र प्रहरी बल (एपीएफ) कि खेलाडी हुन् । आज पनि दिउँसो साढे २ बजेदेखि साढे ५ बजेसम्म अभ्यासमै व्यस्त थिइन् ।

बिहान आमाले जन्मदिन मनाउ भनेपछि नजिकका केही साथीसँग बसेर मनाउने उनको सोच बन्यो । ‘बेलुका केही नजिकका साथीहरु बस्छौँ । केक काट्छौँ र कोठामा नै बसेर रमाइलो गर्छौं’ उनले भनिन् ।

०००

०६५ सालतिरको कुरा, रेनुका पहिलोपटक फुटबल प्रतियोगिता खेल्दा नै ‘प्लेयर अफ द टुर्नामेन्ट’ भइन् । बारा जिल्लाको सिमरामा भएको खेल सकिनासाथ कत्ति छिटो उनी घर रौतहट चन्द्रनिगाहापुर पुगिन् । आफूले पाएको पुरस्कार आमालाई सुम्पिइन् ।

६ छोरीमा ठाइँली हुन् रेनुका । त्यो समय बुवाले मात्रै काम गर्थे । जेनतेन परिवारको दैनिकी चलिरहेकै थियो । दसैँको मुखमा रेनुकाले पुरस्कार पाएर पाँच हजार रुपैयाँ, चाँदीको सिक्का र घडी ल्याएर दिँदा आमाको अनुहारमा पोतिएको त्यो खुशी उनले भुलेकी छैनन् ।

सानो बेलामा ‘फुटबल नखेल, खुट्टा भाचिन्छ’ भन्ने आमाले त्यसपछि भने फुटबल खेल्न प्रोत्साहन दिन थालेकी थिइन् ।

०००

०६३ सालतिरको कुरा हो, शेरबहादुर दर्लामी गुरुले गाउँ-गाउँमा फुटबल खेल्न मन हुनेको नाम टिप्दै थिए । रेनुकाकी दिदी मेनुकाले इच्छा देखाएर नाम लेखाइन् । सानी भएकोले आमाबुवाले रेनुकाको नाम टिप्न दिएनन् । तर, घरमा कोही नभएको बेला उनले पनि नाम टिपाई छाडिन् ।

५०/६० जनाको भिडमा उनी कतै हराएको जस्ती थिइन् । बिहान ४ नबझ्दै अभ्यासमा पुग्थिन् । बेलुका पनि समयभन्दा पहिले नै अभ्यासमा जान्थिन् ।

‘त्यो बेला गुरुले तिमीहरु छिटो नआउ भन्नुहुन्थ्यो । हामी भने स्कूल छाडेर छिट्टै त्यहाँ पुग्थ्यौँ,’ उनले सुरुवातको दिन सम्झिइन्, ‘पुरस्कारहरु पाउने, पत्रिकामा नाम आउने हुन थालेपछि त घरबाट पनि राम्रो नै साथ पाएँ ।’

उनी पहिले रौतहटबाट एपीएफको टिममा आएकी हुन् । त्यहाँ एक वर्ष बस्दा प्लेइङ सेटमा नपरेपछि भने उनी एक वर्ष आर्मीमा गइन् । अर्को वर्ष एपीएफले प्लेइङ सेटमा राख्ने भन्दै पैसा बढाएर बोलाएपछि उनी एपीएफमै छिन् ।

उनको सानो बेलामा मोजाको बल बनाएर खेलेको सम्झना गएको छैन । ‘त्यो बेला पैसा धेरै हुँदैन थियो । घरमा माग्न पनि डर । पुरानो मोजामा कागजहरु कोचेर बल बनाएर खेल्थ्यौँ,’ उनले सुनाइन् । त्यसरी गरेको मेहनतले अहिले उनलाई यहाँ ल्याइपुर्‍याएको छ ।

०००

सन् २०११ मा रेनुका राष्ट्रिय टिममा परिन् । सन् २०१६ मा कप्तान भइन् । त्यसपछि उनको जिम्मेवारी थपियो । सानो सानो टुर्नामेन्टमा पनि कहिल्यै कप्तान नभएकी उनी सिधै राष्ट्रिय टिमको कप्तान बनिन् । यसले उनलाई फुटबलबाहेक अन्य कुरा सोच्ने फुर्सद दिएन ।

नेपाली फुटबलरमा रोहित चन्दकी फ्यान हुन् रेनुका । विदेशी खेलाडीमा उनलाई क्रिस्टियानो रोनाल्डो मन पर्छ । उनी रियल मडि्रडको सपोर्टर हुन् ।

‘रोनाल्डोको सबै कुरा मन पर्छ । राति उठेर पनि रोनाल्डोको खेल हेरिरहेको हुन्छु । मान्छे पनि राम्रो लाग्छ,’ (लामो हाँसो) आफ्नो स्टारबारे सुनाउँदा उनको अनुहार थप चम्कियो ।

राष्ट्रिय टिमकी स्टार रेनुकाका फ्यान पनि धेरै छन् । कतिले फेसबुकमा सन्देश पठाइरहन्छन् । कतिले अटोग्राफ माग्छन् ।

त्यसो त उनी सबैभन्दा ठूलो फ्यान आफ्नी आमाकी हुन् । जीवनका हरेक फड्को उनले पहिले आमालाई सुनाइन् । सँगै हुँदा कति कुरा नभनेरै बुझ्थिन् आमा । अहिले टाढा हुँदा पनि आवाजबाटै सबै बुझ्छिन् ।

पहिले आमाबाट उनी चिनिइन् । अहिले आमा उनीबाट चिनिन्छिन् । राष्ट्रिय टिमको कप्तान हुनुभन्दा धेरै आमाकी प्यारी छोरी हुनुमा गर्व छ उनलाई ।

अप्ठ्यारोमा भरपर्दो सहारा हुन् रेनुकाकी आमा । भरथेगको जिन्दगीमा रेनुकाले पनि धेरैपटक सजिलो बनाएकी छिन् आमालाई । तर त्यो सजिलो उनले आमाबाट पाएको र अहिले बाँचिरहेको जीवनसँग दाँज्नै मिल्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment